पोखरा विमानस्थलबारे चिनियाँ ठेकेदार कम्पनीको विज्ञप्ति गोरखापत्रमा छापेकोमा रास्वपाको आपत्ति (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय उपसमितिको प्रतिवेदनमाथि चिनियाँ कम्पनीले जारी गरेको विज्ञप्ति गोरखापत्र दैनिकले छापेकोमा आपत्ति जनाएको छ । प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणबारेको संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै समितिका सदस्य एवम् रास्वपाका सांसद मनिष झाले आपत्ति जनाएका हुन् ।

उनले भने, ‘नेपाली जनताको करले सञ्चालित एउटा राष्ट्रिय दैनिकमा यो विज्ञप्ति निक्लिनु यसका प्रधान सम्पादक र सम्पादकलाई हामीले स्पष्टीकरण सोध्नुपर्छ । यो सार्वभौम सदनको एउटा सम्मानित समितिको बारेमा यस्तो चुनौतीपूर्ण भाषा प्रयोग गरेको विज्ञप्ति तिमीले किन निकाल्यौ ? यसलाई के विज्ञप्ति प्रकाशित गर्ने पैसा मात्रै चाहिएको हो ? हामीले जस्तोसुकै तस्बिर पठाइदिन सक्छौ भोलि ? के छापिदिन्छ पैसा नै चाहिएको हो भने ? त्यसमा करदाताको पैसाले सञ्चालित एउटा सञ्चार गृहले जिम्मेवार हुनुपर्दैन कि, यो कस्तो भाषा प्रयोग गरिएको छ, को प्रति लक्षित छ भनेर ?’

सांसद झाले ठेकेदार चिनियाँ कम्पनी र गोरखापत्र संस्थान दुवैलाई स्पष्टीकरण सोध्न माग गरे । उनले भने, ‘यसमा मेरो गम्भीर र आपत्तिसहित म दुवैलाई तिमीले यस्तो भाषा प्रयोग गर्ने शक्ति कहाँबाट प्राप्त गर्यौ ? नभए माननीय सभापति ज्यू भोलि गएर जुनसुकै देशको जुनसुकै ठेकेरदार कम्पनीले हामीलाई जस्तोसुकै गाली गरेर पनि जान सक्छन् है । आज हामी सचेत भइएन भने । त्यसको जिम्मेवारी अहिलेको यो समितिले लिनुपर्छ । त्यो बेला तिमी किन बोलेनौ भनेर आउँछ । त्यसैले म यसमा सबै जनाको ध्यानाकर्षण गराउन चाहान्छु ।’

ठेकेदार कम्पनीले उठाएको समितिमाथिको प्रश्नमा आपत्ति जनाउँदै धारणा सार्वजनिक गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक चिनिया ठेकेदार कम्पनी सीएमसीले संसदीय उपसमितिको प्रतिवेदनमाथि उठाएको प्रश्नमा संसदीय समितिको धारणा सार्वजनिक गर्न माग गरेको छ । प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार प्रकरणमा संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा भाग लिने क्रममा रास्वपाका सांसद मनिष झाले यस्तो माग गरेका हुन् ।

उनले भने, ‘हिजोको गोरखापत्र राष्ट्रिय दैनिकमा यो प्रक्रिया, यो प्रतिवेदनप्रति आएको सीएएमसीको विज्ञप्तिप्रति सबैको ध्यानाकर्षण गराएर यसप्रति आधिकारिक धारणाको पनि माग गरे । कुनै एउटा विदेशी ठेकेरदार कम्पनीले देशको सार्वभौम सदनको एउटा सम्मानित समिति आज हामी सदस्य छौ, भोलि कोही अरु सदस्य होला । आज यो ठेकेदार कम्पनीले विज्ञप्ति निकाल्यो, भोलि कुनै अर्को ठेकेदार कम्पनीले विज्ञप्ति निकाल्ला । त्यति हल्कारुपमा हामीले यसलाई लिनु हुँदैन । यसमा जुन किसिमको भाषा प्रयोग गरिएको छ, त्यो चुनौतीपूर्ण छ । त्यसले हामीलाई चुनौती दिएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *