काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको सभापति सत्तारुढ दलकै सांसद भएको विषयमा प्रश्न उठाएपछि संसदीय समितिमा चर्काचर्की भएको छ ।
प्रतिनिधि सभा अन्तरगत रहेको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा भएको भ्रष्टाचार प्रकरणमा समितिलाई बुझाएको प्रतिवेदनमाथिको छलफलका क्रममा समितिको सभापतिको विषयमा प्रश्न उठाएपछि चर्काचर्की भएको हो ।
माओवादी सांसद मोदीले प्रधानमन्त्री पनि एमालेकै र प्रमुख प्रतिपक्ष दलको सांसद सभापति हुनुपर्ने सार्वजनिक लेखा समितिको सभापति पनि सत्तारुढ दल एमालेकै भएकोमा आपत्ति जनाएपछि एमालेका सांसद प्रतिवादमा उत्रिएपछि चर्काचर्की भएको हो ।
सांसद मोदीले भने, ‘म आरोप त लगाउन चाहान्न्, नेकपा (एमाले)का साथीहरुलाई आरोप लगाउनु पनि छैन मलाई । किनभने तपाइहरुको पार्टीको प्रधानमन्त्री पनि हुनुहुन्छ । सार्वजनिक लेखा समितिको सभापति तपाईंको पार्टीकै हुनुहुन्छ । अनि फरक मत पनि तपाईंहरु नै राख्नुहुन्छ वा पुरक प्रस्ताव पनि तपाईंहरु नै राख्नुहुन्छ ।’
माओवादी सांसद मोदीले यति मात्रै के भनेका थिए, एमालेका सांसदले मोदी बोलिरहेकै बेला बोल्न थालिहाले । । मोदीले आफ्नो पालोमा आफूलाई बोल्न दिन आग्रह गरे । उनले भने, ‘सत्तापक्षको तपाईंहरु नै हुनुहन्छ । सभापति पनि तपाईंकै छन् ।’
मोदी बोलिरहेकै बेला एमालेका सांसद गोकुल बास्कोटा, योगेश भट्टराई लगायतले बोल्न थाले । मोदीले ठुलो स्वरमा जोड दिँदै भने, ‘एमालेको प्रधानमन्त्री हुनुहुन्न र ? सत्तापक्षको सभापति हुनुहुन्न र ? त्यहि त कुरा गर्दैछु ।’ सत्तापक्षका प्रधानमन्त्री हुदाँ पनि सभापति पनि सत्तापक्षकै हुनुहन्छ । हामीले भन्यौ, यो समितिको सभापति प्रतिपक्ष हुनुपर्छ ।’
सांसदका विचमा चर्काचर्की हुन थालेपछि समितिका सभापति ऋषिकेश पोखरेलले बैठकलाई सहजीकरण गर्दै भने सांसदलाई बोलेको विषयमा व्याख्या नगर्न आग्रह गरे ।
त्यसपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि बोल्न थाले । एमालेका सांसद बास्कोटा र स्वतन्त्र सांसद सिंह झोक्किँदै बाझाबाझ गर्न थाले । त्यसपछि एमाले सांसद भट्टराईले पनि को हो तपाईं डेक्टेट गर्ने भन्दै सिंहलाई प्रश्न गरे । त्यसपछि माओवादी सांसद लेखनाथ दाहाल पनि बोल्न थाले ।
सभापति पोखरेलले सहजीकरण गर्दै दलका प्रतिनिधिका रुपमा नभई समितिको सदस्यको रुपमा भूमिका निर्वाह गर्न आग्रह गरे ।
त्यसपछि माओवादी सांसद मोदीले समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिुन पर्दैन त भन्दै प्रश्न गरे । त्यसपछि सभापति पोखरेले अमन मोदीको पालो भएकाले बोल्न आग्रह गरे ।
सांसद मोदीले अमन मोदी नभएर अमनलाल मोदी भन्न आग्रह गरेपछि सभापति पोखरेलले पूर्वमन्त्री आदरणीय अमनलाल मोदी भन्दै बोल्न आग्रह गरे । मोदीले पूर्वमन्त्री भनिरहन जरुरी नरहेको बताए ।

Leave a Reply