लोमान्थाङमा ज्येष्ठ नागरिकको स्याहारसम्बन्धी दिइयो तालिम

पोखरा । उत्तरी (उपल्लो) मुस्ताङस्थित लोमान्थाङमा महिला स्वास्थ्य स्वयंसेविकालाई ज्येष्ठ नागरिक स्याहारसम्बन्धी तालिम दिइएको छ ।

नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी) ले स्वीट्जरल्यान्डस्थित कलश फाउन्डेसनको सहयोगमा गत वैशाख ३० र ३१ गते उक्त तालिमको आयोजना गरेको हो । समुन्द्री सतहबाट ४ हजार मिटरको उचाईमा अवस्थित लोमान्थाङ गाउँपालिका उच्च हिमाली क्षेत्र हो ।

तालिमअन्तर्गत सामाजिक विज्ञान विभागका निर्देशक तथा अनुसन्धान परियोजनाका प्रधान अन्वेषक डा.तुलसी आचार्यको नेतृत्वमा सञ्चालन भइरहेको एक परियोजनाको महत्वपूर्ण भाग हो।

यस परियोजनाले लोमान्थाङ गाउँपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकको जीवनस्तर मूल्याङ्कन गर्न जनसङ्ख्यामा आधारित सर्वेक्षण गर्ने उद्देश्य राखेको छ।

तालिममा गाउँपालिकाका पाँचै वडाबाट २७ महिला स्वास्थ्य स्वयंसेविका, अनुसन्धान सहायक तथा स्थानीय सरकारी अधिकारीहरूको सहभागिता थियो। चिकित्सक तथा परियोजना प्रबन्धक डा। पुष्पमणि खराल र प्रशासन अधिकृत तथा सहअनुसन्धानकर्ता सुरज पराजुली प्रमुख प्रशिक्षक थिए।

तालिमका क्रममा आकस्मिक स्वास्थ्य स्थितिप्रति सचेतता अपनाउने विधिबारे जानकारी गराइएको थियो । श्वास फेर्न गाह्रो हुने, मुटुको आघात, पिसाब रोकिने, पेट दुख्ने लगायतका विषयमा गर्नुपर्ने प्राथमिक उपचारबारे जानकारी गराइएको हो ।

तालिममा शारीरिक तथा मानसिक स्वास्थ्य संकेतकबारे जानकारी दिइएको थियो । त्यसअन्तर्गत अनुहारको भाव, शारीरिक चालढाल, छालाको रंग, चेतनशीलता, थकाइजस्ता विषय थिए ।

बेसिक लाइफ सपोर्टअन्तर्गत कार्डियोपल्मोनरी रिससिटेसनको अभ्यास गराइएको थियो । तालिममा सहभागी ज्येष्ठ नागरिकले आ–आफ्नो जीवनका अनुभव प्रस्तुत गरेको र उनीहरुबाट सिक्न अनुसन्धान गर्नु अत्यन्त जरुरी रहेको सहअनुसन्धानकर्ता सुरज पराजुलीले बताए ।

उक्त परियोजनामार्फत ज्येष्ठ नागरिकको जीवनको गुणस्तर बुझ्न र नीति निर्माणमा उपयोगी सिफारिस तयार गर्ने लक्ष्य लिएको उनले बताए ।
कलश फाउन्डेसनकी अध्यक्ष डा. सेरेना हार्टम्यानले स्वयंसेविकाको प्रतिबद्धता र ज्येष्ठ नागरिकप्रति समर्पणको प्रशंसा व्यक्त गरिन्।

लोमान्थाङ गाउँपालिकाका जनस्वास्थ्य संयोजक श्री तेन्जिङ नोर्बु गुरुङले उच्च हिमाली क्षेत्रमा नीति निर्माणको लागि अनुसन्धानको आवश्यकता झल्किएको बताए। गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले उक्त अनुसन्धान परियोजनामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *