माननीय मुख्यमन्त्रीज्यूलाई खुला पत्र
मिति: २०८२-०२-०७
माननीय मुख्यमन्त्रीज्यू,
मधेश प्रदेश सरकार,
जनकपुरधाम, नेपाल
विषय: समुदायका बहुआयामिक समस्याहरू, योजना छनोटमा समावेशी सहभागिता अभाव तथा नीति कार्यान्वयनको कमजोरीका सम्बन्धमा खुला पत्र ।
माननीय मुख्यमन्त्रीज्यू,
मधेश प्रदेशको सप्तरी जिल्ला तिलाठी कोइलाड़ी गाउपालिका बस्ने म कंचन कुमारी यादव एउटा बाल क्लव पूर्वसदस्य र मूलतः स्थानीय जनताको हैसियतले यो खुला पत्र तपाईंको ध्यानाकर्षणका निम्ति लेखेकी हूँ। हजूर मुख्यमन्त्री बन्नू अगाडि यसै पालिकाको अध्यक्ष रहदा म यस तिलाठी कोइलाड़ी गाउपालिका स्तरीय बाल क्लब संजालको अध्यक्ष थिए, त्यहाँबाट सुरुवात गरेको सामाजिक कार्यको यात्राको क्रममा आफुले अनुभव गरेका र भोगिरहेका समुदायमा आधारित समस्याहरु औंल्याउन साथै देखेका अवसरहरू र प्रदेश सरकार तथा स्थानीय तहमा भइरहेका योजना तर्जुमा प्रक्रिया, बजेटको प्राथमिकता र समुदायका वास्तविक समस्या बीचको असन्तुलनप्रति चिन्ता व्यक्त गर्दै यो पत्र लेखिएको हो।
हाल स्थानीय तहमा सात चरणमा योजना तर्जुमा प्रक्रिया सञ्चालन भइरहेको छ, जुन स्वागतयोग्य प्रक्रिया हो । तर यथार्थमा समुदायका अधिकांश पुरुषहरू वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेका कारण योजनामा समुदायको प्रत्यक्ष सहभागिता निकै कमजोर देखिएको छ । महिलाहरूको सहभागिता न्यून रहेको छ र महिलाहरूले भनेको कुरालाई महत्वका पनि नदिइने यो समाजलाई हजुरले पनि थाहा पाउनु भएकै हो। जसले गर्दा वास्तविक आवश्यकता र प्रभावकारी समाधान पहिचानमा समस्या आइरहेको छ ।
तपाईंलाई जानकारी गराउन चाहन्छु कि:
समुदायले भोगिरहेका केही प्रमुख समस्याहरू:
शिक्षा: ग्रामीण क्षेत्रका विद्यालयहरू बालमैत्री, अपाङ्गता मैत्री, विपद् मैत्री नरहेको र गुणस्तरीय शिक्षाको अभाव देखिएको छ । जसले गर्दा बालबालिका शिक्षाबाट विमुख भई शिक्षाको स्तर दिनप्रतिदिन खस्किदै गइरहेको अवस्था छ ।
स्वास्थ्य: स्वास्थ्य चौकीहरूमा न त पर्याप्त जनशक्ति छ, न त औषधि र सेवा ।
विपद् व्यवस्थापन: हाम्रो समुदाय अहिले साँच्चिकै दोहोरो संकटको संघारमा छ
एकातिर असह्य गर्मी, अर्कोतिर नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाको (डीएचएम) को पछिल्लो प्रतिवेदन अनुसार आगामी दिनहरूमा अत्यधिक वर्षाको सम्भावना देखिएको छ । जुन वर्षाले हाम्रोजस्ता नदी तटीय गाउँहरूमा बाढी, कटान, र डुबानको जोखिम अत्यन्तै बढाउन सक्ने छ । बाढिको समयमा सर्पको बिगविगीले हरेक वर्ष कोहि न कोहिलाई ढस्यो भन्ने सुनिन्छ। भाग्य हुँदा कम विशालु सर्प भएर बच्ने नभए सर्पदंश केन्द्रसम्म पुग्न नि नसक्दै ज्यान गुमाउनु पर्ने नदी किनारको मान्छेको नियती नै भइसकेको छ।
बाढी, आगलागी, गर्मी (लू), सुख्खा ,हावाहुरी र चट्यांग लगायतका विपद् बारम्बार क्षति पुर्याई रहेका छन्, स्थानीय तहको बजेट विपद् पश्चात राहत, प्रतिकार्यमा मात्र सिमित हुन्छ तर यसको पूर्वतयारी र व्यवस्थापन अत्यन्त कमजोर देखिएको छ ।
जलवायु परिवर्तन : अहिले प्रदेशमा भयानक गर्मी बढेको र तातो हावाको लहर (लू) चलेको छ । विशेषतः एकतले टिनको छानामुनि बस्ने गरिब, दलित, तथा नदी किनारका समुदायहरू त्यसको प्रत्यक्ष मारमा परेका छन् । कतिपय बस्तीहरूमा मानिस दिनको समयमा घरमै बस्न सक्दैनन्स दैनिक ज्याला मजदुरी गर्ने, किसान, वृद्ध, बालबालिका र महिलाहरू सबभन्दा बढी प्रभावित छन् । विकास अहिले रुख काट्दै सडक, भवन निर्माणमा केन्द्रित देखिन्छ । तर जलवायु परिवर्तन, बाढी, गर्मी र मौसमीय प्रकोपप्रति गम्भीर ध्यान दिइएको छैन । प्रत्येक स्थानीय तहमा बजेटको कम्तिमा ५५ विपद् व्यवस्थापन र जलवायु अनुकूलनको पूर्वतयारीमा छुट्याउनु पर्ने प्रावधान कागजमा मात्र सीमित देखिन्छ ।
महिला सशक्तिकरण: भौगोलिक सहजता भएको हाम्रो प्रदेशमा महिलाको अवस्था विकट मानिने कर्णाली र सुदूर पश्चिमभन्दा खासै राम्रो छैन।अझै पनि महिला सशक्तिकरणको कार्यहरू “सिलाई कटाई” र “ब्युटी पार्लर” तालिममै सीमित छन् ।महिलाहरूलाई त्यस तालिम पश्चात व्यवसाय सुरूवात गर्ने, शिपलाई वजारीकरण गर्ने र बजार व्यवस्थापन सम्बन्धी कुनै जानकारी छैन न त तालिमले समेट्छ।
सिप विकासका तालिमसँगै महिलालाई जीवन रक्षाको तालिम दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ। भनिन्छ पूरूषले सिकेको एक व्यक्तिको हो, महिलाले सिकेको पूरै परिवारको हो। घरको चुलामा अत्याधिक समय विताउने महिलालाई अग्नी नियन्त्रण, पूरै परिवारको हेरचाह गर्नु पर्ने महिलालाई प्राथमिक उपचार जस्ता तालिमको अवश्यकता आज सम्म कुनै तहको सरकारले महसुस गरेको छैन ।
बेरोजगारी: रोजगारी नहुँदा परिवारको दैनिक खर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण सबै प्रभावित हुन्छ । आम्दानी नभएपछि गरिबी चक्र झनै गहिरो हुन्छ। जब पुरुष विदेश वा अन्यत्र जान्छन् वा बेरोजगार हुन्छन्, महिलाहरूले घर, बच्चा, र खेतीपाती सबै सम्हाल्नुपर्छ । तर उनीहरूका लागि पनि काम र सीप अभावले महिलाहरूको दोहोरो बोझ हुन्छ । जब रोजगारी शिक्षितरसम्पन्न वर्गमा मात्र सीमित हुन्छ, गरिब वा दलित समुदाय झन् पछाडि धकेलिन्छन् । यसले सामाजिक असन्तुलन र असन्तोष बढाउँछ ।
कृषि र बजार व्यवस्थापन: अत्याधिक गर्मी, खडेरीले कृषि उत्पादनका निकै चुनौति थपेको छ। त्यसमा पनि कृषकले समयमा मल, बिउ नपाउने कुरा त राष्ट्रिय समाचारको पनि विषय हुन्छ।तर यति मात्र चुनौतिमा किसानहरूको समस्याको सुचि सकिदैन। गर्मीमा खेति गर्न समस्या, खडेरीले ल्याउने समस्या पछि बाढिले हरेक वर्ष गर्ने कटान र वालिनाली नोक्सानीको तथ्याङ्क मुचुल्कामा सिमित छ। न त किसानले बाली पाउछ न त राहत । उत्पादन भएको सामाग्रीको बजारीकरणमा पनि आफ्नै चुनौती छन् ।
अत्यधिक गर्मीका कारण मानिसहरू दिउँसोको समयमा बजार जान हिच्किचाउँछन् । फलस्वरूप बिक्रीमा गिरावट आएको छ । उच्च तापक्रमका कारण फलफूल, तरकारी, दूध, मासुजस्ता चाँडै बिग्रने वस्तुहरू छिटो नष्ट हुन्छन् । यसले व्यापारीलाई घाटा हुने अवस्था ल्याएको छ । गर्मीका कारण बजारमा काम गर्ने मजदुरहरू दिनको समयमा काम गर्न सक्दैनन् वा बिरामी परिररेका छन् । धेरैजसो पसलहरू बिहान बेलुका मात्रै खुल्ने प्रवृत्ति बढेको छ । बजारका टिनका छाना, टेन्ट, प्लास्टिकका ढाक्ने संरचना अत्यधिक तापले पग्लिन, चुँडिन लागेका छन् ।
