काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको प्रकरणमा आफू नेतृत्वको सरकारले बालकोट र बुढानीलकण्ठलाई पनि नछोड्ने देखेपछि कांग्रेस र एमाले मिलेको दाबी गरेका छन् ।
जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत जाजरकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार नढलेको भए केही दिनभित्रै कांग्रेस र एमालेका शीर्ष नेताहरू भ्रष्टाचार केसमा पक्राउ गर्ने तयारी रहेको सुनाए।
उनले भने, ‘हामीले आरोप मात्रै लगाएका थिएनौं। हाम्रो सरकार नबदलेको भए केही दिनभित्र हामी नै गिरफ्तार हुन्थ्यौ, भ्रष्टाचारको केसमा, माओवादीले गर्नेवाला थियो भनेर कांग्रेस र एमालेकै नेताहरूले स्वीकारिसकेपछि हामीलाई किन षड्यन्त्र गरेर हटाइयो भन्ने तथ्य स्थापित भइसकेको छ। चोरको खुट्टा तान् भन्दाखेरि तानेर भ्रष्टाचारको आरोपबाट बच्न मात्रै यो सरकार बनेको हो भन्ने कुरा प्रस्ट रूपमा साबित भइसकेको छ।’
अध्यक्ष प्रचण्डले सरकार बदल्नुको कारण कांग्रेस-एमालेको डर नै भएको बताए।
उनले थपे, ‘माओवादी नेतृत्वको सरकारले बालकोट र बुढानीलकण्ठलाई पनि छोड्दैन भन्ने लागेपछि नै डरले काम्दै तिनीहरूले यो षड्यन्त्र गरेको हो।’
उनले अहिले आफूहरू विगतको कमीकमजोरी सच्याएर जनताको आएको भन्दै आफूहरूलाई अवसर दिन आग्रह गरे।

Leave a Reply