रुपन्देही । सडकमा अनधिकृत रुपमा निर्माण गरिएका घरटहरा हटाएर हटाएर सडक निर्माण कार्यमा सहयोग गर्न रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ का स्थानीयले माग राखेका छन् ।
उनीहरुले विज्ञप्ती नै जारी गर्दै गाउँपालिकाले पाँच दिनभित्र सडकको क्षेत्राधिकारभित्र पर्ने घरटहरा हटाउन सूचना प्रकाशित गरिए पनि अहिलेसम्म नहटाइएकोले तत्काल गाउँपालिकाले हटाइ सडक निर्माण कार्यमा सहयोग गर्नुपर्ने माग राखेका हुन् ।
बाटो निर्माण कार्यमा सहयोग नगरेमा गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने र गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्ने सडक निर्माण सहजीकरण समिति मायादेवी–४ का संयोजक संजय कुमार मिश्रले बताए ।
‘रुपन्देहीकोे मायादेवी गाउँपालिका वडा नम्बर ४ अन्र्तगत लुम्बिनी सडकदेखि उत्तर गुण्डी हुँदै गैडहवा गाउँपालिका र सियारी गाउँपालिका जोड्ने सडक निर्माण कार्य सम्झौता भइ कार्यान्वयनको चरणमा रहेकोले सडक बाटोको क्षेत्राधिकारभित्र पर्ने सबै स्थायी तथा अस्थायी संरचना हटाएर सडक निर्माण कार्यमा सहजीकरण गर्ने गरी वडा नंं ४ का अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य एवं गाउँका भद्रभलादमीहरुको भेलाले बाटो निर्माण सहजीकरण समिति गठन गरी गाउँपालिकाबाट नापी नक्साको काम सम्पन्न भइसकेपछि गाउँपालिकाले मिति २०८२ वैशाख २८ गते सडकको क्षेत्राधिकारभित्र पर्ने स्थायी/अस्थायी घरटहरा पाँच दिनभित्र हटाउने निर्णय समेत जारी गरेको हामी सबैलाई जानकारी नै छ’, विज्ञप्तीमा भनिएको छ ।
अहिले आएर गाउँपालिका अध्यक्षले आफ्नो राजनीतिक दलका केही सदस्यहरुको सडक बाटोमा पर्ने घरटहरा हट्ने देखिएपछि सडक बाटो खाली गराउने निर्णयबाट पछि हट्न खोजेको उनीहरुको आरोप छ ।


Leave a Reply