माननीय मुख्यमन्त्रीज्यू,
म तपाईँलाई यस्ता समस्याहरू धेरै बयान गर्न चाहन्नँ, किनभने तपाईँ यही माटोको युवा हुनुहुन्छ, यही पीडा देखेर बुझेरे नेतृत्वमा आउनुभएको हो । तपाईंले पहिल्यै धेरै समस्याहरू प्रत्यक्ष रुपमा अवलोकन गर्नुभएको छ, समाधानका प्रयास पनि गर्नुभएको छ, त्यसको कदर गर्दछु । तर, मुख्यमन्त्री पद सम्हालेपछि अझ जिम्मेवारी थपिएको छ, र तपाईंको आफ्नै गाउँ समुदाय अझै पनि समाधानको पर्खाइमा छन् ।
सुझावहरू:
योजना छनोट प्रक्रियामा महिला, बालबालिका, सीमान्तकृत वर्गहरूको समावेशिता अनिवार्य गरियोस्,
निर्माण हुने सम्पूर्ण भौतिक संरचनाहरु अपाङ्गता मैत्री, विपद् मैत्री ,बाल मैत्री र सुरक्षित बनाउने कडा नियम लागू गरियोस,
प्रत्येक स्थानीय तहले बिपद् व्यवस्थापन तथा जलवायु परिवर्तनमा कम्तिमा ५५ बजेट खर्च गर्न बाध्यकारी कार्यविधि बनाइयोस्, कागजमा मात्र नभई व्यवहारमा कार्यान्वयन होस् ।
महिला सशक्तिकरण कार्यक्रमहरू पुनः मूल्याङ्कन गरियोस् – अब सिलाई(कटाई, पार्लरजस्ता परम्परागत तालिमको साथै आगलागी नियन्त्रण, प्राथमिक उपचार, विपद् व्यवस्थापन, लघु व्यवसाय सञ्चालन र त्यसको बजार व्यवस्थापनजस्ता व्यावहारिक र जीवन रक्षा सम्बन्धी सीपहरूको तालिम सञ्चालन गरियोस् ।
बेरोजगार युवाहरूलाई व्यवसायिक तालिमसहित उत्पादनलाई जोड्ने बजारीकरण व्यवस्था मिलाइयोस् । बजार व्यवस्थापनका लागी बजार व्यवस्थापन समितिहरूलाई स्थानीय सरकारबाट बजेटसहित सक्रिय बनाइयोस् । बजार क्षेत्रमा छायाँयुक्त विश्राम स्थल, पिउने पानीको व्यवस्था, शौचालय, मोबाइल हेल्थ डेस्क राखियोस्।
वृक्षारोपण तथा संरक्षण निति, चौतारा निर्माण, पोखरी व्यवस्थापन, खानेपानीको सुविधामा विशेष ध्यान पुर्याइयोस् ।
आदरणीय मुख्यमन्त्रीज्यू,
हामी परिवर्तनको सपना देख्ने मात्र होइन, त्यसलाई मूर्त रूप दिन चाहन्छौं । तर जब नीति, कार्यक्रम र बजेट कागजमा मात्र सीमित हुन्छ, समुदायको विश्वास शासनप्रति कमजोर हुन्छ । हामी तपाईंप्रति आशावादी छौँ । तर आजको बदलिँदो मौसम, तातिँदो पृथ्वी, र चिच्याउँदै बाँचिरहेको समुदायको आवाज सुन्नु, बुझ्नु, र त्यसअनुसार नीति बनाउन सक्नु तपाईंको नेतृत्वको असली परीक्षाको घडी हो ।
हामी सकारात्मक परिवर्तन चाहन्छौँ, त्यसमा तपाईंको साथ र सक्रियता आजको सबैभन्दा ठूलो अपेक्षा हो । यो पत्र समालोचना मात्र होइन, समाधानका सल्लाहहरू पनि समेटिएको प्रयास हो । हामी तपाईंको नेतृत्वले व्यवहारिक परिवर्तन गर्ने अपेक्षा राख्दछौं । जनताको आवाजलाई सुन्ने, बुझ्ने र कार्यान्वयन गर्ने नेतृत्वले नै मधेशको भविष्य उज्यालो बनाउनेछ ।
विनम्र अनुरोधसहित,
कंचन कुमारी यादव
तिलाठी कोइलाड़ी गा.पा.-३, सप्तरी
स्थानीय जनता

Leave a Reply