कैलाली । २ वर्षको कलिलो उमेरमै बाजुरा जगन्नाथ गाउँपालिका २ वसन्त विष्ट सहारा विहीन भए । बुवाको भारतमा मृत्यु भएपछि काखे बालक छोडेर आमा अन्तै लागिन् । आमा बुवा दुवै नभएपछि केही वर्ष त आफन्तले जोगाए । उनको शिक्षा, स्वास्थ्य लगायतको विषयले आफन्तलाई पनि पिरोल्न थालेपछि ४ वर्षको बालकको अभिभावक बने बाजुराका युवा नेता गणेश थापा ।
आफ्नो पालिकामा बालकले पाइरहेको दुखबारे गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश उपाध्यक्ष कालीबहादुर शाहीले थापालाई जानकारी गराएपछि उनले बालकलाई आश्रय दिएका हुन् । सोही दिन थापालाई बुढिगंगा नगरपालिकाकी उपप्रमुख माया खड्का र वडा नम्बर १०का वडाध्यक्ष डिवि साउदले पनि आफ्नो क्षेत्रमा अभिभावक विहीन भएर तीन बालबालिका बिचल्ली भएको खबर सुनाए । थापा ती बालबालिकालाई पनि आश्रय दिन वडा नम्बर ७ को झाली पुगे ।
बुवाको मृत्यु भएपछि आमालेको सहारामा बस्दै आएका मनोज नेपाली र समीर नेपालीलाई आर्थिक सङ्कटका कारण हुर्काउन र शिक्षा स्वास्थ्य लगायतको व्यवस्था गर्न नसक्ने भएपछि दुवै जनालाई थापाले जिम्मा लिए । सोही दिन वडा नम्बर १० मा अभिभावक विहीन भएकी कल्पना बुढाको पनि थापाले जिम्मा दिए ।
‘बुवा आमा दुवै नभएर बिचल्लीमा पर्नु भएका वा सहाराविहीन हुनुभएका बालबालिकाहरूको बारेमा थाहा पाउँदा मलाई निकै सकस हुन्छ । सबै भएर पनि यो समाजमा आर्थिक सङ्कटले धेरैलाई समस्या हुन्छ कोही नभएकाहरूलाई त झन् सहज हुने कुनै भएन ’ एकै दिन चार बालबालिकाको अभिभाव बनेका थापा भन्छन् ‘कोही नभएकाहरूलाई हामी छौँ भन्दै म सहाराविहीनहरूको सहारा बनिरहेको छु ।’
एमालेको बाजुरा जिल्ला सदस्य थापा राष्ट्रिय युवा सङ्घका स्थायी समिति तथा सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज पनि हुन् । उनी विगत केही वर्षदेखि कन्सन बाजुरामार्फत शालिग्राम बाल स्याहार गृह सञ्चालन गरेर अभिभावक बिहीन बालबालिकालाई आश्रय दिइरहेका छन् । पछिल्लो पटक चार बालबालिकासहित गरेर उनले हालसम्म ३० जना बालबालिकाको सहारा बनिसकेका छन् ।
‘अहिले २३ जना बालगृहमा हुनुहुन्छ ७ जना परिवारको मिलनमा गइसक्नु भएको छ ’ उनी भन्छन् ‘केही काठमाडौंमा अध्ययन गरिरहनु भएको छ ।’
२०७२ सालमा कन्सन बाजुरा नामक संस्था जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता गरियो। संस्थाको उद्देश्य छ– आमा–बुबा नभएका बालबालिकालाई सहयोग गर्ने।
तीन वर्ष उनले आफ्नै निजी घरलाई स्याहार केन्द्र बनाए । ८ जना बालबालिकालाई घरमै राखेर अभिभावक बनेका गणेशले ६० लाखभन्दा बढीको लागतमा भवन निर्माण गरेर अहिले सहारा विहीन बालबालिकालाई आश्रय दिइरहेका छन् ।

Leave a Reply