विवाहित महिलासँग प्रेम गर्दा मारिएका थिए अरविन्द, चप्पलबाट खुल्याे पाेल

जनकपुरधाम । सर्लाहीको चन्द्रपुर गाउँपालिका १ किसनपुरका २८ वर्षीय अरविन्द कुमार पण्डित विवाहित महिलासँग प्रेम गरेकै कारण मारिएको रहस्य खुलेको छ ।

इश्वरपुर नगरपालिका ८ स्थित उखु खेतमा वैशाख ३० मा पण्डित मृत फेला परेका थिए । उनको हत्या वैशाख २८ गते बिहान करिब ९ बजे भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पण्डितको हत्यामा संलग्न ६ जनालाई सर्लाही प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका ६ का ४३ वर्षीय मो. हुसेन मोमिन, सोही ठाउँका ४० वर्षीय सुयव अंसारी, २५ वर्षीय आलम अंसारी र ५४ वर्षीय सलाउद्दिन अन्सारी, २९ वर्षीय मोस्तकिम अंसारी र उनकी श्रीमती २५ वर्षीया नजिमा खातुन रहेका छन् ।

प्रहरीका अनुसार मृतक पण्डित र पक्राउ परेकी नजिमाबीच प्रेम सम्बन्ध थियो । पण्डितले नजिमालाई ०८१ चैत १९ गते भगाएर भारत लगेका थिए ।

उनीहरु बिहान नेपाल आएपछि गाउँमा पञ्चायत बसेको थियो । स्थानीय पञ्च, भद्र भलादमीले नजिमालाई श्रीमानसँगै बस्ने वातावरण बनाए । त्यसपछि पनि पण्डितले नजिमालाई पटक–पटक घरमा आवतजावत गर्ने गरेकै कारण उनको हत्या गरिएको अभियुक्तहरुले प्रहरी समक्ष बयान दिएका छन् ।

मृतक पण्डितले वैशाख २८ मा नजिमालाई भेट्न फुलजोर बाबा मन्दिर नजिक बोलाएका थिए । सो कुरा थाहा पाएपछि नजिमाका श्रीमान केही व्यक्तिलाई लिएर पछ्याए र मन्दिर नजिकैबाट पण्डितलाई नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

ईश्वरपुर नगरपालिका ८ फुलजोरमै पण्डितको हत्या गरी उनको शव सिसोको फेदमुनी झारपातले छोपेर अभियुक्तहरु घरतर्फ लागेका थिए । पछि घटना ढाकछोप गर्न वैशाख २९ गते राति अभियुक्तहरु त्यहाँबाट शव उठाएर थकरिया चौरीस्थित उखु बारीमा फालेको थियो ।

मृतकको चप्पल मोमिनले लगाएपछि खुल्यो हत्याको पोल

मृतक पण्डितको चप्पल अभियुक्तले लगाएपछि हत्याको पोल खुलेको प्रहरीले जनाएको छ । अभियुक्त मो. हुसेन मोमिनले मृतक पण्डितको चप्पल लगाएका थिए ।

मोमिनले लगाएको चप्पल मृतकका बुबाले पहिचान गरे । त्यसपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । उनकै वयानका आधारमा घटनामा संलग्न अन्य ५ जना पक्राउ परेको र उनीहरुमाथि कर्तव्य ज्यान कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *