एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौं । रिक्त एक सचिवमा बढुवाका लागि तीनजना सहसचिव सिफारिस गरिएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बुधबार बसेको बढुवा सिफारिस समितिले वरिष्ठताका आधारमा ३ सहसचिवको नाम सिफारिस गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा सहसचिव भुपाल बराल, दोस्रोमा डण्डुराज घिमिरे र तेस्रोमा खगेन्द्रप्रसाद सुवेदी छ । बराल वन तथा वातावरण मन्त्रालय, घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सुवेदी लोक सेवा आयोगमा कार्यरत छन् ।

महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डे उमेर हदका कारण सचिव पदमाबाट अनिवार्य अवकाशमा गएसँगै एक सचिवको पद रिक्त भएको थियो । सम्भवत: अब बस्ने मन्त्रिपरिषद् बैठकले एकजनालाई बढुवा गरी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्नेछ ।

केही दिन अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालिन सचिव विनोदप्रकाश सिंह पनि उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको सचिव पदमा बढुवा भएका शोभाकान्त पौडेलको पनि पदस्थापन हुन बाँकी नै छ ।

प्रदेशका २ प्रमुख सचिव सिंहदरबारमा सरुवापछि रिक्त प्रमुख सचिव पदमा बढुवा भएका २ सचिवलाई प्रमुख सचिवमा पस्थापन गरिनेछ । वरिष्ठताका आधारमा बागमती प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थ र सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव कमलप्रसाद पोखरेलको सिंहदरबार सरुवा हुनुपर्ने लाइनमा छन् ।

पन्थ ९ महिनाअघि २०८१ भदौमा र पोखरेल ७ महिनाअघि २०८१ कात्तिकमा सचिवमा बढुवा भएर प्रमुख सचिवमा पदस्थापन भएका थिए । संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव र महालेखा नियन्त्रणको कार्यालयमा प्रमुख महालेखा नियन्त्रकको पद अहिले रिक्त रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *