भारतले एसिया कप क्रिकेटबाट हात झिक्ने ! एसीसीको प्रमुख पाकिस्तानी भएको निहुँ

काठमाडौं । भारतले आगामी पुरुष एसिया कप २०२५ र महिला इमर्जिङ टिम्स एसिया कपमा आफ्नो टोली नपठाउने निर्णय गरेको छ । पाकिस्तानसँगको तनावका कारण भारतले एसिया कपबाट हात झिक्ने निर्णय गरेको हो ।

द इन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार बीसीसीआइले एसीसीलाई यो निर्णयबारे जानकारी गराइसकेको छ । पाकिस्तानी मन्त्रीले नेतृत्व गरिरहेको एसीसीले गराउने प्रतियोगिता भारतले खेल्न नसक्ने बीसीसीआई स्रोतले बतायो ।

‘पाकिस्तानी मन्त्री मोहसिन नक्वीको नेतृत्वमा रहेको एसीसी (एसियन क्रिकेट काउन्सिल) को प्रतियोगितामा भारतको टोली खेल्न सक्दैन । यो देशको भावना हो । हामीले एसीसीलाई मौखिक रूपमा जानकारी गराइसकेका छौँ कि भारतले महिला इमर्जिङ टिम्स एसिया कपमा भाग लिँदैन र भविष्यमा हुने अन्य प्रतियोगितामा पनि सहभागिता अनिश्चित छ । हामी निरन्तर सरकारको सम्पर्कमा छौँ,’ बीसीसीआई स्रोतले भन्यो ।

रोचक के छ भने यो वर्षको एसिया कप भारतमै आयोजना हुने तय भएको थियो । आगामी वर्ष हुने टी-२० विश्वकपलाई ध्यानमा राखेर टी-२० ढाँचामा खेलाइने तयारी थियो । तर भारतको निर्णयले प्रतियोगिता नै अन्योलमा परेको छ ।

भारतबाहेक यो प्रतियोगितामा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र बंगलादेश सहभागी हुने तय थियो । सन् २०२३ मा भएको अघिल्लो संस्करण पाकिस्तानले आयोजना गरेको भए पनि भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि प्रतियोगिता हाइब्रिड मोडलमा खेलाइएको थियो । भारतका सबै खेलहरू श्रीलंकामा खेलाइएका थिए ।

यसैगरी, सन् २०२५ को सुरुमा भएको आइसीसी च्याम्पियन्स ट्रफी पनि हाइब्रिड मोडलमा नै भएका थिए, जसमा भारतका सबै खेलहरू दुबई मा आयोजना गरिएका थिए ।

बीसीसीआइको पछिल्लो निर्णयसँगै एसिया कप २०२५ को आयोजनामै प्रश्न चिन्ह खडा भएको छ । प्रतियोगिताका प्रमुख प्रायोजकहरू भारतीय कम्पनीहरू भएकाले भारतको अनुपस्थितिले प्रतियोगिता नै रद्द हुने सम्भावना रहेको दाबीसमेत इन्डियन एक्सप्रेसले गरेको छ ।

Comments

One response to “भारतले एसिया कप क्रिकेटबाट हात झिक्ने ! एसीसीको प्रमुख पाकिस्तानी भएको निहुँ”

  1. Saroj Rai Avatar
    Saroj Rai

    भारतको चुरीफुरी धेरै भयो अब युद्ध गर्न नसकेर कुट्नितिक रुपमा पेल्न थाल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *