काठमाडौं । गृह मन्त्रालयले मंगलबार १ डीआईजीलाई एआईजी र ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्दा भावी प्रहरी नेतृत्वका सम्बन्धमा विभिन्न अड्कल गर्न थालिएको छ ।
डीआईजी बढुवा हुने भनिएको ११२ टोलीका कसैले पनि प्रवेश पाएनन् । नयाँ प्रहरी ऐन जारी हुने, त्यसमा ३० वर्षे सेवा अवधिका आधारमा अवकाशको व्यवस्था नरहने कुराले ११२ सहित त्यसपछिका टोलीमा निराशा छाएको छ ।
राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृतलाई एआईजीमा प्रवेश गर्नै दिनु हुँदैन भन्ने कुरालाई बढुवाले अस्वीकारमात्रै गरेन । डीआईजी बढुवामा त सुदर्शनप्रसाद कोइराला र दिपक रेग्मी सबै राअ टोलीका छन् ।
यसले प्रहरी संगठनको भावी नेतृत्वमा राअबाट प्रवेश गर्नेले मौका पाउने कुरालाई संकेत गरेको छ । यदि त्यस्तो भयो भने प्रहरी संगठनको स्थिति असामान्य ढंगले गुज्रिने कतिपय उच्च अधिकृतले दावी गर्न थालेका छन् ।
विद्यमान व्यवस्थामा कुनै परिवर्तन भएन भने अहिलेका आईजी दीपक थापा भदौ १८ मा अवकास हुन्छन् । त्यसअघि भदौ १४ मा एआईजी कृष्णहरि शर्मा पोखरेल उमेरहदका कारण अवसकाश हुँदैछन् । आईजी थापा अवकाश हुँदा एआईजी टेकबहादुर तामाङ, सुदीप गिरी पनि अवकाश हुन्छन् । यो रिक्तताले दुई एआईजी र तीन डीआईजी दर्जामा बढुवा खुल्छ ।
२०५६।०८।१४ मा प्रहरी निरीक्षक आधारभूत तालिममा छनौट भएको ११२ टोलीबाट डीआईजी बढुवायोग्य १५ जना छन् । तीमध्ये ३० वर्षे सेवा अवधी कायम रही आईजी थापासहितको टोलीले अवकास पाउँदा भदौमा ३ जनाले मात्रै डीआईजी बढुवा पाउँछन् ।
विद्यमान व्यवस्था कायम रहेमा एआईजी चन्द्रकुवेर खापुङ कात्तिक २६ मा अवकास हुँदा एक डीआईजीले एआईजी हुने मौका पाउँछन् र रिक्त हुने डीआईजीमा थप एक बढुवा हुन्छन् ।
नयाँ प्रहरी ऐन चालू आर्थिक वर्षभित्रै जारी गर्ने सकारको प्रतिवद्धता रहे पनि त्यसका प्रक्रियागत सिलसिला पूरा हुने सम्भावना कम हुँदा वर्तमान आईजीसहितका उच्च अधिकृत भदौमा अवकास हुने हुन् । तर, भदौभित्र ऐन जारी भएन भने पनि कात्तिक वा मंसिर पुग्छ ।
संसदमा विचाराधीन प्रहरी विधेयकले गरेको व्यवस्थाअनुसार जागिर खाएको ३० वर्षका आधारमा कसैले पनि अवकाश हुनुपर्दैन । अवकाशका लागि दर्जागत हदबन्दी तोकिएको छ । आईजीका लागि ६० वर्ष उमेर वा ३ वर्ष कार्यकालमध्ये जुन पहिला आउँछ त्यस आधारमा अवकाश हुन्छ ।
एआईजी र डीआईजीका हकमा पनि उमेर ५९ वर्ष र पदको अवधि ३ वर्ष तोकिएको छ । त्यसो हुँदा अहिले बढुवा भएका प्रायः डीआईजी पदोन्नतिको ३ वर्षपछि मात्रै अवकाश हुन्छन् । भदौमा बढुवा पाउने ३ जना डीआईजीबाहेक अरुले उमेरको ५८ वर्षे हद लागु भएर अवकास हुनुपर्ने खतरा छ ।
त्यसमाथि नयाँ ऐन लागू हुँदा ११२ र ११४ टोलीका हकमा ती टोलीका एकाधबाहेक अरुले जागिर खाने कि छाड्ने भन्ने स्थितिमा पुग्नुपर्ने सम्भावना छ । किनभने, माथिल्लो दर्जाका अधिकृतले उमेर र पदावधी गुजार्दा तल्लो दर्जाका अधिृकतको उमेर गुज्रिसक्ने खतरा रहन्छ । कतिपय पदावधि लागेर जान्छन् ।
अझ, अहिलेका एसपी, डीएसपी र इन्स्पेक्टर दर्जाका अधिकृतमध्ये अधिकांश एसपी र बढीमा एसएसपीबाट अवकाश हुनुपर्ने खतरा नयाँ ऐनले सिर्जना गर्दैछ ।
मंगलबारको डीआईजी बढुवाको संकेत हो, ११२ टोलीका अधिकृतमध्ये भदौको बढुवामा जो-जो डीआईजीमा प्रवेश हुन्छन्, तीमध्येबाट एक जनाले १११ वा राअ टोलीपछि आईजीका रूपमा संगठनको नेतृत्व गर्छन् ।
११२ टोलीबाट विश्व अधिकारी,भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर एसएसपी बढुवामा अग्रपंक्तिमा छन् । उनीहरु यसैपटक डीआईजी बढुवाको दाबेदार थिए । तर राअ टोलीलाई अगाडि बढाइएपछि उनीहरुको बढुवा रोकिएको छ ।
तर, २०५८।०४।१८ को आधारभूत प्रहरी निरीक्षक तालिम समूह (११४ टोली) का अधिकांश अधिकृत एसएसपी र बढीमा डीआईजीबाट अवकाश हुने खतरा छ । उक्त टोलीका एसएसपी रमेश थापा अहिलेसम्म अगाडि छन् । उनीपछिका कमल थापा विवादमा मुछिएका कारण पछाडि परेका छन् ।

Leave a Reply