काठमाडौं । ब्राइटनका प्रतिस्थापन खेलाडी ज्याक हिन्सेलवुडले अन्तिम समयमा विजयी गोल गरेका छन्, जसले गर्दा घरेलु टोलीले लिभरपुललाई ३-२ गोलले पराजित गर्दै युरोपेली फुटबल खेल्ने आशा कायम राखेको छ । दुई गोलले पछि पर्दा पनि उसले बराबरी गर्न सफल भएको छ ।
यदि चेल्सीले कन्फरेन्स लिग जित्छ भने आठौं स्थानमा रहेको टोलीले युरोपेली फुटबल खेल्ने मौका पाउनेछ । ब्राइटनले नवौं मिनेटमा हार्वी इलियटले गरेको गोलले पछि पर्नुपरेको थियो, तर ३२ औं मिनेटमा मध्य पंक्तिका यासिन आयारीले बराबरी गोल गरे ।
पहिलो हाफको अतिरिक्त समयमा डोमिनिक स्जोबोस्ज्लाइले गोल गर्दा ब्राइटन फेरि पछि पर्याे, तर म्यानेजर फेबियन हुर्जेलेरे दोस्रो हाफमा सही परिवर्तन गरेर खेलको मोड बदल्न सफल भए ।
६४औं मिनेटमा मैदान प्रवेश गरेका जापानी विङर काओरु मितोमाले ४ मिनेटमै बराबरी गोल गरे । ड्यानी वेलबेकको प्रहारपछि रिबाउन्डबाट उनले गोल गर्न सफल भए ।
वेलबेकले धेरै अवसर गुमाए, तर लिभरपुलले अप्रिल २८ मा उपाधि जितेपछि निराशाजनक प्रदर्शन गर्याे । ब्राइटनले विजयी गोलको लागि प्रयास जारी राख्यो, जसले गर्दा अन्य नतिजाअनुकूल भएमा उसले युरोपेली फुटबल खेल्नसक्छ।
८४औं मिनेटमा मैदान प्रवेश गरेका २० वर्षीय हिन्सेलवुडले म्याटओ’राइलको पासबाट एक मिनेटपछि विजयी गोल गरे । सुरुमा गोल अफसाइड भनेर रद्द भएको थियो, तर लामो भीएआर जाँचपछि गोल मानियो ।
यसले गर्दा ब्राइटन ३७ खेलमा ५८ अंकका साथ आठौं स्थानमा पुग्यो, जुन ब्रेन्टफोर्डभन्दा ३ अंक र फुलह्यामभन्दा ४ अंकले अगाडि हो । बोर्नमाउथ एक खेल कमसाथ १ अंक पछि छ ।
‘बेन्चबाट आएर म खेलमा असर पार्न र पूरा मेहनत गर्न चाहन्थें’, हिन्सेलवुडले भने, ‘बल उत्तिकै राम्रो आयो, मैले छोएर गोल गरें । गोल मानिने समयमा धेरै चिन्ता भयो, तर मानिएपछि राहत महसुस भयो ।’
ब्राइटनले आइतबार आफ्नो अन्तिम खेलमा टोटेनह्याम हटस्परलाई भेट्नेछ, जबकि लिभरपुलले एनफिल्डमा प्रिमियर लिग उपाधि ग्रहण गर्नेछ । उसले अन्तिम खेलमा एफए कप विजेता क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ ।
‘हामी उत्सवमा धेरै नबहक्ने प्रयास गर्छौं, हामीले पूरा मेहनत गरेका छौं, हामी जित्न र मज्जा लिन चाहन्छौं’, लिभरपुलका गोलकर्ता इलियटले भने, ‘यस खेलबाट सकारात्मक पक्ष लिएर अन्तिम खेलमा प्रयोग गर्नुपर्छ ।’

Leave a Reply