काठमाडौं । लामो खिचातानीपछि डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्त भए, तर गभर्नर पदमा उनको छनोटलाई लिएर गम्भीर प्रश्नहरु उठेका छन् ।
खासमा पौडेलको छनोट प्रक्रिया नै उदेकलाग्दो छ । गभर्नर चयन गर्न बनाइएको सिफारिस समितिमा उनी कांग्रेसको कोटाबाट सदस्य थिए, तर समितिबाट राजीनामा दिएर अन्तमा आफैं गभर्नर बन्न पुगे । सिफारिस समितिमा रहेको व्यक्ति स्वयम् गभर्नर बन्न पाउने कि नपाउने भन्ने कानूनी निरुपणको पहिलो प्रश्न हो ।
पौडेल जुन समितिमा सदस्य थिए, त्यसैले उनलाई गभर्नरमा सिफारिस गर्नु हाँसउठ्दो पनि छ । यदि समितिलाई भंग गरेर अर्को बनाइएको भए सम्भवतः पौडेलको नियुक्ति प्रक्रिया विवादास्पद नदेखिन सक्थ्यो ।
प्रक्रियामा मात्र होइन, गभर्नरका लागि पौडेलको योग्यतामा पनि विशाल प्रश्नचिन्ह छ । अर्थविद् भन्दैमा सबै गभर्नरका लागि योग्य हुँदैनन् । अर्थशास्त्रका अनेक विधा हुन्छन् । त्यसमध्ये मौद्रिक अर्थशास्त्रको विज्ञता गभर्नरमा अनिवार्य चाहिन्छ । गभर्नरको मुख्य जिम्मेवारी नै देशको मौद्रिक नीति तय गर्ने हो, जसले सिंगो देशको अर्थ व्यवस्थालाई प्रभावित र चलायमान तुल्याउन सक्छ ।
मौद्रिक अर्थशास्त्र नपढेको तथा यसको गहिरो ज्ञान एवं अनुभव नभएको व्यक्ति गभर्नर बन्दा पूर्ण रुपमा आफूभन्दा तलका कर्मचारीमा निर्भर हुनुपर्छ । डा. पौडेल पढेलेखेका व्यक्ति हुन्, तर मौद्रिक अर्थशास्त्र उनले पढेका छैनन् । न यसमा उनको कुनै अनुभवै छ ।
पौडेलको अध्ययन/अध्यापनको विषय बेग्लै हो । उनले कृषि र साधनस्रोत अर्थशास्त्रमा पीएचडी गरेका हुन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट पीएचडी गर्नुअघि पौडेलले दुई वटा मास्टर्स डिग्रीसमेत लिएका थिए । पहिलो डिग्री उनले कम्प्युटर साइन्समा र दोस्रो डिग्री कृषि अर्थशास्त्रमा गरेका हुन् । त्यसअघि उनले चीनमा कम्प्युटर इन्जिनियरिङमा ब्याचलर गरेका थिए ।
यति धेरै पढाइ गरेका पौडेल अवश्य पनि एक सुयोग्य व्यक्ति हुन्, तर गभर्नरका लागि होइन । अब उनले राष्ट्र बैंकमा प्रवेश गरेर मौद्रिक नीति सिक्नुपर्ने भएको छ ।
पौडेलको नियुक्तिमाथि उब्जेको अर्को गम्भीर विवाद भनेको उनको पार्टीगत आवद्धता हो । कुनै पनि पार्टीको सदस्य रहेको व्यक्ति गभर्नरमा योग्य नहुने स्पष्ट कानूनी व्यवस्था छ ।
पौडेल चिनिएका कांग्रेसी हुन्, जसलाई गएको आमचुनावमा कांग्रेसले चितवनबाट उम्मेदवार नै बनाएको थियो । रास्वपाका हरि ढकालले चुनाव जित्दा पौडेल तेस्रो भएका थिए । चुनाव हारेको व्यक्ति यसरी उच्च पदमा पुग्नु जनमतको अपमान हो कि होइन भन्ने नैतिक प्रश्न पनि छ ।
निकटस्थहरुका अनुसार पौडेल कांग्रेसका क्रियाशील सदस्य हुन् । उनले गभर्नर नियुक्त हुनुअघि कांग्रेसकाे सदस्यता त्यागेको औपचारिक घोषणा गरेका छैनन् । यद्यपि आफू निकटका मिडियाहरुमा उनले धेरै अगाडि नै कांग्रेसको सदस्यता त्यागिसकेको प्रचार गराइरहेका छन् ।
यदि उनले आफ्नो सदस्यता लुकाउन सफल भए भने पनि चुनावमा कांग्रेसबाट लड्नु, कांग्रेसका विभिन्न दस्तावेज लेखनमा संलग्न रहनु, कांग्रेसकै कोटाबाट योजना आयोगको उपाध्यक्ष बन्नु, अहिले गभर्नर सिफारिस समितिमा मात्रै होइन, गभर्नर नै कांग्रेसको कोटाबाट बन्नु जस्ता दृष्टान्त नै पौडेललाई कांग्रेसी सावित गर्न काफी छन् ।
विश्व पौडेलको नाम गभर्नरमा चर्चामा आउनासाथै रोक्नलाई रिट परेको थियो, तर सरकारकारले कुनै पनि निर्णय नगरिसकेको अवस्थामा मिडियामा समाचार आएकै आधारमा अदालतले रिट स्वीकार गरेन । अब फेरि अर्को रिट पर्याे भने पौडेललाई झट्का लाग्ने निर्णय नआउला भन्न पनि सकिँदैन ।
याे पनि पढ्नुस् : डा. विश्व पौडेल गभर्नर बन्न कानूनत: अयोग्य, मौद्रिक नीतिको विज्ञता पनि छैन

Leave a Reply