काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी नायिका दिव्या रायमाझीलाई अहिले चलचित्रमा खेल्न भ्याईनभ्याई छ । चलचित्र ‘एक्टर’बाट सिने क्षेत्रमा डेव्यु गरेकी दिव्या अहिले धमाधम फिल्म साइन गरिरहेकी छन् ।
यसैबीच उनले नेपाली फिल्म क्षेत्रका दुई एक्सन नायकसँग पर्दा शेयर गर्ने भएकी छन् । दिव्या चलचित्र ‘राम नाम सत्य’ को लागि फाइनल भएकी छन् ।
माइकल चन्दको निर्देशनमा बन्न लागेको चलचित्र ‘राम नाम सत्य’को टीम र दिव्याबीच आइतबार सम्झौता भएको छ । चलचित्र साइन गरेपछि दिव्याले भनिन्, ‘यो चलचित्रको कथा दमदार छ । मेरो भूमिका पनि निकै राम्रो छ, त्यही भएर पनि म काम गर्न तयार भएकी हुँ ।’
यस चलचित्रमा यसअघि नै नायक विराज भट्ट र सुशील श्रेष्ठ फाइनल भइसकेका छन् । चलचित्रको छायांकन साउनबाट सुरु गर्ने निर्माण पक्षको योजना छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यस चलचित्रमा माइकल चन्दकै लेखन छ । उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङ चलचित्रका निर्माता हुन् ।
चलचित्रमा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माता छन् । अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने चलचित्रमा सुशन प्रजापतिको छायांकन रहनेछ ।

Leave a Reply