काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई घण्टा भन्दा बढी टेलिफोनमा कुराकानी गरेका छन्। उनीहरूले युक्रेन मुद्दा र व्यापारिक पक्षमा छलफल गरेको बताइएको छ। बेलायती विश्व च्यानल बीबीसीका अनुसार, रुसी मिडियाले उक्त कुराकानी खुला र सूचनात्मक भएको जनाएको छ।
युक्रेनको रक्तपात अन्त्य गर्न टेलिफोन संवाद गरिएको बताउँदै ट्रम्पले पुटिनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य नेटो सदस्यहरूसँग पनि कुराकानी गर्ने बताएका छन्।
दुई घण्टा भन्दा बढीको कुराकानी भए तापनि त्यसको ठोस नतिजा के आयो भन्नेबारे कुनै पक्षले सार्वजनिक गरेको छैन।
गत शुक्रवार टर्कीको राजधानी इस्तानबुलमा रुस र युक्रेनी उच्च अधिकारीहरूले युद्ध सुरु भएको तीन वर्षपछि पहिलोपटक आमनेसामने कुराकानी गरेका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबिओ समेत सहभागी भएको उक्त संवादपछि ट्रम्प र पुटिनबीच टेलिफोन संवाद भएको हो।

Leave a Reply