सिन्धुपाल्चोक । भ्रष्टाचार मुद्दामा मुछिएपछि सांसदबाट निलम्बित कांग्रेस नेता मोहनबहादुर बस्नेत आज तामझामसहित सिन्धुपाल्चोक आए । मोटरसाइकल, गाडीको लावालस्कर र कार्यकर्ताको नाराबाजीसहित लिसंखुपाखर गाउँपालिका आएका हुन् ।
गाउँपालिकाको चेतावनीविपरीत बस्नेतले वडा नम्बर २ को निगाले नारगाउँ खानेपानी उद्घाटन गरेका छन् ।
टेरामक्स प्रकरणको ३ अर्ब २१ करोड बढी भ्रष्टाचार मुद्दामा मुछिएका बस्नेतलाई कांग्रेस कार्यकर्ताले ‘मोहन बस्नेत-जिन्दावाद’ भन्दै विजयोत्सव मनाएजसरी स्कटिङ गरेर ल्याएका थिए । उनले माओवादी, एमाले र ती दलका जिल्लाका नेताविरुद्ध आगो ओकलेका छन् ।
झण्डै एक घण्टा बोलेका बस्नेतले आफूविरुद्ध अख्तियारले हालेको मुद्दाबारे भने केही बोलेनन् । अन्य वक्ताहरूले भने उनको बचाउमा बोलेका थिए ।
उनले बढीजसो माओवादी र १ नम्बर क्षेत्रबाट निर्वाचित सांसद माधव सापकोटाको आलोचनामा बढी समय खर्चिए । बस्नेतले यो पटक सासंद सापकोटालाई ‘लाहुरे’ उपमा दिन भ्याए ।
लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाको विज्ञप्ति लक्षित गर्दै बस्नेतले भने, ‘त्यो सुवोध भन्ने लाहुरेले विज्ञप्ति निकाल्न लगाएको होला ।’
बस्नेतले माओवादी कार्यकर्ताहरूलाई गाली गर्दै भने ‘माओवादीका छाउराहरूले धेरै फुर्ती नलगाए हुन्छ । तीन बिसौलीका माओवादीका बो..हरूलाई म आफैँ अघि बढेर ठिक पार्छु’,
बस्नेतले पृथ्वीनारायण शाहाको उदाहरण दिँदै भने, ‘मेरो दुवै पैतालामा रातो कोठी छ, म जहाँ-जहाँ टेक्छु, त्यो सबै मेरै हुन्छ र सिन्धुपाल्चोकमा पनि भएको छ ।’
क्षेत्र नम्बर १ र कुनै स्थानीय तहमा अब माओवादीले नजित्ने बस्नेतको ठोकुवा छ ।
‘अहिले तीनवटामा अध्यक्षमात्रै जितेको छ । अर्को पटक माओवादी पत्तासाफ हुन्छ । सिन्धुपाल्चोकको नेता भनेकै ममात्रै हो, अरु सबै सकिए’, बस्नेत गर्जिए ।

Leave a Reply