काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसी ६ दिनदेखि प्रहरी हिरासतमा छन् । उनलाई साइबर क्राइमको कसुरमा गत शुक्रवार पक्राउ गरेको थियो ।
सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाको विरुद्ध स्टाटस लेखेको आरोपमा केसीलाई पक्राउ गरिएको हो ।
केही दिनअघि केसीले फेसबुकमा लेखेका थिए, ‘कालो धनलाई सेतो बनाउने प्रपञ्च, शेरबहादुर देउवा र आरजु देउवाका सुपुत्र जयवीरसिंह देउवाले हिल्टन होटल किनेका छन् ।’
देउवापुत्रले हिल्टन होटल किनेको भनेर केही मिडियामा समाचारहरू आएका थिए । त्यसैका आधारमा केसीले आलोचनात्मक स्टाटस लेखेका हुन् । पछि हिल्टनका सञ्चालकले यो समाचारको खण्डन गरेका छन् । समाचार सही हो वा गलत भन्ने स्वतन्त्र पुष्टि भएको छैन ।
सञ्चारमाध्यममा आएका समाचारमा लेखिएको सामान्य आलोचनात्मक टिप्पणीमा पक्राउ गरेर सरकारले अधिनायकवादी शैली देखाएको भन्दै राप्रपाले विरोध जनाइरहेको छ ।
केसी पत्रकार समेत हुन् । उनी राष्ट्रिय समाचार नाम अनलाइन सञ्चालन गर्छन् । पत्रकार महासंघले पक्राउको निन्दा गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अर्कै प्रयोजनका लागि बनेको कानुन प्रयोग गरेर पत्रकारलाई पक्राउ गरिनेलाई महासंघले अत्यन्न निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा लिएको छ ।’
यसैबीच केसीलाई गैरकानूनी थुनाबाट मुक्त गर्न भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाइ हुने भएको छ । न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनवाइ हुन लागेको हो । हिजो पेशी तोकिएको भए पनि सुनवाइ स्थगित भएको थियो ।
यसअघि केसीलाई पक्राउ गर्नाका कारण, प्रतिवेदन र कागजाजसहित २४ घण्टाभित्र सशरीर भौतिक रूपमा उपस्थित गराउन सर्वोच्च अदालतले विपक्षीका नाममा आदेश जारी गरेको थियो ।

Leave a Reply