‘पशुपतिप्रसाद’पछि मैले ‘आमा’, ‘चिसो मान्छे’मा काम गरेको थिएँ । त्यसपछि लामो समयको ग्यापमा मेरै आफ्नै आत्मालाई नडाँटीकन मनैदेखि बनाएको चलचित्र हो ‘के घर के डेरा : घर नम्बर २’
यो चलचित्र घरभित्रका अनेकन् घरहरूको कथा हो । एउटा घरभित्रको साँघुरो कोठा पनि घर हो । कोठामा बस्ने हरेक मान्छेले ती कोठालाई पनि घरमा परिणत गरेका हुन्छन् । त्यस्ता घरमा सम्बन्धहरूले कसरी सुवास फैलाएको हुन्छ ? सम्बन्धको सीमा र परिधि के के हुन् ? यिनै कुरा चलचित्रमा खोतल्ने कोसिस गरेको छु ।
मलाई जहिल्यै पनि सम्बन्धको कथाले तान्छ । म त्यसमा रमाउँछु । मेरा प्रायः चलचित्रमा दुई वटा कुरा सधैँ पाइन्छ,– मृत्यु र सम्बन्ध । यो चलचित्र पनि यही धरातलमा अडिएको छ ।
सम्बन्धको कथा भन्नसाथ त्यहाँ मिलन हुन्छ । बिछोड हुन्छ । स–साना घटनाले सम्बन्धमा धेरै नै माइने राख्छ । हरेक घटनाले मान्छेलाई नयाँ दिशामा लैजान्छ । नयाँ परिवेशमा लैजान्छ ।
एउटा घरभित्रको एउटा कोठालाई आफ्नो घर सम्झिएर बसेका मान्छेहरू एकै ठाउँमा थुप्रिँदा ती मान्छेबीच बन्ने सम्बन्ध र छुट्टिने आयामहरू सुन्दर हुन्छ भन्ने लाग्छ । काठमाडौंमा घरहरू जोडिने, तर मन नजोडिने कुरा आइरहेको हुन्छ । फरक फरक घरको कुरा अलग भयो, तर एउटै छानोभित्र बस्ने मान्छेको मन चाहिँ कसरी जोडिन्छ होला भन्ने जहिल्यै लाग्थ्यो । कहिलेकाहीँ ‘तँ तँ, म म’ हुन्छ होला । कहिले दुःख, सुखमा साथ पाइन्छ होला । यस्तै सोचले मलाई कथा भन्न सहयोग गर्यो ।
चलचित्रले भन्न खोजेको कुरा हो, ‘घर भनेको इँटा, ढुंगा, बालुवाले बन्दैन, स्मृतिहरूले बन्छ ।’ अहिलेको भाग दौडको जिन्दगीमा घर भनेको प्रतिष्ठाको विषय बनेको छ । घरमा हामीले बालुवा, सिमेन्ट, रड थुपारिरहेका छौँ । तर जति नै कच्चा पदार्थ थुपारे पनि त्यहाँ स्मृतिहरू छैन भने त्यो घर नै घरजस्तो बन्दैन । त्यहाँ आत्मीयता रहेन भने त्यो घरको अर्थ रहेन ।
मैले चलचित्रमा बाबुबाजेबाट पाएको ज्ञान, सिप र मानवीयताको पुस्तान्तरणलाई समेत देखाउने कोसिस गरेको छु । मूल घरभेटी रौनकले बाबुबाट सिकेको कुरा छोरीलाई सिकाउँदै गेटमा घरको बोर्ड फेर्छ । यो दृश्य चाहिँ मेरो व्यक्तिगत भावना थियो । यो स्क्रिप्टमा थिएन ।
यो फिल्ममा मलाई मेरी छोरीले निर्देशन डिपार्टमेन्टमा सहयोग गरेकी थिइन् । मैले चलचित्र खिच्दै जाँदा एउटा बिन्दुमा पुगेपछि मलाई लाग्यो, म नरहेपछि मेरो घर पनि यस्तै हुन्छ होला । अनि लाग्यो, मेरो शेषपछि मेरी छोरीले पनि आफ्नो सन्तानलाई यसरी नै सिकाए हुन्थ्यो ।
यो चलचित्रमा मल्टिपल पात्र र कथा थियो । त्यसैले चलचित्रको प्रि–क्लाइमेक्समा आउँदा कथाको ल्याण्डिङमा चुनौती थियो । लेखक बुद्धि सागरले मलाई ३५ हजार शब्दको स्क्रिप्ट दिनुभएको थियो । यसपछि मैले निर्देशकको रूपमा के के गर्न सक्छु भनेर स्क्रिप्टमा थप काम गरेँ । उहाँलाई भनेँ, ‘बुद्धि जी, सबै कुरा सिनेमामा अटाउन गाह्रो हुन्छ । यसरी काम गर्दा राम्रो होला कि !’
