शहीद र बेपत्ताका आफन्तलाई प्रचण्डको आश्वासन- तपाईँहरूलाई बिर्सेको छैन, क्षतिपूर्ति उपलब्ध गराउँछौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित माओवादी धाराहरूलाई पुनः एकताबद्ध गर्ने प्रयास भइरहेको बताएका छन्।

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्गसँगको भेटघाटमा माओवादी रकारमा रहँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको जानकारी गराए।

उनले शान्ति प्रक्रियासम्बन्धी बाँकी कार्यहरू पूरा गर्न संसदबाट कानुन निर्माण गरिएको र पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने कानुनमै व्यवस्था गरिएको बताए। उनले शान्ति प्रक्रिया टुंग्याउन दुईवटा समिति गठन भइसकेको जानकारी दिए।

पीडितलाई परिचयपत्र दिने प्रक्रिया कानुनमार्फत सुनिश्चित गरिएको र सोही अनुसार ती समितिले काम गर्ने उनको भनाइ छ।
सरकारमा रहँदा माओवादीले देशका पाँच स्थानमा आवासीय विद्यालय स्थापना गरेर शहीद, बेपत्ता र गरीब परिवारका सन्तानलाई शिक्षाको पहुँचमा ल्याउने काम गरेको स्मरण गराए। आफूहरूले पीडितलाई कहिल्यै नबिर्सेको प्रष्ट पारे।

पार्टी एकताको विषयमा प्रचण्डले धारणा राख्दै आगामी जेठ १२ गते नेपा राष्ट्रिय पार्टीसँग पार्टी एकता हुने जानकारी दिँदै बाबुराम भट्टराईसँगको अलग भएर गएका अन्य नेताहरूसँग पनि विचार र सिद्धान्तको आधारमा एकता गर्ने प्रक्रिया अघि बढिरहेको बताए।

पार्टीले आत्मसमीक्षा गर्दै आफ्नो वर्गका जनता, जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूसँग भेट्दै पिर मर्का बुझ्दै र सकेसम्म उनीहरूकै घरमा बस्ने गरेको जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *