राजमार्गका पुल भाँचिने र सडक भत्किन थालेपछि भन्सारबिन्दुमै भारमिलान गर्न प्रशासनको निर्देशन

रुपन्देही । अत्याधिक भारवहनका कारण सडक संरचना कमजोर हुँदै गएपछि रुपन्देही प्रशासनले भन्सार बिन्दुमै भारमिलान गर्न निर्देशन दिएको छ । अत्यधिक भारवहनका कारण राजमार्गका पुल भाँचिन र सडक भत्किन थालेपछि भन्सार बिन्दुमै भारमिलान गर्न व्यवसायीलाई निर्देशन दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सरोकारवालासहितको बैठकले भारतबाट आउने मालबाहक सवारीसाधनले क्षमताभन्दा बढी तौल ल्याए नल्याएको एकीन गरेर मात्र गन्तव्यमा पठाउने गरी निर्णय गरेको छ ।

बैठकमा भएको निर्णयबारे जानकारी दिँदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले क्षमताभन्दा बढी तौल लिएर आएका सवारीसाधनको भारमिलान गरेर मात्र गन्तव्यमा पठाउने सहमति भएको बताए।

बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय मालबाहक सवारीसाधनका कारण राजमार्ग भत्किनुका साथै केही महिनाको अन्तरालमा दुईवटा पुल भाँचिएपछि रुपन्देही प्रसाशनले ओभरलोड नियन्त्रणमा कडाइ गरेको प्रजिअ घिमिरेले उल्लेख गरे।

जिल्लास्थित सुरक्षा निकाय, यातायात व्यवसायी र सरोकारवालाहरुको उपस्थितिमा बैठक बसी निर्णय गरेर सम्बन्धित निकायमा कार्यान्वयनका लागि परिपत्र गरिएको प्रजिअ घिमिरेको भनाइ छ । उनले भने, ‘बिहीबारदेखि निर्णय कार्यान्वयन प्रक्रियामा कडाई गर्छौं ।’

निर्देशन कार्यान्वयन गर्न असहज: उद्योगी–व्यवसायी

भारतबाट ढुवानी लिएर नेपाल प्रवेश गर्ने सवारीसाधनलाई भन्सार कार्यालय परिसरमा नै भारमिलान गर्ने निर्देशन कार्यान्वयन गर्न सहज नरहेको उद्योग व्यवसायीहरुको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले गरेको निर्णय एकतर्फी र अव्यवहारिक भएका बताए । भैरहवा भन्सार एजेन्ट संघ, रुपन्देहीका अध्यक्ष मधुप्रसाद पन्थीले प्रमुख जिल्ला अधिकारीको निर्देशन अव्यवहारिक भएको बताए ।

नेपाल भन्सार एजेण्ट महासंघका पूर्व सचिव तथा सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरेले के अब भन्सारमा राजस्व फारम भर्न पनि ढुवानी व्यवसायीलाई सोध्नपर्ने हो रु भन्दै प्रमुख जिल्ला अधिकारीलाई प्रतिप्रश्न गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *