काठमाडौं । विश्वकै अग्लो हिमाल सगरमाथाको सफल आरोहणपछि डान्सर तथा नायिका कविता नेपालीले सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरु शेयर गरेकी छन् । उनले आइतबार सगरमाथा र सोमबार विश्वको चौथो अग्लो हिमाल ८,५१६ मिटर रहेको ल्होत्से आरोहण गरेकी हुन् ।
एक दिनको अन्तरमा दुई अग्ला हिमाल आरोहण गरेपछि अहिले सामाजिक सञ्जालमा उनको निकै प्रशंसा भइहेको छ । धेरैले उनलाई ‘साहसी नारी’ भन्दै कमेन्ट गरिरहेका छन् ।
हिमाल आरोहणपछि मंगलबार कविताले सगरमाथा र ल्होत्सेमा खिचेका दुई तस्बिर सार्वजनिक गरेकी हुन् । दुवै हिमालको चुचुरोमा उनले राष्ट्रिय झण्डा फहराएकी छन् ।
हिमाल आरोहणको तस्बिरसँगै कविताले लेखेकी छन्, ‘यो यात्रा केवल शिखरहरू चुम्नको लागि मात्र थिएन । यो यात्रा सपना देख्नेहरू, गर्नेहरू र सीमाहरूभन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि हो । सबैभन्दा महत्वपूर्ण कुरा मैले यसलाई जितिनँ, म यो जितभन्दा माथि थिएँ । म एक व्यक्तिको रूपमा हुर्किएँ, धेरै कुरा सिकें र मैले आफ्ना ती टुक्राहरू फेला पारेँ, जुन कतै हराएका छन् भन्ने म आफैंलाई थाहा थिएन ।’
कविताले निर्मल पुर्जाको आरोही दल ‘एलिट एक्सिपिडिसन’मार्फत हिमाल चढेकी हुन् ।
उनी अहिलेकी डिमान्डेड मोडल हुन् । कविताले चलचित्रमा पनि डेब्यु गरेकी छन् । उनी अभिनित पहिलो चलचित्र ‘एक्लो’ अहिले कान्स फिल्म फेस्टिभलको कान्स मार्केटमा सहभागी छ ।

Leave a Reply