धावनमार्गमा खाल्डो परेपछि सुर्खेत विमानस्थलबाट हवाई उडान रोकियो

सुर्खेत । धावनमार्गमा देखिएको समस्या समाधान नहुँदा सुर्खेत विमानस्थलबाट सञ्चालन हुने सम्पूर्ण हवाई उडान रोकिएका छन्।

मंगलबारदेखि रोकिएको सेवा अझै पुनः सुचारु हुन सकेको छैन, जसले गर्दा दैनिक हवाई सेवा प्रयोग गर्ने यात्रुहरू वैकल्पिक मार्ग रोज्न बाध्य भएका छन्।

विमानस्थलको नेवार स्कुलतर्फको उत्तरी भागमा जमिनमुनिबाट पानी निस्किएपछि रनवेमा खाल्डो पर्न थालेकाे हाे।

सुरुवाती मर्मतपछि पुनः १० मिटरको दूरीमा अर्को स्थानबाट पानी निस्किएपछि शुक्रबारसम्मका लागि उडान अवरुद्ध गरिएको विमानस्थल प्रमुख हिराज काफ्लेले जानकारी दिए।

उनका अनुसार, पानी हटाउने र धावनमार्ग मर्मतको काम तीव्र रूपमा भइरहेको छ। शनिबारदेखि पुनः नियमित उडान सुरु गर्ने लक्ष्य राखिएको छ।

तर, यो अवधिमा हवाई यात्रीहरूलाई वैकल्पिक रूपमा झण्डै तीन घण्टा यात्रा गरी नेपालगन्ज पुग्नुपर्ने अवस्था आएको छ।

बुद्ध एयर र श्री एयरलायन्सले दैनिक सुर्खेत–काठमाडौ‌ं रुटमा चार उडान गर्दै आएका थिए। नियमित हवाई यात्रा गर्ने सर्वसाधारण, बिरामी, कर्मचारी, विद्यार्थी तथा व्यापारीहरू सेवा बन्द हुँदा सास्तीमा परेका छन्।

स्थानीयवासीहरूका अनुसार खाल्डो परेको स्थान पहिला बस्ती रहेको जमिनमा निर्माण भएको हो। त्यहाँबाट बारम्बार पानी निस्किनु सामान्य समस्या नभएको उनीहरूको भनाइ छ।

विमानस्थलको संरचना र माटोको प्रकृतिबारे गहिरो अध्ययन गरिनुपर्ने सुझावसमेत आएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *