लेखा समितिमा ऋषिकेश र मोदीबीच विवाद (भिडिओ)

काठमाडौं । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सभापति ऋषिकेश पोखरेल र सदस्य माओवादी सांसद अमनलाल मोदीबीच नोकझोंक भएको छ । आफूलाई बोल्न नदिएको भन्दै मोदीले विरोध जनाएपछि पोखरेल पनि झोंक्किए ।

मोदीले विपक्षी दललाई प्रतिवन्ध लगाएको बताएपछि पोखरेलले युट्यूबर ल्याएर भ्यूजका लागि मात्र बोल्ने गरेको मोदीमाथि आरोप लगाए ।

सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापतिले रोक्नु दुर्भाग्य भएको बताए ।

पोखरेलले हरेक पटक लेखा समिति बैठकलाई अमर्यादित बनाउने काम गरेको भनेपछि मोदीले आफूलाई समिति सभापतिले नभई पार्टीले पठाएको जवाफ दिए ।

मोदीले भने

समिति मिनी पार्लामेन्ट हो । हामी विपक्षीमा छौं । हामीले बोलेका लागेका सार्वजनिक विषयका कुरा तपाईँ रोक्नुहुन्छ । यो दुर्भाग्य हो । हामीलाई प्रतिवन्ध लगाउन पाउनुहुन्न । यो प्रमुख प्रतिपक्षी दलले पाउनुपर्छ भन्दा तपाईँहरू हुनु हुँदैन भन्नु हुन्छ । हामी तपाईँहरूको दास हो र ! माओवादी पार्टीले उठाएको कुरा हो नि त्यो ।

मोदीलाई रोक्दै पोखरेलले भने

तपाईँलाई भ्यूज चाहिएको छ । मैले बोल्न पाउनु हुन्न कहिले भनेको छैन, अपव्याव्याख्या नगर्नुस् । तपाईँलाई केही चाहिएको हैन, अहिले भरे युट्यूवमा समाचार चाहिएको त्यत्ति हो क्या ! तपाईँ २/४ जना मान्छे खिच्ने लिएर आउनुभएको छ । अहिले युट्यूव बनाएर बाहिर हाल्नुहुन्छ । त्यत्ति हो । हरेक दिन किन तपाईँ बोल्नु हुन्छ भन्ने कुरा मलाई राम्रो थाहा छ ।

मोदीको जवाफ थियो, ‘हामी बोल्न पाउँदैनौं ? हामीले राखेका सार्वजनिक सरोकारका कुरा किसानका मल, बिउका मुद्दा, दुनियाँ ठाउँमा भ्रष्टाचारका कुरा यो बैठकमा छलफल भएका छैनन् ।’

पोखरेलले फेरि भने, तपाईँले यति बोल्नुभयो यो तपाईँको प्लानिङ नै हो सधैँ । बैठकलाई अमर्यादित बनाउन तपाईँ हरेकपल्ट यसै गर्नुहुन्छ ।

भनाभनका क्रममा पोखरेलले मोदीलाई पटक-पटक युट्यूवबाट विज्ञापन गर्न लागि स्टन्ट गरेको जिकिर गरे । उजुरी छानबिन गर्न गठित विभिन्न उपसमितिको म्याद एक महिना थप गर्ने निर्णयसहित अर्को सूचना आएपछि बैठक बस्ने गरी आजको बैठक सकियो

बैठक सकेर उठ्दै गर्दा पनि पोखरेल-मोदीबीच भनाभन चलिरहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *