काठमाडौं । माया, प्रेम, उल्लास र उमंगविनाको घर पनि के घर ? एउटा सुन्दर घर बन्नलाई सबैभन्दा पहिला स्मृतिहरू चाहिन्छ । अनिमात्रै इँटा, सिमेन्ट, रोडागिटी र फर्निचर इत्यादि चाहिन्छ ।
जति नै रंगरोगन गरे पनि सुमधुर सम्बन्धले लतपतिएको छैन भने त्यो घर मृत पर्खालको चौघेरो मात्रै हो । अनि त्यो चौघेरोभित्र बस्ने मानिस ? उनीहरू सिर्फ दुःख र तनावका पट्यारलाग्दा कहानीमात्रै हुन् ।
उसोभए घर बनाउनलाई सबैभन्दा पहिले के-के मजबुद हुनुपर्छ ?
अहिले हलमा चलिरहेको ‘के घर के डेरा : घर नम्बर २’ ले भन्छ,- घरको जग खन्नुअघि सम्बन्धको जगलाई मजबुद बनाउनुस् । भूकम्प प्रतिरोधी पिल्लर ठडाउनुअघि विश्वासको पिल्लर ठडाउनुस् । घरको तला थप्नुअघि प्रेमको तला थपेर हेर्नुस् । घर यसै मजबुद बनेर जान्छ ।
दिपेन्द्र के खनालकृत यो चलचित्रले सिमेन्टको चिसोले चिसिएको घरमा न्यानोको खोजिरहेका मानिसहरूको कथा भन्छ । आफ्नोपनले दिने मीठो आभास नपाएर छटपटिएका मानिसहरूको अनुभूतिबारे भन्छ । घर भएर पनि घरजस्तो नलाग्नेहरूको कथा भन्छ । जहाँ बस्यो त्यही ठाउँलाई घर बनाउनेहरूको कथा भन्छ । समग्रमा चलचित्रले यो चिसो सहरभित्र मानवीयतालाई जेनतेन बचाइरहेका मानिसहरूको कथा भन्छ ।
‘के घर के डेरा’ एउटा सिंगो घरको कथा हो ।
यो घरभित्र ऋणमा चुर्लुम्म डुबेका घरभेटी रौनक र उसकी श्रीमती छन् । यो घरभित्र डेरामा बस्ने टाट पल्टिएका व्यापारी र मैनबत्ती बनाएर बेच्ने उसकी छोरी पूजा छन् । यो घरभित्र मिटरब्याज साहुले र्याखर्याख्ती पारेर भागिरहेको दिवाकर छन् । यो घरभित्र बस दुर्घटनामा बाआमा र बहिनी गुमाएर जाने ठाउँ कतै नभएका राजाराम छन् ।
चलचित्रमा खनालले उठाएको अर्को गम्भीर पाटो चाहिँ बच्चाहरूले घरमा पाउने माहौल हो । बा-आमाको घरझगडाको साक्षी बस्न बाध्य बच्चाहरूको मानसिक हालत के होला ?
यी सबै पात्रको आ-आफ्नै कथाव्यथा छन् । आ-आफ्नै संघर्ष छन् । सम्बन्धमाथि सबैले आ-आफ्नै खाले उतारचढाव भोगेका छन्/भोगिरहेका छन् ।
‘के घर के डेरा’ एउटा घरभित्रका साँघुरा कोठाहरूमा धिपधिप गरिरहेका अन्य घरहरूको कथा हो । ती कोठामा थन्किएका सपनाको कथा हो । ती कोठामा खसेका आँसुको कथा हो । ती कोठामा फक्रिएको प्रेमको कथा हो । साँघुरो कोठाको चिसो भित्ताले छेक्न नसकेको विश्वास र मानवीयताको कथा हो ।
पैसालाई सबथोक मान्ने र पैसालाई सबथोक नमान्नेहरूको कथा पनि हो ‘के घर के डेरा’ । चलचित्रमा ठूलो मात्रामा पैसा गुमाएर सडकमा आएकाले बिरामी भएका व्यापारी र बैंकको किस्ता तिर्न नसकेर बिजोग अवस्थामा पुगेका घरभेटी रौनक छन् । परिवार गुमाएपछि त्यही बिमाको पैसाले सम्बन्धहरू किन्दै हिँडेका राजाराम छन् । जति जोर चलाए पनि जीवनमा केही तरक्की गर्न नसकेका दिवाकर छन् ।
कथाको डिजाइन र कथावाचनको सरलतालाई केन्द्रमा राखेर हेर्ने हो भने ‘के घर के डेरा’ निर्देशक खनालको ‘पशुपतिप्रसाद’ पछि उत्कृष्ट चलचित्र हो । सम्भवतः ‘पशुपतिप्रसाद’ पछि कथावाचनमा यही चलचित्रमार्फत् खनालले आफूलाई प्रमाणित गरेका छन् ।

यो चलचित्र हेरिरहँदा के लाग्छ भने खनाललाई कथा भन्न सानो र साँघुरो लोकेसन भए पुग्छ । सानो लोकेसनमा उनी कथाको पत्रपत्र केलाउन खप्पिस छन् । ठूलो क्यानभासमा उनी सायद अलमलिन्छन् । अलमलिएका उदाहरण खोज्ने हो भने भेटिएलान् पनि !
‘के घर के डेरा’ मा वर्गलाई देखाउन घरको माथिल्लो तलामा बस्ने घरभेटीसँग सोफा छ, सफा किचन छ । तल्लो तलातिर कोठामा बस्नेहरूसँग सामान्य खाट छ, सामान्य किचन छ । अनि उनीहरूले झेलिरहेको तनावमा आकाश-जमिनको अन्तर छ ।
वर्ग फरक भए पनि सबैजना भित्रभित्रै भत्किएका छन् । टुटेका छन् ।
घरभेटीसँग घर भएर के गर्नु, सम्बन्ध भग्नावशेषमा परिणत हुन मात्रै बाँकी छ । कोठाभाडामा बस्नेहरू पनि समस्यामा थिचिएर सख्त घाइते छन् । यसरी खनालले एउटा घरभित्रका अनेकन आयामका घरहरूको कथा भन्ने यत्न गरेका छन् ।
चलचित्रमा हरेक पात्रहरू एक अर्कासँग कनेक्टेड छन् । सबै पात्रहरू संयोगले एकै ठाउँमा जोडिएका छन् । चलचित्र हेरुन्जेल कुनै पनि पात्र अनावश्यक लाग्दैन । पात्रहरूलाई चाहिने जति मात्रै स्पेश दिइएको छ । कुनै पनि पात्र अचानक आएर एक सूरमा बगिरहेको कथालाई धमिल्याउँदैनन् । बरु संयोगले कथामा प्रवेश गरेका पात्रहरू विस्तारै कथाको मूलप्रवाहमा मिसिँदै जान्छन् ।
चलचित्रमा खनालले मीठोसँगले राजनीति पनि मिसाएका छन् । वर्षौंको मिहनेत बर्बाद भएपछि पूजाको बुवा सडकमा आउनुको एकै कारण छ,- राजनीति । भारतीय नाकाबन्दीका बेला करोडौंको प्याज र फलफूल नाकामै थुनिएर कुहिन्छ । कुहिएपछि उसको सबथोक सकिन्छ । सडकमा आउँछ । आममानिसको जीवनलाई राजनीतिले कसरी असर गरिरहेको छ भन्ने कुरा व्यापारीमार्फत् खनालले मीठोसँगले भनेका छन् । राजनीतिका कारण नाकाबन्दी हुन्थेन भने उसको जीवन अर्कै हुने थियो । यद्यपि त्यसरी करोडौंको व्यापार गर्ने व्यापारी एकैपटकमा होइन, पटकपटकमा चाहिँ सडकमा आएको देखाएको भए गज्जब हुन्थ्यो ।
कथाको डिजाइन र कथावाचनको सरलतालाई केन्द्रमा राखेर हेर्ने हो भने ‘के घर के डेरा’ निर्देशक खनालको ‘पशुपतिप्रसाद’ पछि उत्कृष्ट चलचित्र हो । सम्भवतः ‘पशुपतिप्रसाद’ पछि कथावाचनमा यही चलचित्रमार्फत् खनालले आफूलाई प्रमाणित गरेका छन् ।
यसपटक खनालले कथामा बढी ध्यान दिएका छन् । लेखक बुद्धिसागरको कथा लेखन भएर पनि हुनसक्छ, मीठा मीठा संवादले चलचित्रमा स्वाद थपेको छ । ‘आमा’, ‘चिसोमान्छे’ जस्ता चलचित्रमा जसरी खनालले सिनेम्याटोग्राफीम धेरै प्रयोग गर्न खोजेका छैनन्, त्यसले पनि कथामा मिठास थपेको छ । अथवा ‘भष्मे डन’ मा जसरी धेरै नै प्राविधिक हुन नखोज्दा पनि ‘के घर के डेरा’ मन छुने बनेको छ । यति चाहिँ भन्न सकिन्छ कि यस चलचित्रमा खनालले दिमाग मात्रै होइन, आफ्नो आत्मा पनि मिसाएका छन् ।
चलचित्रमा साउण्डको प्रयोग अझै राम्रोसँग गरेको भए झनै गज्जब हुने थियो । अलि भावनात्मक दृश्यहरूमा बज्ने ब्याकग्राउण्ड स्कोर अलि बढी लाउड छ । यसमा छिसिक्क मात्रै काम गरेको भए अझै समृद्ध हुने थियो ।
आर्यन सिग्देल र केकी अधिकारीको अभिनय समृद्ध लाग्छ । अधिकारीले निर्वाह गरेको पात्रले भोग्ने मानसिक तनाव र मनोवैज्ञानिक उतारचढाव हेर्नलायक छ । निश्चल बस्नेको अभिनय स्वभाविक लाग्छ । खगेन्द्रको अभिनय भने ‘पशुपतिप्रसाद’कै निरन्तरता हो कि झैँ लाग्छ ।
चलचित्रमा खनालले उठाएको अर्को गम्भीर पाटो चाहिँ बच्चाहरूले घरमा पाउने माहौल हो । बा-आमाको घरझगडाको साक्षी बस्न बाध्य बच्चाहरूको मानसिक हालत के होला ? खनालले घरभेटी रौनक र श्रीमतीको झगडाको बीचमा सानी बच्ची (रुविना घिमिरे) लाई उभ्याएर सबै अभिभावकलाई सोधेको प्रश्न हो यो । ती बच्चीले सामना गरिरहेको एन्जाइटी वा अन्य मानसिक तनावलाई पनि देखाएको भए अझै गज्जब हुने थियो ।
खनालले चलचित्रमार्फत् मानवीयता, प्रेम र सद्भावको पुस्तान्तरणलाई समेत देखाएका छन् । ‘यी सिमेन्ट र इँटाका घर होइनन्, मेरा करङले बनेका घर हुन्’ भन्ने बाबुले घरको गेटमा रौनकको नाममा ‘रौनक निवास’ भन्ने बोर्ड टाँस्छ । चलचित्रको अन्त्यमा रौनकले पनि छोरीलाई सम्झाउँदै ‘के घर क डेरा’को बोर्ड गेटमा टाँगिदिन्छ । बाउबाजेबाट ‘भौतिक सम्पत्ति’ मात्रै होइन, अनुभव, ज्ञन, सिप पनि पुस्तान्तरण भइरहेको हुन्छ भन्नलाई खनालले गरेको यो कोसिस प्रशंसालायक छ ।
समग्रमा ‘के घर के डेरा : घर नम्बर २’ घरभित्रको दर्जनौं घरहरूको कथा हो ।

Leave a Reply