मौद्रिक नीति धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछ: नवनियुक्त गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् ।

बालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्दै उनले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारे ।

‘वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ’, उनले भने,‘नियमन र सुपरीवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछ । यसका लागि राष्ट्र बैंकको क्षमता बढाउनुपर्नेछ ।’

बैंक तथा वित्तीय संस्थामा रहेको नागरिको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने उनले बताए ।

त्यस्तै, राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरेर मात्रै निर्णय लिने उनको भनाई छ । ‘नीति निर्माण भनेको संवादमा आधारित हुनुपर्छ । म आफैँ मात्र कुनै प्रस्ताव ल्याएर यसै गरौँ भन्ने पक्षमा छैन । सबै सरोकारवाला निकायहरुसँग छलफल गरेर जान्छौँ’, गभर्नर पौडेलले भने । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टको राजीनामा स्वीकृतको विषय राष्ट्र बैंकको आन्तरिक मामिला भएको धारणा पनि उनले राखे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *