सुर्खेत । २०८२ जेष्ठ ५ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैलेख पुगे । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा उनले दैलेख बजारस्थित डेकेन्द्र चोकमा रहेको पत्रकार डेकेन्द्र थापाको सालिकमा फूलमालासहित माल्यार्पण गरे । माल्यार्पणअघि उनी थापाको घर पुगे, आमासँग भेटघाट गरे । उनले हत्या प्रति आत्मालोचना जनाउँदै गल्ती स्वीकारे ।
तर, सामाजिक सञ्जालमा तीव्र आलोचना भयो- के केवल माल्यार्पणले पीडाको मलम लगाउँछ ? के आत्मालोचना पर्याप्त हो ? धेरैले प्रश्न उठाए- दश वर्षे जनयुद्धका घाउहरू अझै ताजा छन् । द्वन्द्वका पीडितहरू अझै न्यायको प्रतीक्षामा छन् ।
यता थापाको श्रीमतीलाई एकपटक पनि नसोधेर नै प्रचण्डले माल्यार्पण गरेको मृतक थापाको श्रीमती लक्ष्मी थापाले नेपाल प्रेसलाई जानकारी दिइन् ।
उनले भनिन्, ‘उहाँले एकपटक उहाँको श्रीमती छोराछोरी कहाँ छन् भनेर सोध्नु भयो कि भएन ? थापाका छोराछोरी कत्रा भए भनेर सोध्नु भयो कि भएन ? उनीहरुले कहाँ के गरिरहेका गरिरहेका छन् बुझ्नु भयो की भएन ? यहीँ कुरा मेरो मनमा खेलेको छ । जसले मेरो श्रीमानको हत्या गर्याे उसैले आज सन्चो हुन् लागेको घाउ कोट्याइदिएका छन् ।’
प्रचण्डले माल्यार्पण गरेको आफूलाई जानकारी नै नभएको उनको भनाइ छ । जेठाजु माओवादी पार्टीमा भएका कारणले गर्दा प्रचण्डले यो माल्यार्पण गरेको हुन् सक्ने उनले बताइन् ।
‘यतिका समय बित्यो संर्घषपूर्ण जिन्दगी बिताएँ’, उनले भनिन्, ‘२६ वर्षको उमेरमा एकल भएँ । छोराछोरीलाई संघर्ष गरेर पढाएँ हुर्काएँ । सबैभन्दा दुःख त श्रीमती र छोराछोरीले भोगेका होलान् । यो कसैले सोध्यो होला कि नाई ?’
थापाको हत्या माओवादी मिलिसियाको नियन्त्रणमा रहँदा यातना दिइ भएको थियो । चार वर्षपछि जंगलको भीरको खोंचमा गाडिएको अवस्थामा शव भेटियो । मानव अधिकारकर्मी र सुरक्षाकर्मीले खाल्डो खनेर अस्थिपञ्जर निकाल्दाकाे दृश्य विभत्स थियाे ।
उनको हत्या प्रेस स्वतन्त्रता, मानव अधिकार र सामाजिक न्यायमाथिको प्रहार भएकाे भन्दै सराेकारवालाहरुले आवाज उठाउँदै आएका छन् ।
यसरी भएकाे थियाे हत्या
नेपालको १० वर्षे सशस्त्र द्वन्द्वमा थुप्रै निर्दोष नागरिकहरूले ज्यान गुमाए । तिनैमध्ये एक थिए-दैलेखका पत्रकार डेकेन्द्रराज थापा । उनी केवल पत्रकार मात्र थिएनन्, एक समाजसेवी, एक अभियन्ता र आफ्नो समुदायप्रति समर्पित एक सचेत नागरिक पनि थिए । तर, २०६१ सालमा उनी माओवादी मिलिसियाबाट अपहरणमा परे, कुटपिट गरिनुका साथै अमानवीय यातनापछि हत्या गरिएको थियो ।
डेकेन्द्र थापा रेडियो नेपालका संवाददाता थिए । सँगै, उनले दैलेख बजार खानेपानी उपभोक्ता समितिको अध्यक्षको रूपमा जिल्लाको खानेपानी समस्याको समाधान गर्न अगुवाइ गरेका थिए ।
उनले विभिन्न सामाजिक काममा सक्रिय भूमिका खेलेका थिए र जनताको आवाज बनिरहेका थिए । यसले उनलाई जनस्तरमा लोकप्रिय मात्र बनाएन् राज्य र विद्रोही दुवैतर्फ नजर गाड्ने पात्र पनि बनायो ।
२०६१ असार १२ गते थापा र उनका सहकर्मीहरू माओवादी नियन्त्रणमा रहेको क्षेत्रमा खानेपानी समस्याको समाधानका लागि वार्ताका उद्देश्यले गएका थिए ।
तर, माओवादी कार्यकर्ताहरूले थापालाई अपहरण गरे । ४५ दिनपछि, २०६१ साउन २७ गते उनलाई नौमुले गाउँपालिका–३ द्वारीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा यातना दिइ हत्या गरियो । उनको शव चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।
उनीमाथि आरोप थियो राज्य पक्षको समर्थक हुनु । तर, उनका सहकर्मीहरूले बताएअनुसार उनी सर्वसाधारणको प्रतिनिधि थिए । चार वर्षपछि उनको शव भीरको खोंचमा गाडिएको अवस्थामा फेला पर्यो । शव उत्खनन गर्दा मानव अधिकारकर्मी, पत्रकार र सुरक्षाकर्मीहरू दु:ख व्यक्त गरेका थिए ।
डेकेन्द्रको हत्या नेपाल पत्रकारिताको इतिहासमा कालाे धब्बाका रूपमा लिइँदै आएकाे छ । राज्य र विद्रोही दुवैको आलोचनासहित थापा सधैं निष्पक्ष पत्रकारिताको अभ्यासमा संवेदनशील हुने सहपाठीहरू सम्झिन्छन् ।
२०६५ सालमा उनकी पत्नी लक्ष्मी थापाले दैलेख जिल्ला प्रहरी कार्यालयमा नौ जनाविरुद्ध किटानी जाहेरी दिइन् ।
चार वर्षसम्म न्यायप्राप्तिको बाटो अवरुद्ध जस्तै रह्यो । अन्ततः २०६९ मा पाँच जना पक्राउ परे र २०७१ मा जिल्ला अदालतले सजाय सुनायो । पछि उनीहरुलाई अदालतले दोषी ठहर गरेको थियो ।
हत्यामा संलग्न तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । जसमा दुल्लू नगरपालिका–६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्का रहेका थिए ।
तर, प्रमुख अभियुक्तहरू वर्षौंसम्म फरार रहे । २०८१ सालमा तिनै अभियुक्तलाई जन्मकैद र अन्य एक जनालाई तीन वर्षको कैद सजाय तोकिएको थियो । तर न्यायप्रणालीको ढिलाइ, राजनीतिक हस्तक्षेप र कमजोर राज्य इच्छाशक्तिले थापाका परिवारलाई वर्षौंसम्म थप पीडामा राख्यो ।
डेकेन्द्रकी पत्नी लक्ष्मी हाल वीरेन्द्रनगर नगरपालिका कार्यालयमा काम गर्छिन् । उनी एक दृढ र साहसी महिला हुन्, जसले श्रीमानको विभत्स हत्या सहेर पनि छोराछोरीको पालनपोषण गरिन् । अहिले छोरीहरू मध्ये ठूलो छोरी पनि सिभिल इन्जिनियरिङ र सानो छोरी बिएससी नर्सिङ पढाइ सकेर अमेरिकामा छन्, छोरा सिभिल इन्जिनियरिङ अध्ययनरत छन् ।

Leave a Reply