काठमाडौं । वनमन्त्री भएपछि ईआईएको अनुमति नदिएर के प्लेन उडाउने अनुमति दिऊँ ? भन्दै नेकपा एसका सांसद प्रेम आले मगरले एमाले सांसद सांसद योगेश भट्टराईलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा पोखरा विमानस्थलको उपसमिमितको प्रतिवेदनमा भट्टराईको भनाइमा लक्षित गर्दै उनले प्रश्न तेर्स्याएका हुन् ।
सांसद आलेमगरले भने, ‘उहाँले मलाई वन तथा वातावरणमन्त्री हुँदा ईआइए गर्यो भनेर प्रश्न गर्नुभयो । जबकी एयरपोर्टको काम सकिने अवस्थामा थियो । त्यतिबेलाका पर्यटनमन्त्री भानुभक्त ढकालले पटक-पटक मेरो मन्त्रालयमा आएर ल प्रेम भाइ यो ईआईए छिटो गरिदिनुपर्यो भनेर दबाब दिनुभयो । मलाई मेरो पार्टीले ६ महिने मन्त्रीको कार्यकाल तोकेर पठाएको थियो । अनि मैले रातदिन गरेर मैले एयरपोर्टको मात्रै नभएर वनमन्त्री हुँदा धेरै ईआईए गरेँ । अब म वनमन्त्री भएपछि ईआईएको अनुमति नदिएर प्लेन उडाउने अनुमति दिउँला त ? दिनैपर्यो नि !’
सांसद आलेले आफूले ईआइए अनुमति दिएकै कारण कुनै पनि कठघरामा उभिन तयार रहेको भन्दै, ‘सभापतिज्यू ! यसलाई नोट गर्नुहोस्, र ईआईए अनुमति दिएबापत प्रेम आलेलाई कठघरामा उभिनुपर्छ भने पनि तयार छु ।’
विमानस्थलको भ्रष्टाचारको प्रतिवेदन कुनै डस्टबिनबाट नउठाएको उनको प्रष्टीकरण थियो ।
‘यहाँ लम्बा चौडा बहस गर्न जरुरी छैन । हामीले कुनै डस्टबिनबाट उठाएर ल्याएको प्रतिवेदन होइन । अध्ययन गरेर, विज्ञसँग छलफल गरेर ल्याएको हो । ट्रेलर त पोखरा भयो, अब फिलिम अलिकति भैरहवामा पनि हेरौं न !’

Leave a Reply