मैले उहाँलाई ३५ हजारबाट घटाएर १४ हजार शब्दको ‘निर्देशक–कपी’ बुझाएँ । मैले भनेँ, ‘मैले बनाउन खोजेको चलचित्र यो हो, यसमा तपाईँको राय के छ ?’ उहाँले स्क्रिप्ट पढेर मलाई फोन गर्नुभयो, ‘म सहमत छु, खुसी लाग्यो ।’ अनि मैले चलचित्रको काम अगाडि बढाएँ ।
म जहिल्यै काठमाडौंको कथा भन्न रुचाउँछु । जनघनत्व धेरै भएको ठाउँमा भन्नका लागि कथाहरू थुप्रा हुन्छन् । किनभने यहाँ अनेक समस्या छन् । बिहान १०/११ बजेतिर जाममा बस्दा यसो अरू मान्छेहरूलाई हेर्छु, सबै कुदिरहेका हुन्छन् । म पनि कुदिरहेको हुन्छु । हामी सबैको यो कुदाइ कहाँसम्मको होला ? कहिलेसम्मको होला ? यस्तै यस्तै जिज्ञासाले मलाई यो खाल्डोभित्रको कथा भन्नलाई प्रेरित गर्छ । मेरो कर्मथलो पनि यहीँ हो । यही कारण अझैँ नजिक रहेर सहरभित्रको कथामा काम गर्न सक्छु कि भन्ने लाग्छ ।
अहिलेको पुस्ताले राजनीतिलाई ‘आइ हेट डर्टी पोलिटिक्स’ भन्छ । तर, हाम्रो जीवनका स–सानो कुरामा पनि राजनीतिले ठूलो असर गरेको हुन्छ । हामीलाई राजनीतिमा रुचि नभए पनि राजनीतिले हामीलाई घुमाइरहेको हुन्छ । राजनीतिलाई जति गाली गरे पनि हाम्रो जीवन राजनीतिमै अडिएको हुन्छ । लकडाउनका कारण करोडौँको फलफूल र प्याज कुहिएपछि सडकमा आएको व्यापारीमार्फत राजनीतिले एउटा आम मान्छे कुन हालतमा पुग्न बाध्य हुनुपर्छ भनेर देखाउने कोसिस गरेको छु ।
मूल रूपमा यथार्थबाट टाढा नगईकन चलचित्र बनाउने कोसिस गरेको छु । चलचित्रमा माथिल्लो तलामा घरभेटी छ । घरभेटीसँग सोफा छ । सफा किचन छ । तल्लो तलामा कोठाभाडामा बस्नेहरूले अवस्था फरक छ । एउटै घरभित्रको अनेक तह र वर्गमाथि काम गर्ने कोसिस गरेको छु ।
जमानामा एलिट वर्गको मान्छे गरिब हुँदाको अवस्था, परिवार गुमाउँदाको अवस्थालाई देखाउने कोसिस गरेको छु । एउटा दृश्यमा माथि घरभेटीहरुको झगडा परिरहेको हुन्छ । तल कोठाभाडामा बस्नेहरूले घरभेटीको झगडा मज्जाले सुन्छन् । कोही चुरोट तान्दै सुन्छन् त कोही खाना खाएपछि टोलाएर बसिरहेको अवस्थामा सुन्छन् । समस्या कोठाभाडामा बस्नेहरूको मात्रै छैन नि ! घरभेटीको पनि छ ।
मलाई त के लाग्छ भने मैले कथालाई सरल तरीकाले भन्नमा बढी ध्यान दिएको छु । दर्शकको मनमा बस्ने गरी कथा भन्ने कोसिस गरेको छु । जसले चलचित्र हेर्नुहुन्छ, उहाँले कुनै न कुनै पात्रमध्ये एक पात्रमा कहीँ न कहीँ आफूलाई पाउनुहुन्छ जस्तो लाग्छ ।
(प्रदर्शनरत चलचित्र ‘के घर के डेरा : घर नम्बर २’ का निर्देशक दीपेन्द्र के खनालले नेपाल प्रेसकर्मी नवीनकाजी राईसँग गरेको कुराकानीको सम्पादित अंश)

Leave a Reply