प्लास्टिकजन्य फोहोरको हब बन्दै नारायणी नदी

चितवन । घडियाल गोही र डल्फिन जस्ता दुर्लभ जनावरको बासस्थान रहेको नारायणी नदीमा फोहोर बढ्दै गएपछि यसको अवस्था काठमाडौंमा बागमती नदीको झैँ हुने चिन्ता गरिएको छ ।

नदीमा फालिएका फोहोरको अवस्था अध्ययन गरेपछि ‘चितवनको नदीसँगै हामी’ भन्ने एक समूहले नारायणी बागमतीको बाटोमा गएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

नारायणी नेपालको दोस्रो ठूलो नदी प्रणालीअन्तर्गत पर्छ । मानिसको घना बस्ती र जंगलको क्षेत्र हुँदै बगेको यस नदीले तनहुँ, चितवन र नवलपरासीबाट आउने शाखा नदीलाई जोडेको छ । त्रिवेणी संगम रहेको देवघाट हुँदै बग्ने भएकोले नारायणीलाई धार्मिक दृष्टिले पनि पुण्य मानिन्छ ।

तर नारायणीको देवघाटधामदेखि गोलाघाटसम्मको चितवनतर्फको ८ स्थानमा गरिएको फोहोरको अध्ययनले यहाँ मानिसको बस्ती भएका स्थानमा मानव, प्रकृति र जलचरसमेतलाई असर गर्ने प्लास्टिक, सिसा, कपडालगायतका फोहोरहरु पाइएका छन् ।

अध्ययन टोलीका संयोजक सागर कार्कीका अनुसार सम्भाव्यता अध्ययन गरेर देवघाटको स्नान र पूजास्थल, देवघाटकै दाहसंस्कार क्षेत्र, जोरकुसुम पार्क, नारायणी नदी किनार प्रदर्शनी क्षेत्र, नदी किनार विद्यालय पछाडि, नगरवन नदी किनार, शिवघाटको भँगेरीथान र गोलाघाटको पर्यटकीय क्षेत्रमा अध्ययन गरिएको थियो ।

अध्ययन गरिएका क्षेत्रमा सबैभन्दा धेरै फोहोर नगरवन क्षेत्रमा पाइएको जनाइएको छ । नगरवन क्षेत्रको नारायणी नदी किनार भरतपुर महानगरपालिकाको फोहोर फाल्ने डम्पिङ साइट पनि हो । यस क्षेत्रमा कुल फोहोरको २२ प्रतिशत भेटिएको कार्कीले जानकारी दिए ।

त्यसैगरी शिवघाटको भँगेरीथान क्षेत्रमा १९.६ प्रतिशत, १७ प्रतिशत नारायणी नदी किनार र गोलाघाटमा साढे १६ प्रतिशत फोहोर पाइएको थियो । पाइएकामध्ये सबैभन्दा धेरै हिस्सा प्लास्टिक रहेको नदीसँगै हामी कार्यक्रममा बेटर चितवनका तर्फबाट संयोजक रहेकी आकृति सुवेदीले जानकारी दिइन् ।

चितवनतर्फको नारायणीको शीर देवघाटदेखि अन्तिमतर्फ गोलाघाटसम्म अध्ययन गर्दा प्लास्टिकको मात्रा ४२.५५ प्रतिशत पाइएको जनाइएको छ । देवघाट क्षेत्र विकास समितिले समेत प्लास्टिक झोला प्रतिवन्ध लगाउने निर्णय गरे पनि देवघाटका दुई बिन्दुमा पाइएका फोहोरमध्ये ७२ प्रतिशतभन्दा बढी फोहोर प्लास्टिकको रहेको पाइएको सुवेदीले जानकारी दिइन् ।

अध्ययन टोलीका संयोजक कार्कीले भेटिएका फोहोरमध्ये नदी किनाराका छेउछाउमा बालबालिकालाई लगाइने डाइपर, महिनावारी प्याड, कन्डम, सुई (सिरिन्ज), रक्सीका बोतल र कपडाहरु रहेको बताए ।

उनले नारायणगढ क्षेत्रका दुई स्थानमा सीधै ढल नदीमा पठाइएको पाइएकोले नारायणी बागमतीको बाटोमा गएको भन्दै चिन्ता व्यक्त गरे ।

गएको मंसिरमा नदीसँगै हामी अभियानअन्तर्गत नदी किनारका ८ स्थानमा नदीको प्रदूषण लेखापरीक्षण गर्ने र स्थानीय तहलाई सफाइको लागि सचेत निष्कर्षसहित सचेत तथा ध्यानाकर्षणसमेत गराउने उद्देश्यले अध्ययन गरिएको कार्कीले बताए ।

अध्ययन गरिएका सबै क्षेत्र भरतपुर महानगरपालिकाभित्र पर्दछ । यी क्षेत्रमा नदी सौन्दर्यकरणका नाममा हरेक वर्ष भरतपुर महानगरपालिकाले बजेट खर्च गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *