काठमाडौं । नेपाली कांग्रेसमा प्रवक्ता डा. प्रकाशशरण महतले टेरामक्स प्रकरणमा पार्टीका नेता मोहनबहादुर बस्नेतमाथि मुद्दा चलेकोप्रति आश्चर्य लागेको बताएका छन् । कांग्रेस कास्की क्षेत्र नम्बर ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अरू पार्टीले भने आफ्ना पार्टीका सबै नेताहरू दूधले धोए जस्तो गरेको टिप्पणी गरे ।
उनले अहिले सत्ता गठबन्धनभित्र केही असन्तुष्टि रहेको स्वीकार गर्दै कांग्रेसले भनेको जस्तो सबै नहुने बताए।
उनको भनाइ जस्ताको तस्तै
अहिले गठबन्धनको सरकार छ। ओलीजी जस्तो प्रधानमन्त्री हुनुहुन्छ। सबै कुरा हुँदैन। केही त होला नि ! सबै नभए पनि ५० प्रतिशत त हो नि ! अहिलेको गठबन्धनप्रति हाम्रा पनि केही असन्तुष्टिहरू छन्। नभएको होइन, हामीले भनिरहेका छौँ।
हामीले एमाले नेतृत्वलाई पनि भनेका छौँ, गठबन्धन भएको अर्काको प्वाइन्ट अफ भ्यूलाई अन्डरस्ट्यान्ड हुनुपर्छ। मैले जे सोच्छु, त्यही नै ध्रुव सत्य हो, अरूले मेरो किन विरोध गरिरहेका होलान् भन्ने मानसिकताबाट गठबन्धन बन्दैन। अहिले गभर्नरको कुरा छ। हामीले एउटा प्रोफेसनल मान्छे आओस् भनेका छौँ।
नियमन निकायहरूबाट हाम्रै पार्टीका साथीहरूलाई धेरै आरोपित गरिएको छ। अरू पार्टी त सबै दूधले धोएको जस्तो, हामीले पनि हेरैकै, देखेकै हौँ। यो पनि आश्चर्यजनक छ। जसरी अहिले गतिविधि अघि बढेका छन्। जो खास निर्णयकर्ता छ उसको बारेमा निर्णय भएको छैन।
अहिले मोहनजीको बारेमा पनि मैले बुझ्दा कल बाइपास रोक्ने प्रवृत्ति चाहियो भनेर सिफारिस गर्नुभएको रहेछ। टेरामक्स भनिएको छैन। त्यसमा अब सबै उसैलाई जिम्मा लगाइदिएको छ। यो पनि के भएको हो, यसमा थप बुझ्ने कोसिस गरिरहेको छु, तर आश्चर्यजनक लागिरहेको छ ।
पहिला पहिला यस्तै भएर हाम्रा साथीहरूले भोग्नुभयो। अरू पार्टी जस्तो हाम्रो पार्टी छैन, तपाईँहरूले बुझ्नुभएकै छ। अरू पार्टीमा त जस्तो जे भए पनि ज्यान फालेर डिफेन्स गर्छन्। जुलुस, धर्ना अनेक भयो, हाम्रोमा भयो भने सबै चापचुप छ, कसैले केही गर्दैन। जो पर्यो पर्यो। यो यसबारेमा खोजी भइरहेको छ। यसबारे पनि पार्टीमा समीक्षा गर्नुपर्छ।

Leave a Reply