निचोरिएर भएर बग्ने गेउरिया खोलो भन्दा निकै अग्लो डिल । अधिकारी बाजेको रुखो डाँडो । काँस र सिरु मात्र भएको । त्यसैको माझमा आकाश छेड्ने सिमलको रुख छ । बहुदलको पारिलो घाम ताप्दै बचेरा कोरल्ने चरा-बचराको पनि बेहाल भएको थियो । लुङ्गी बेरेर तरतरी पसिना चुहाउने अरकसियाहरूले ढालेको रुखको फेदमा जमेको चोप गम भन्दै खेलाउन उस्तै मज्जा ! हलुङ्गेका डल्ला भाँडामा तिनै काँचा सिमलका चोइटाको पत्पत्ती धुवाँ उडाउँदै त्यही डाँडामा पकाउने, त्यही खाने गरिन्थ्याे । हामीले वर्षमा एक दिन वनभात भनेर पश्चिम खेतको आँपका फेदमा खाए जस्तो त उनीहरूलाई दिनुङ्गे ।
एउटै रुखका तख्ता बनाउन एक साता नै लाग्यो क्यार चार-पाँच जनालाई ! साँझमा आराकाटेको भुँस खेलाउन जाँदा डोलो भाँडो छोपिएको धुवाँको पर्दा च्यातेर हर्रहरी मसला सरीको रागले उनीहरूसँगै पाहुना लागौं जस्तो । यसो छेउमा गएर हेर्यो, भर्खरै भुत्ल्याएको कुखुराको प्वाँख असरल्ल । त्यही ढालेको सिमलको कुड्काको अचानोमा आकार नमिलेका बेढङ्गसँग कुड्किरहेको मासु । आम्मै, कुखुराको मासु…!
अलि पछि त त्यही ढलेको सिमल सामुन्ने पोखरेल बाको अर्को सिमल पनि ढल्यो । नाकको डाँडी दायाँ-बायाँका जोर आँखा जस्ता ती सिमलका रुख, नजिकै भएर पनि कहिल्यै भेट नहुने ! दुवै जागै-जिउँदै हुँदा त भेट थिएन ती जोर सिमलको । चैतमा उड्ने भुवा भने एक-अर्कासँग खुबै जोवन साट्थे क्यार, एक अर्को रुखबाट उड्दा उड्दै भुईंमा नखस्दै ! तिनै जोर सिमलको भुवा दहीचोकभरि वसन्तमा फैलिए झैं फैलिन्थ्यो, राग कुखुरा पोलेको र मसला डढाएको ।
घडी नलगाउँदैमा समय रोकिएन
नाडीमा हम्मेसी घडी नहुने दहीचोकमा पनि समय त रोकिनेवाला थिएन । गाउँभरिका सिमलका बुढा रुख उसैगरी क्रमिक रूपमा ढल्दै गए । त्यही समयको मेसोमा बाहुन गाउँका बुढाहरू करेसामै डढेको कुखुराको मासुको राग छोप्न नाक नेप्ट्याउँदै र हातले छोप्दै वारिपारि गरिरहे । सिमलका फेदमा सिसौ हुर्किए । सिसौको नर्सरी बन्यो । हामी भैंसीका पिठ्युमा चढेर चराउने मैदान बन्यो । अलि पछि त्यही डाँडोमा हामीले फिलुङ्खे खेती गर्याैं, कुनै साल कोदो रोप्यौं ।
गाउँभरिका सिमलका बुढा रुख उसैगरी क्रमिक रूपमा ढल्दै गए । त्यही समयको मेसोमा बाहुन गाउँका बुढाहरू करेसामै डढेको कुखुराको मासुको राग छोप्न नाक नेप्ट्याउँदै र हातले छोप्दै वारिपारि गरिरहे । सिमलका फेदमा सिसौ हुर्किए ।
बाहुनका भान्सामा कुखुरो पस्न थालिसकेको त थिएन, तर घरमा पालिएका एकाध कुखुरा हलोले जोत्दा उधिनिएका गड्यौंला खान गोरु र मान्छेका टाङ्मुनि पस्थे । कोही बेला टेकिएर मर्लान् भन्ने पीर । हरि दाइ भन्थे, ‘प्वाक्क डल्लाले हानेर ढाल्दे त भाइ, भरेको तरकारी हुन्छ ।’ भन्नसाथ कहाँ डल्लाले हान्नु मैले पनि ! फेरि मैले हानेको डल्लो कहाँ लाग्नु र त्यो मर्नु ? तर ‘भरेको तरकारी हुन्छ’ भन्ने कुराले चैँ कुखुराको मासुप्रति आशक्ति उराल्थ्यो ।
दही बेला अर्थात दहीचोकबाट दही बजारतिर बाटो लाग्ने बेला- बिहानको ३ देखि ५ बजेसम्म । खुँगीवालाहरूको लर्को साइकलका घण्टी बजाउँदै दमक, पाडाजुङ्गी, मंगलबारे हुँदै दहीचोकबाट ओरालो लाग्थ्यो । तिनै खुँगीवालाहरू कुखुरा बेच्नु छ भन्ने थाहा पाएपछि घरघर पस्थे । खोरबाट निकालिएको एउटा भाले समात्न आधा घण्टा भन्दा बढी पसिनासरि भएर दगुर्थें उसका पछि । कुखुरे काँटा अर्थात स्प्रिङ तराजुमा उँधो मुन्टो लगाएर तौलन्थे । त्यो काँटा हेर्ने सुद्धि खै हाम्रा गाउँका सबैसँग थियो भन्ने पनि लाग्दैन । खुँगीवालाले कम्मरमा टमक्क पारेर बाँधेको खुँगीवाला झोलाबाट पैसा निकालेर दिन्थे । कुखुरा पाल्नेको गर्जो टर्थ्यो । किलोको ५५-६० यस्तै भाउमा साटिन्थ्यो कुखुरो, तर तिनै कुखुराकै निहुँमा बाहुन गाउँमा बाँझो हुन थाल्यो ।
कुखुरै नपाल्यो टन्टै साफ
तल्ला घरका कुखुराले माथ्ला घरको साग खाइदिने, माथ्लो घरकाले तल्लो घरकाको बिस्कुनमा बिस्ट्याइदिने ! बरु गाउँभरि झगडा फैलिनु भन्दा कुखुरै पाल्न छोड्यो बाहुन गाउँले । टन्टै साफ ! भर्खर-भर्खर बहुदल आएपछि बाहुनका खोरमा भित्रिएका कुखुरा एक दशक नभई विस्थापित हुन पुगे । कुखुरा पाल्ने स्वतन्त्रता पाएका बाहुनहरूलाई आफैँले उपभोग गरेको स्वतन्त्रता घाँडो भयो ।
भ्याउसाले माउ नै राति तानेर लगेछ भन्नु पनि परेन, न बनढाडेले खोरै रित्याउने डर, न दशैंका लागि जोहो गरेको भाले राति नै ख्याँक्री आएर भुत्याउला भनेर डराई डराई सुत्नु पर्यो न त माउका टाउकामा ठुँगेर चीलले चल्ला उडाउला भन्ने पीर । कुखरै नपालेपछि टन्टै साफ !
हरि दाइ भन्थे, ‘प्वाक्क डल्लाले हानेर ढाल्दे त भाइ, भरेको तरकारी हुन्छ ।’ भन्नसाथ कहाँ डल्लाले हान्नु मैले पनि ! फेरि मैले हानेको डल्लो कहाँ लाग्नु र त्यो मर्नु ? तर ‘भरेको तरकारी हुन्छ’ भन्ने कुराले चैँ कुखुराको मासुप्रति आशक्ति उराल्थ्यो ।
कुखुरा नपालेर छिमेकमा बाझे नहुनुले टन्टो त साफ भएको थियो, तर कुखुराको मासुका पारखीहरूलाई भने तुलबुल बढाएको थियो । लुकिलुकी केही ठिटाहरूले भने कुखुराको मासुको स्वाद चाख्न भ्याइसकेका रहेछन् । बहुदल ल्याएर नागरिकलाई उन्मुक्त र स्वतन्त्र बनाएको दहीचोकका बाहुन ठिटाले घरैमा कुखुरो पकाएर खाने स्वतन्त्रता भने पाएका थिएनन् । अघिल्लो शताब्दीको शास्त्रीय पुस्ता हर घरको अभिभावक थियो । कतिपय घरमा बिहान अबेरसम्म शंख र घण्ट ध्वनि गुन्जने गर्थ्यो ।
केही घरका बाहरू प्रातः नित्यकर्म सकेर जजमानीमा पुग्नुपर्ने, केहीकामा त धरो नफेरी भान्सामा पनि जान पाइँदैन । कसरी, कसरी हाम्रो घर चैँ बनेछ त्यस बेला कुखुरा खाने सेल्टर ! बहुदलका लागि लडेका क्रान्तिकारी बाहुन(हरू)को कुखुरे भान्सो चल्यो/चल्थ्यो त्यसपछि हाम्रामा । मेरा बा-काकाहरू उसबेलै बुढा लाग्थे । यी बुढाहरूलाई किन राति लुकिलुकी कुखुरो खानुपर्याे होला जस्तो लाग्थ्यो, तर कहाँ उनीहरू बुढा भएका रान र ? अढाई वा तीन दशकमात्र पार गरेका रैछन् उनीहरूले त त्यस बेला, अहिले हिसाब गर्दा थाहा भयो । पञ्चायतसँग विद्रोह गरेर विजय प्राप्त गरेको उन्माद उनीहरूमा जागै थियो सायद । त्यसैले उनीहरू भान्सोमै कुखुरो पकाएर त्यसको स्वाद लिँदा रहेछन् ।
त्यो मौनतापूर्ण ममता
बाहुनको चुलामा कुखुराको भुुटुवा कसरी पाक्न थाल्यो त ? सजिलो त थिएन, तर अन्तभन्दा सजिलै पनि भएछ, अहिले अनुमान गर्दा । हाम्रो घरका मुली हजुरबा साँझैमा काठे घरको माथ्ला तलामा मस्त निदाइहाल्ने । निदाएपछि अरु कुनै टन्टा नहुने । निदाएका बेला मसिनो चाल, सानो आवाज, मधुरो गन्ध मतलबै नहुने । राति भैंसी फुकेर करेसा रित्याउँदा पनि हम्मेसी चाल नपाउने । दिनभरिको थकानले होला, निदाउनलाई कुनै मोलाहिजा गर्दैनथे । सम्झौताहीन काम, मस्त खाना र बेपर्वाह निद्रा ! त्यसैले अहिले ९ दशकमा पनि कुँडो भकारो गर्ने तागत हराएको छैन, हजुरबाको ।
हजुरआमा काकडभिट्टा दही व्यापारका लागि हिँडेपछि कुनै रात वा एकदुई दिन पनि आउँदिनन् । हुन त आए पनि थाहा त पाउने नै होला, तर थाहा पाएको नपाए झैं गरिदिन्थिन् । भुत्ला पोलेको रागले नाक पोले पनि हाँछ्यु गरेर टारिदिन्थिन् । सन्तान र उनीहरूका दौंतरीका ऐच्छिक भोजनमा भाँजो हाल्दिनथिन्, मौनतापूर्ण ममता ।
तल्ला घरका कुखुराले माथ्ला घरको साग खाइदिने, माथ्लो घरकाले तल्लो घरकाको बिस्कुनमा बिस्ट्याइदिने ! बरु गाउँभरि झगडा फैलिनु भन्दा कुखुरै पाल्न छोड्यो बाहुन गाउँले । टन्टै साफ !
भूमिगत भतेर र वनभोजमा कहिले हो कहिले पल्किएका रहेछन् हाम्रा बाहरू त कुखुराको भुटुवामा । पुरोहित/पण्डितकी नातिनी भए पनि आमाको नाई-नास्तीको के अर्थ र ? नखाए पनि खानेहरूलाई अवरोध प्रतिकार गरिनन् । आफूभन्दा अघि जन्मिएको शासन व्यवस्थालाई ढाल्न जेल, नेल, हिरासत र हतकडीसँग सम्झौता नगरेको त्यो बा पुस्ता बहुदल आएपछि अलि उन्मुक्त चैं भएकै हो । डराइडराई भए पनि बाहुनको भान्सोमा कुखुरो पोल्ने आँट उनीहरूलाई त्यही शासन व्यवस्थाविरुद्धको आन्दोलनले जन्माइदिएको थियो क्यार !
खासमा पञ्चायत भन्दा कान्छा ती एक बथान क्रान्तिकारी तन्नेरीहरूमा त्यही आफू भन्दा जेठो व्यवस्थालाई नै पोलेपछि कुखुरो पोल्ने हिम्मत बलियो थियो । सायद त्यो पनि तत्कालीन सामाजिक चिन्तनका विरुद्ध एउटा विद्रोह नै थियो । भलै उनीहरूमा हामीले नै (मात्रै) पञ्चायत ढालेको दम्भ पनि थियो । त्यही विद्रोहको जग बसाल्न कुखुरा पोल्ने सेल्टर बनेको थियो, हाम्रो बाहुन चुलो । हुन त, हाम्रो घरकै सामुन्ने अर्को कटेरो पनि थियो, खरले छाएको, लपक्क माटोले भाटा छोपिने गरी लिपेर चुना लगाएको । बात्तीवाला स्टोभ भएकाले त्यहाँ पकाउन पाउँदा झनै ढुक्क ।
कुखुरो जोगाउनु कि ज्यान ?
बोइलर पाल्ने त चलनै थिएन । कुखुरो ल्याउन कहाँ सजिलो थियो र ! गाउँमा पाल्ने चलन हराई गएको थियो । लखनपुर, लखनपुरदेखि पूर्व गौरादह । अनि गौरादह पनि नाघेर पुगिने तोपगाछी गाविसको सन्थाल गाउँ, उस बेला त सतार गाउँ नै भनिन्थ्यो । कुखुरो पाक्ने दिन हुँदोरहेछ त्यस दिन । मलाई हरि दाइ वा यादव काका वा कहिले बुवाले नै भरे तेरो काम छ है भनेका हुन्थे । गाउँमा टाढा खेल्न जाने मेरो रुचि त थिएन, तर यति भनेपछि ‘भरे’ कहिले हुन्छ भनेर भरेको पर्खाइमा हुन्थे । प्लास्टिक रेसाको झोला र ९०-१०० वा १२० जति पैसा थमाइन्थ्यो । ‘सतरा माल्दाइकोमा गएर कुखुरा लेर आइज’ भनेपछि आज भरे झोल खान पाइने भो भनेर कुदिहालौं हुने, तर अरु भन्दा पनि पैसो हराउला भन्ने पीर हुन्थ्यो ।
कहिले झोलाभित्र हाल्यो, कहिले इजारवाला कट्टुको इजार घरभित्र हालेर तीन फेरा कट्टु बटा¥यो । खुट्टा बाँधेर झोलामा हालेको कुखुरो भाग्यो भने म पनि गाउँबाटै भागे हुन्छ भन्ने चिन्ता ! जान र आउन सवा घण्टा त लाग्थ्यो, छोटा पाइलामा । लिएर आउँदै गर्दा भरसक कसैले देख्न पनि नहुने, वरदेखि परैसम्म बाहुन गाउँ थियो । ‘के ल्याइस् हाओ केटा’ भनेर कसैले सोधिहाले के भन्नू ? त्यसैले अमिन ढकालको होली होली हुँदै आउनु पर्थ्यो । लामो बाटो, डेढदेखि दुई केजी कुखुरो बोकिरहँदा हात पनि गल्थ्यो । बेलाबेला कुखुरो भ्याट्भ्याट गर्दै उम्किन पनि खोज्थ्यो । अझ त्यही बेला दुईतिरबाट भाउ-भाउ र भौ-भौ गर्दै भुक्के कुकुरको हन्जो । कुखुरो जोगाउनू कि भाग्नू ?
आफूभन्दा अघि जन्मिएको शासन व्यवस्थालाई ढाल्न जेल, नेल, हिरासत र हतकडीसँग सम्झौता नगरेको त्यो बा पुस्ता बहुदल आएपछि अलि उन्मुक्त चैं भएकै हो । डराइडराई भए पनि बाहुनको भान्सोमा कुखुरो पोल्ने आँट उनीहरूलाई त्यही शासन व्यवस्थाविरुद्धको आन्दोलनले जन्माइदिएको थियो क्यार !
ज्यान पनि जोगियो, कुखुरो पनि जोगियो । कुकुर पनि भागे । अब आएको हुन्थ्यो पिसाब ! झोला राखेर गरौं, कुखुरो भाग्ला भन्ने पीर, नराखी गरौं लेखी-भनी नसक्नुको अर्को आपत् । यसरी कुखुरा लिन गएको दिन साँझसम्म पनि आई नपुग्दा कति पटक खोज्दै गेउरिया पारिसम्म हरि दाइ पुगेका हुन्थे । उनलाई झोला दिएपछि ढुक्कले हलुङ्गो हुन्थ्यो मन पनि, ज्यान पनि ! फेरि कुखुरो अरुको घरमा नपाक्ने, कुखुरामा रस भिजेका त्यस बेला पञ्चायत जितेका तन्नेरीमध्ये सायद सबैभन्दा कम उमेरका हाम्रै बा ! त्यसैले सबैलाई भन्न अह्राउन पनि सजिलो । बा फेरि एक्ला सन्तान । बाका बाआमाको स्नेह र ममता उहाँमै खनिएको थियो । थाह पाइहाले पनि बाका बाआमाले हप्कीदप्की गरिहाल्दैनन् होला भन्ने अनुमान !
कुखुरो ल्याएपछि पनि पाक कर्म कहाँ शुरु भइहाल्नू ? काम थालनीको पहिलो संकेत, हजुरबा घुर्न थाल्नुपर्थ्यो । तल्ला घर-माथ्ला घरभित्रको मधुरो धिप्रि पनि निभिसक्नु पर्थ्यो । अनि आँगनको खोले पकाउने चुलोमा बस्थ्यो आफ्नो निजी आयतनभन्दा बढी मोसोले भरिएको ठुलो कित्ली । कुखुरो ल्याएपछि मेरो काम पानी उमाल्ने, लसुन केलाउने अनि पकाउने बा, खाने अरु ४-५ जना हुन्थे । को-को चैँ भनेर के सबै भनि हाल्नु र ? अनि आधारातमा छुट्थ्यो कुखुरे भोजको सिलसिला । बिहान अरुले थाहा पाउन पनि नहुने ! भुत्ला, हड्डी राति नै बन्दोबस्ती गर्थे । प्रायः चैँ घर अगाडि बाटो पश्चिमको धोक्रेघारीमा विसर्जन । कुखुरो खान त के, पाल्न पनि बर्जित तिनै बाहुन परिवारमध्ये केहीले ब्रोइलर पालन गरे । ५० को मध्यपछि कुखुरापालन नै आम्दानीको स्रोत बन्यो । परिवार चल्यो, गर्जो टर्यो ।
प्लास्टिक रेसाको झोला र ९०-१०० वा १२० जति पैसा थमाइन्थ्यो । ‘सतरा माल्दाइकोमा गएर कुखुरा लेर आइज’ भनेपछि आज भरे झोल खान पाइने भो भनेर कुदिहालौं हुने, तर अरु भन्दा पनि पैसो हराउला भन्ने पीर हुन्थ्यो ।
हुन त त्यो पुस्ताले कुखुराको मासु खान गरेको त्यो कुनै पौरख र विद्रोह थिएन । बहादुरी पनि होइन । अहिलेका भुराले बाउआमाको आँखा छल्दै पट्का पड्काए जस्तो मात्रै हो । थाहा पाए अभिभावकले गाली गरिहाल्थ्यो । कति अभिभावकले चैँ सन्तानको खुसीका लागि आँखा र कान दुवै बन्द गरिदिए झैँ गर्छन् । पट्का पड्काउन पाएको भुरो चैँ मैले अभिभावकसँग विद्रोह गरेँ, पट्का पड्काएँ, मैले जितेँ भनेर मख्ख हुन्छ । त्यो पुस्ता त्यो विद्रोहको भ्रमको लड्डुमा जति मस्त-मख्ख थियो, मेरो जीवनको पहिलो दशक पनि त्यो भन्दा कम रंगिला थिएन, भएन ।
त्यो पुस्ताले उन्मुक्त भएर कुखुरा खान आँट गरे पनि गाउँमा रक्सी भित्र्याएन । कोही मातेर हिँडेन । आफूले पनि चाखेन, अरुलाई पनि चखाएन । बहुदले पुस्ता उन्मुक्त भएर पनि अनुशासित थियो । बरु अलिअलि अनुशासनहीन भएको चैँ गणतन्त्रपछिको पुस्ता हो । बहुदल पछि कुखुरो भित्रिएको दहीचोकमा गणतन्त्रपछि भने विभिन्न नाम र छाँटमा रक्सी पनि भित्रिन थाल्यो । उस बेला कुखुरो खाएर स्वतन्त्रताको अनूभूति गर्ने पुस्ता गेउरिया बगरका सिमल झैँ पालैपालो ढल्न थालेपछि त्यही गेउरिया बगरमा उम्रिएको काँस-सिरुको पुस्ताका लत र कुलतहरू समय झैँ बदलिँदै आए । कहिले कतिलाई बरको फेदमा जाँडले उन्मुक्त बनायो, कहिले कतिलाई छ्यासछुस्स ‘सुई-सिरिञ्ज’ले घोच्यो । अहिलेको नाति पुस्ता मोबाइल र इन्टरनेटको अम्मली बनेको छ ।
त्यस बेला दहीचोकको नाडीमा घडी थिएन, थियो त उन्मुक्त समय । अहिले औंला औंलामा घडी छ, तर समय निचोरिएको छ । समयले उन्मुक्ततालाई निचोरिरहेको छ । उन्मुक्त हुने न समय छ न त समय नै उन्मुक्त छ ।

Leave a Reply