अद्भूत अक्षरधामः अभूतपूर्व आनन्द

एउटा भनाइ छ– ‘धर्म आत्माको यात्रा हो ।’ अर्को भनाइ पनि छ– धर्मको गहिराइ तब मात्र थाहा हुन्छ, जब तिमी आफैंभित्र पस्छौ ।’ आत्माको यात्रामा निस्किएर धर्मको गहिराइ बुझ्ने ताकत त मैले कति नै राख्न सक्छु र ! तर जब म भारतको राजधानी दिल्लीको स्वामीनारायण अक्षरधाम मन्दिर पुगेँ, अनि महसुस भयो– धर्म, संस्कृतिको गहिराइ र आत्माको यात्राको अर्थ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किँदा देखिने दिल्लीका व्यस्त सडकहरू, तेज गतिमा चल्ने गाडीहरू, ठूल्ठूला गगनचुम्बी भवनहरू, हतारिएका मानिसहरू…। लाग्छ, यहाँ न कसैलाई कसैको प्रवाह छ न त कसैलाई फुर्सद नै ।

के खोजी गर्छन् ? अनि कता हिँडेका हुन् ? हतास मानसिकतामा दौडिरहेको शहर समयभन्दा पनि हतारमा देखिन्छ । यस्तो व्यस्त शहरबीच एउटा मन्दिर छ, जहाँ समय पनि रोकिएको महसुस हुन्छ । त्यो ठाउँ हो— स्वामीनारायण अक्षरधाम मन्दिर । यो केवल एक मन्दिर होइन, यो एक विचार हो, एक दर्शन हो, एउटा संस्कृतिको जीवित संरचना हो, जसले हजारौं वर्ष पुरानो हिन्दू सभ्यता र जीवनशैलीलाई आधुनिक युगसँग जोडिदिएको छ ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट २१.९ किलोमिटरको दूरीमा रहेको यो मन्दिरमा प्रवेश गर्ने जो–कोहीले पनि एक निमेष नै किन नहोस्, आफूलाई नै बिर्सिन्छ । मलाई पनि त्यही भयो । बिर्सिए आफूलाई । मन्दिरको भव्यता, शान्ति र आध्यात्मिकताले पहिलो नजरमै स्तब्ध भएँ म । मन्दिरभित्र पसेपछि ‘त्यो सुगन्ध’१ चन्दनको, धूपको र थोरै टल्किएको घिउबत्तीको मिश्रण– मलाई सीधै मेरो बाल्यकालतर्फ लग्यो । जहिले बिहान उठेर आमाले पूजाकोठामा बाल्ने धुपको सुगन्ध सम्झिएँ । अनि आँखा चिम्लिएँ र शान्तिको एक गहिरो अनुभूति भयो । मानौं सबै चिन्ता, तनाव, दौडधुप एकैचोटी हरायो ।

मन्दिरभित्र पसेपछि ‘त्यो सुगन्ध’१ चन्दनको, धूपको र थोरै टल्किएको घिउबत्तीको मिश्रण– मलाई सीधै मेरो बाल्यकालतर्फ लग्यो । जहिले बिहान उठेर आमाले पूजाकोठामा बाल्ने धुपको सुगन्ध सम्झिएँ । अनि आँखा चिम्लिएँ र शान्तिको एक गहिरो अनुभूति भयो ।

करिब १०० एकड क्षेत्रमा फैलिएको यो मन्दिर सन् २००५ नोभेम्बर ६ मा सार्वजनिक रूपमा उद्घाटन गरिएको थियो । संसारकै सबैभन्दा विशाल हिन्दू मन्दिर परिसरमध्ये एक अक्षरधाम मन्दिर, बोचासनवासी अक्षर पुरुषोत्तम संस्थान (बीएपीएस)ले स्वामीनारायण सम्प्रदायको संस्थापक भगवान स्वामीनारायणको स्मृतिमा निर्माण गरेको हो । २३ हजार शिल्पकलायुक्त पत्थर, हजारौं शिल्पित मूर्ति, अनि एकदमै विशुद्ध मौलिक भारतीय वास्तुकला ! कुनै पनि फलाम नरहेको यो मन्दिर निर्माणमा शुद्ध राजस्थानी गुलाबी पत्थर र इटालियन काँचो मार्बलको प्रयोग गरिएको छ ।

जब म भगवान स्वामीनारायणको मूर्तिसामु पुगें तब त्यसले संसारलाई शान्त र स्थिरताको गहिरो सन्देश प्रवाह गरिरहेको अनुभूति भयो । मन्दिरको मध्य भागमा स्थापित ११ फुट अग्लो मूर्ति, जसलाई सुनौलो रंगले झन् दिव्य बनाएको छ । त्यसको चारैतिर राम–सीता, राधा–कृष्ण, शिव–पार्वती र गणेशका मूर्तिहरू छन् । ती मूर्तिहरू यति जीवन्त छन्, मानौं ती मूर्तिहरू बोल्छन् । अनि केही आशीर्वाद दिन्छन् भन्ने आस्थाको अनुभूति भयो । परिसरभित्र यज्ञपुरुष कुण्ड छ, जुन संसारकै सबैभन्दा ठूलो चरणयुक्त जलकुण्ड हो ।

त्यहाँ एउटा संग्रहालय पनि छ– सहजानन्द दर्शन । यो संग्रहालय भगवान स्वामीनारायणको जीवन, विचार र कार्यलाई अडियो-भिडिओ माध्यममार्फत प्रस्तुत गर्छ । त्यहाँ पुगेपछि लाग्यो– धर्म केवल पूजापाठ होइन रहेछ, धर्म त समाज सेवा, निष्ठा र कर्म पनि रहेछ । स्वामीनारायणले शिक्षा, महिला सशक्तीकरण, व्यसनमुक्ति, सेवा र सदाचारको मार्ग देखाउनुभएको छ । मन्दिर परिसरमा रहेको आनन्द वाटिका, हरियाली, पुष्पहरू, मूर्तिकलाहरू …। यी सबैले कुनै धार्मिकस्थल होइन, कुनै दिव्य संसारमा पुगेको महसुस गराउँछ । त्यहाँ बस्दा म एक बालक झैँ निश्चल, अचम्मित र मुग्ध भएँ ।

 

अक्षरधाम दिल्लीमै मात्र सीमित छैन । आज यो सम्प्रदायले संसारका ७५ भन्दा बढी देशमा १ हजार १०० भन्दा बढी मन्दिर निर्माण गरिसकेको छ । अमेरिकाको न्यू जर्सी, युनाइडेट किङ्डमको नेस्डेन, केन्याको नैरोबी, अस्ट्रेलियाको मेलबर्नदेखि यूएईको दुबईसम्म अक्षरधामको मन्त्र र सुगन्ध फैलिएको छ । हरेक मन्दिरमा एउटै सन्देश– सेवा नै धर्म हो, आस्था नै शक्ति हो ।

त्यहाँ एउटा संग्रहालय पनि छ– सहजानन्द दर्शन । यो संग्रहालय भगवान स्वामीनारायणको जीवन, विचार र कार्यलाई अडियो-भिडिओ माध्यममार्फत प्रस्तुत गर्छ । त्यहाँ पुगेपछि लाग्यो– धर्म केवल पूजापाठ होइन रहेछ, धर्म त समाज सेवा, निष्ठा र कर्म पनि रहेछ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स सन् २०२५ अप्रिल २१ देखि २४ सम्मको भारत भ्रमणका क्रममा सपरिवार अक्षरधाम पुगेका थिए । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कम टर्नबुल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो मन्दिरको भ्रमण गरिसकेका छन् । एक हिन्दू मन्दिरको प्रतीकको रूपमा रहेको अक्षरधाममा हरेक धर्म मान्ने राष्ट्रको उच्च ओहोदाका व्यक्तिहरूले भ्रमण गरेका छन् । यो हाम्रो परम्पराको, शक्तिको स्वीकारोक्ति पनि हो । हाम्रो धर्म आधुनिकताको शत्रु होइन, त्यो त त्यसको आधार हो भन्ने महसुस भयो ।

सयौं मानिसले मन्दिरको भ्रमण गरिरहेको भए पनि त्यहाँ पूर्ण शान्ति थियो । मनको आवाज, आत्माको कोलाहलसमेत सुन्न सकिन्थ्यो । यस्तो शान्ति मैले जीवनमा कमै अनुभव गरेको छु । मैले सोचें– हामी सधैं अगाडि दौडिरहन्छौं, तर कहिलेकाहीं थोरै समय निकालेर यस्ता पवित्रस्थलमा पुगेर आत्मालाई पनि त सुन्न आवश्यक छ । अक्षरधामले मलाई त्यसको अवसर दियो । यसले मलाई सम्झायो– धर्म कुनै बोझ होइन, त्यो त आत्माको वास्तविक अभिव्यक्ति हो ।

अक्षरधाम मन्दिर कुनै पर्यटकीय स्थल मात्र होइन, त्यो त एक चैतन्य स्थल हो– जहाँ शरीर विश्राम गर्छ, आत्मा बोल्न थाल्छ । मन्दिरबाट निस्केपछि मैले ढोकामा फर्केर फेरि एक पटक हात जोडेँ । यो प्रार्थना थिएन न माग नै । केवल एउटा कृतज्ञता थियो । कृतज्ञता यस्तो स्थल निर्माण गर्ने ती हातहरूलाई, जसले केवल एक मन्दिर बनाएका होइनन्, हामी सबैलाई आत्मा भेट्ने एउटा द्वार दिए । अक्षरधामको त्यो शान्ति मसँगै ल्याउन सक्दिनँ, तर त्यहाँबाट ल्याएको त्यो अनुभूति भने जीवनभर साथ रहनेछ । अक्षरधामको त्यो शान्ति, त्यो मौनता, त्यो दिव्यता मभित्र अझै बाँचिरहेको छ । साँच्चै भन्ने हो भने अक्षरधाम केवल मन्दिर होइन, त्यो त आफैँसम्म पुग्ने एउटा माध्यम हो । त्यो त एउटा स्मृति हो— हाम्रो विगतको, हाम्रो धर्मको र सम्भवतः हाम्रो भविष्यको पनि ।

तस्बिरहरु : स्वामीनारायण अक्षरधाम, नयाँ दिल्ली

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *