काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भएसँगै दाबेदारहरुको चहलपहल बढेको छ । यसअघि मेरिटको आधारबाट माओवादी निकट केशरजंग बराल नियुक्त भएकामा उनले राजीनामा दिएपछि हाल रेक्टर डा. खड्ग केसीले उपकुलपतिको कार्यभार सम्हालिरहेका छन् ।
प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीले शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा योजना आयोग सदस्य गीता अधिकारी पौडेल र शिक्षा सचिव दीपक काफ्ले रहेको सिफारिस समिति गठन गरिसकेका छन् ।
त्रिवि उपकुलपतिका लागि यस पटक एमाले निकट प्रगतिशील प्राध्यापक खेमाबाटै बढी सम्भावना रहे पनि मेरिटलाई आधार बनाउन दबाब छ । उपकुलपतिका लागि यस पटक को को छन् दाबेदार ? नेपाल प्रेसले खोजी गर्दा सो खेमाबाट केही नाम बाहिर आएका छन् ।
अहिले निमित्तका रुपमा काम चलाइरहेका रेक्टर डा. केसी उपकुलपतिका स्वाभाविक दाबेदार हुन् । मेरिटका आधारमा रेक्टर बनेका केसीले त्रिवि सुधारको पक्षमा काम गरेको दाबी गरेका छन् । उनी यसअघि ओली प्रधानमन्त्री हुँदा जापानको लागि राजदूत सिफारिस भए पनि कांग्रेस-एमाले सरकार आएपछि उनको मात्र नाम फिर्ता लिइएको थियो ।
उपकुलपतिका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी पूर्वडीन डा. दिव्यासिंह शाहको समेत नाम चर्चामा आएको छ । प्रधानमन्त्रीको निजी चिकित्सकका रुपमा काम गरिसकेकी शाहलाई उपकुलपति बनाउन बालुवाटारभित्रबाटै दबाब जानसक्ने कतिपयको अनुमान छ । डा. दिव्या यसअघि मेरिटका आधारमा दोस्रो कार्यकालका निम्ति चिकित्सा शिक्षा विज्ञान महाराजगन्जको डिन छनौट प्रक्रियामा पर्न असफल भएकी थिइन् ।
त्यस्तै अवकाश पाइसकेका प्राध्यापक डा.योगेन्द्र गुरुङको नाममा पनि चर्चा छलेको छ । जनसंख्या विभागको प्रमुख भइसकेका उनी एमाले विभाजनका बेला अशोक राई समूहमा रहेर पनि अन्तिममा पार्टीमै बसेका थिए ।
उनलाई प्रगतिशील प्राध्यापक संघले अघि बढाउन खोजेको स्रोतले जनाएको छ । संगठनको अध्यक्ष पद्मप्रसाद खतिवडा छन् । एमालेभित्रकै केही नेताले मौसम विभागका प्रमुख प्राध्यापक डा.दीपक अर्यालको पनि नाम लिएका छन् ।
यसअघि त्रिविको रजिष्टार भइसकेका र उच्चस्तरीय आयोगले तीर्थ खनियासँगै दोषी ठहर गरेका डिल्ली उप्रेती पनि उपकुलपति बन्न एमाले नेताहरुको घरमा गइरहेका छन् । उनलाई प्रगतिशील प्राध्यापक संगठनकै महासचिव सुमन खरेललगायतले अघि सारेको चर्चा छ ।
उपकुलपतिका लागि कतिपयले डा.उपेन्द्र कोइरालाको नाम पनि अघि सारेका छन् । महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख तथा उच्च मावि शिक्षा परिषद्को उपाध्यक्ष भइसकेका कोइराला आफैं भने आशावादी छैनन् ।

Leave a Reply