काठमाडौं । अल्पायुमै दिवंगत भएका कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर)को काव्यकृति सार्वजनिक गर्ने तयारी उनका साथीहरूले गरेका छन्। उनका रचनालाई संकलन गरिएको कविता संग्रह ‘कच्ची रोड सँगैका पक्की चोटहरु’ आगामी जेठ १० गते काठमाडौंको सर्वनाम थ्रियटरमा औपचारिक रूपमा विमोचन गरिने भएको हो।
वि.सं. २०५१ साल पुस १० गते बैतडीको शिवनाथ गाउँपालिका–२, शर्मालीमा जन्मिएका भाष्करको निधन गत कात्तिक ९ गते २९ वर्षको उमेरमा भएको थियो। घाँटीको क्यान्सरबाट एक वर्षदेखि पीडित उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित आफ्नै घरमा निधन भएका थिए।
छोटो जीवनयात्रामै नेपाली, डोट्याली र हिन्दी भाषामा कवितामार्फत पहिचान बनाएका उनले थालेको साहित्यिक यात्रा समयसँगै ओझेलमा पर्न नपाओस् भन्ने उद्देश्यले उनका साथीहरूले श्रद्धाञ्जलिस्वरूप उक्त कृति प्रकाशनमा ल्याएका हुन्।
जीवनपानीको सम्पादन, भिष्म प्रसाद उपाध्यायको लेआउट र रसिक राजले डिजाइन गरेको आवरणसहित प्रकाशित यस काव्यकृतिमा कविको संवेदना, युवावस्थाको संघर्ष र समयको चपेटामा परेका भावनाहरू उजागर भएका छन्।
‘कच्ची रोड सँगैका पक्की चोटहरु’ संग्रहमा जीवन, समाज र सम्बन्धका गहिरा पाटोलाई सरल तर गम्भीर भाषामा प्रस्तुत गरिएको छ। कविको लेखनीमा आम मानिसको कथा, ग्रामीण परिवेश र आत्मसंघर्ष स्पष्ट रूपमा झल्किन्छ।
पुस्तकको मूल्य ४९० रुपैयाँ राखिएको छ। कवि प्रचण्ड भाष्करको स्मृतिमा आयोजना गरिने यो विमोचन कार्यक्रमले उनको सिर्जनशीलता साहित्यिक वृत्तमा जीवन्त बनाइराख्ने अपेक्षा गरिएको छ।

Leave a Reply