प्राविधिक शिक्षाको विकास र विस्तारका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्थापना २०४५ सालमा भएको हो । निम्न र मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने यस संस्थाले उद्यमशीलता प्रवर्द्धन, स्वरोजगार र आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई सम्बोधन गर्ने खालका जनशक्ति उत्पादन गर्नमा सीटीईभीटीलाई चुनौती थपिएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी नीति तथा योजना तर्जुमा गर्ने, विभिन्न प्राविधिक तथा व्यावसायिक विषयमा पाठ्यक्रम विकास र निर्धारण गर्ने, शिक्षण संस्थाहरूलाई सम्बन्धन प्रदान गर्ने र तिनीहरूको अनुगमन गर्ने, परीक्षा सञ्चालन गर्ने र प्रमाणपत्र प्रदान गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको गुणस्तर सुनिश्चित गर्ने र रोजगारीको अवसरसँग जोड्ने कार्यक्रमहरू सञ्चालन गर्ने यसको मूल कर्म हो ।
सीटीईभीटीले सार्वजनिक गरेको वर्ष २०८१ को वार्षिक प्रतिवेदनअनुसार ६६ वटा आंगिक शिक्षालय रहेका छन् । टेक्स शिक्षालयको संख्या ६३९, साझेदारी शिक्षालयको संख्या ५५ र निजी शिक्षालयको संख्या ४२२ रहेको छ । यी संस्थाहरूमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या यसरी उल्लेख्य रूपमा शिक्षालयहरू स्थापना भए पनि आशातीत रूपमा विद्यार्थीको संख्या भने उकालो लाग्न सकेको छैन । शैक्षिक सत्र २०८१/८२ मा डिप्लोमा तहमा क्षमता ५३ हजार ३४२ रहेकोमा २४ हजार ६७८ विद्यार्थीहरू भर्ना भएका छन् । प्रि-डिप्लोमा तहमा क्षमता २२ हजार ३८२ रहेकोमा ४ हजार ८९३ विद्यार्थी भर्ना भएका छन् ।
सीटीईभीटीमा हरेक वर्ष विद्यार्थीको संख्या घट्दो क्रममा नै रहेको पाइन्छ । माथि उल्लेख गरिएका शिक्षालयहरूको संख्यामा केही फेरबदल भएर कैयौं प्राविधिक शिक्षालय बन्दसमेत भइसकेका छन् । प्रविधिको प्रयोग बढ्दै जाँदा प्राविधिक शिक्षाको अवस्था कमजोर हुनु आफैंमा गतिलो सन्देश होइन । यसका बारेमा प्राविधिक शिक्षाको क्षेत्रमा व्यापक छलफल तथा विमर्श भइरहेका छन् । विभिन्न छलफलहरूबाट प्राप्त सुझावहरूलाई सीटीईभीटी नेतृत्वले विस्तारै कार्यान्वयनमा पनि लैजाने प्रयत्न गरिरहेको छ ।
सीटीईभीटीमा हरेक वर्ष विद्यार्थीको संख्या घट्दो क्रममा नै रहेको पाइन्छ । माथि उल्लेख गरिएका शिक्षालयहरूको संख्यामा केही फेरबदल भएर कैयौं प्राविधिक शिक्षालय बन्दसमेत भइसकेका छन् ।
प्राविधिक शिक्षामा हिजोको जस्तो विद्यार्थीको आकर्षण नरहेको हुँदा भर्ना प्रक्रियालाई सहज बनाउने गरी सीटीईभीटीले निर्देशिकामा केही परिमार्जन गरेको छ । यसका बारेमा सकारात्मक र नकारात्मक दुबै खालका टिप्पणी र चर्चा भइरहेका छन् । केही विद्यार्थी संगठनले यसलाई अस्वीकार गर्ने भन्दै फिर्ता लिन दबाब सृजना समेत गरिरहेका छन् । अझ प्रवेश परीक्षाको तयारीका लागि शहरतिर झरेका विद्यार्थीहरू यो निर्देशिकाको पालना हुन्छ या हुँदैन भन्ने बारेमा झन् अन्योलमा छन् । प्राविधिक शिक्षालय सञ्चालनको अनुभवका आधारमा मलाई भने सीटीईभीटीले भर्नाका सम्बन्धमा गरेको यो निर्णय स्वागतयोग्य लागेको छ । यस निर्देशिकाले प्राविधिक शिक्षामा सुधार ल्याउन केही न केही भूमिका अवश्य निर्वाह गर्नेछ ।
नाम मात्रको प्रवेश परीक्षा
स्वास्थ्य क्षेत्रका केही सीमित कार्यक्रमहरूमा बाहेक सीटीईभीटीका अधिकांश प्रवेश परीक्षा नाम मात्रका थिए । एक जना विद्यार्थी मात्रै नयाँ आउँदा पनि शिक्षालयले प्रवेश परीक्षाका नाममा चर्को आर्थिक भार र प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो । एसईईमा १.६ जीपीए ल्याएको विद्यार्थीले पढ्न पाउने कुरा निर्देशिकामा उल्लेख भइसकेपछि कोटा नपुग्ने अवस्थामा पनि परम्परा धान्न प्रवेश परीक्षा गराउनैपर्ने बाध्यता थियो । प्रवेश परीक्षाको अनावश्यक झन्झटले गर्दा पनि कैयौं विद्यार्थी सीटीईभीटीमा भर्ना हुन असहज महसुस गर्दथे । विद्यार्थीहरूमा प्रवेश परीक्षाको डर कायम थियो ।
यसरी नाममात्रको प्रवेश परीक्षाका नाममा लामो समयसम्म पनि कक्षाहरू सञ्चालन हुन नसक्ने अवस्था थियो । अब जीपीएका आधारमा नतिजा प्रकाशन गर्न थालेपछि प्रवेश परीक्षाको झन्झट हटेर समयमै कक्षा सञ्चालन गर्न सकिने आधार तय हुने थियो । सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि प्राविधिक शिक्षामा रहेको प्रवेश परीक्षाको झन्झट हटाउने भन्ने कुरा प्राथमिकतामा राखेको छ ।
तयारी कक्षाको झन्झट
एसईईपश्चात् प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षा उत्तीर्ण गर्नैपर्ने दबाब थियो । यसले गर्दा स्थानीयस्तरमा तयारी कक्षाहरू सञ्चालन नहुँदा पहाडी र दुर्गम भेगका विद्यार्थीहरू टाढाटाढा बसेर तयारी कक्षा लिन बाध्य थिए । यसले एकातिर विद्यार्थीहरू अपरिपक्व उमेरमै घरबाट टाढा बस्नुपर्ने र अर्कातिर आर्थिक रूपमा पनि खर्चिलो हुने अवस्था रहेको थियो । तयारी कक्षाका नाममा इन्स्टिच्युटहरूले मोटो रकम असुलिरहेका थिए । जीपीएका आधारमा विद्यार्थीको भर्ना प्रक्रिया अगाडि बढ्ने भएपछि विद्यार्थीहरूले तयारी कक्षाका नाममा समय र पैसा खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
प्राविधिक शिक्षामा हिजोको जस्तो विद्यार्थीको आकर्षण नरहेको हुँदा भर्ना प्रक्रियालाई सहज बनाउने गरी सीटीईभीटीले निर्देशिकामा केही परिमार्जन गरेको छ । यसका बारेमा सकारात्मक र नकारात्मक दुबै खालका टिप्पणी र चर्चा भइरहेका छन् ।
बिचौलियाको अन्त्य
प्राविधिक शिक्षाको क्षेत्रमा विगतदेखि नै प्रवेश परीक्षामा विद्यार्थीको नाम निकालिदिने भनेर मोटो रकम लिने बिचौलियाहरूको बिगबिगी छ । गाउँघरका सोझा विद्यार्थीहरूलाई प्रवेश परीक्षाको कृत्रिम त्रास सृजना गरेर जसरी पनि प्रवेश परीक्षामा नाम निकालिदिने भनेर उनीहरूबाट रकम असुलेका उदाहरण कैयौं छन् । यस्ता केही घटनाहरू अख्तियारसम्म पुगेका थिए । म आफू संलग्न रहेको शिक्षालयमा प्राविधिक शिक्षा अध्ययन गर्न आउने कैयौं विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने भनेर बिचौलियालाई रकम बुझाएको गुनासो गरिरहेका हुन्छन् । यसरी एसईईमा प्राप्त गरेको अंकका आधारमा विद्यार्थीहरूको मापन हुने भएपछि बिचौलियाहरूको व्यवसाय शून्य हुने र सोझा अभिभावक तथा विद्यार्थीहरू ठगिने अवस्था पनि अन्त्य हुने देखिन्छ ।
भर्ना प्रक्रिया सहज र पारदर्शी
प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गर्दा त्यसको विश्वसनीयतामाथि प्रश्न गर्न सकिन्छ । कसैले गलत नियत राखेर प्रवेश परीक्षाको नतिजालाई पारदर्शी नबनाउँदा राम्रो विद्यार्थीलाई असर पर्नसक्छ । संख्यात्मक रूपमा धेरै विद्यार्थी सहभागी हुने कार्यक्रम र शिक्षालयहरूमा आफूले भर्ना गर्न चाहेको विद्यार्थीलाई सफल गराउन परीक्षामा प्रक्रियाको फाइदा उठाउन सकिने खालको अवस्था थियो, तर विद्यार्थीले जीपीएमा ल्याएको अंक पारदर्शी हुने भएको हुँदा कोही कसैले पनि आफ्नो मनलाग्दो गर्नसक्ने अवस्था हुँदैन । साथै छात्रवृत्तिमा पनि अपारदर्शिताका कैयौं सवाल उठिरहने गरेका थिए । अब त्यो विषयमा पनि आशंका गर्नुपर्ने कुनै पनि आधार रहेको छैन । नतिजा वैज्ञानिक ढङ्गले नै प्रकाशित हुनेछ ।
सामुदायिकलाई सहज
निर्देशिकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई भर्ना हुन सहज होस् भनेर केही सहज गरिएको छ । यसले सामुदायिक विद्यालयका विद्यार्थीहरूको केही अंक कमजोर भए पनि भर्ना हुन पाउने सुनिश्चितता प्रदान गरेको छ । निर्देशिकाअनुसार प्राप्त जीपीएमा संस्थागत विद्यालयको विद्यार्थीका लागि ०.८५ अंक जोडेर नतिजा आउँछ भने सामुदायिक विद्यालयका विद्यार्थीहरूको १ अंक जोडिने गर्दछ । यसले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई भर्नाको सम्भावना सहज बनाएको छ । सामुदायिक विद्यालयका विद्यार्थीहरूको अंकमान संस्थागतको तुलनामा कम हुने भन्ने आधारमा यस्तो व्यवस्था गरिएको हो ।
अनलाइन प्रणालीमा प्रवेश
सीटीईभीटी आफैं प्राविधिक शिक्षा प्रदान गर्ने संस्था भए पनि अनलाइन पद्धतिको विकासमा भने निकै पछाडि थियो । प्रवेश परीक्षाको फारम भर्ने कार्य विद्यालयमै गर्नुपर्थ्यो, तर यो कार्यविधिको परिमार्जनसँगै अब विद्यार्थीले भर्ना फारम अनलाइनमार्फत भर्ने गर्छन् । यसमा विद्यार्थी आफैंले आफ्नो फारम भर्ने भएको हुँदा शिक्षालयमै जानुपर्ने झन्झटसमेत अन्त्य भएको छ । प्रवेश परीक्षाको नतिजा प्राप्त नहुँदासम्म विद्यार्थी शिक्षालयमा जानैपर्ने बाध्यता रहेन । यसले पनि विद्यार्थीहरूले फारम भर्ने अनेक खालका झन्झट व्यहोर्नुपर्दछ । यसले कागजात व्यवस्थापनको झन्झटका साथै त्रुटिहरू पनि घटाएर लैजाने देखिन्छ ।
सीटीईभीटीमाथि लाग्ने गम्भीर आरोप भनेको यसले क्यालेन्डर फलो गर्न सक्दैन भन्ने रहेको छ । कतिपय सेमेस्टरहरूको नतिजा समेत आउन लाग्दा पनि नयाँ शैक्षिक कार्यक्रमहरूको सम्बन्धन बाँडिरहेको देखिन्छ । यस कुरालाई नयाँ निर्देशिका लागू भइसकेपछि सुधार गर्नुपर्दछ । जहिले पनि भर्ना खोल्न दिने प्रवृत्तिको अन्त्य हुनुपर्दछ । यस्तै यसको पाठ्यक्रम पनि सुधार गर्नुपर्ने देखिन्छ । यसबारेमा पनि सीटीईभीटीले नीति परिवर्तनमा ध्यान दिनुपर्ने हुन्छ । यसका साथै विद्यार्थीले फारम भरेको बढीमा एक महिनाभित्र कक्षाकोठामा प्रवेश गरेको हुनुपर्ने गरी यसको प्रक्रिया तय गर्नुपर्दछ । यसलाई पालना गराउन सीटीईभीटी र सरोकारवालाहरूले विशेष भूमिका खेल्नुपर्दछ ।

Leave a Reply