समयको दुरूपयोग वा समयलाई सही तरिकाले प्रयोग नगर्नु नै ‘समय भ्रष्टाचार’ हो । यसका विभिन्न रूप हुन्छन् । आर्थिक वा राजनीतिक भ्रष्टाचारभन्दा फरक भए पनि व्यक्ति समाज सर्वत्र व्याप्त छ । यो नदेखिने, तर असर, प्रभाव र अनुभूति हुने भ्रष्टाचार हो । यसले हाम्रो जीवन, काम, जिम्मेवारी र समग्र समाजमा ठूलो प्रभाव पार्नसक्छ । अवसर गुमाउन, तनाव बढाउन र प्रगतिमा बाधा पुर्याउनसक्छ । त्यसैले समयको महत्व बुझेर यसलाई सही सदुपयोग गर्नु अत्यन्त आवश्यक छ । यसलाई अझ यसरी बुझौं- व्यर्थमा समय बिताउनु, काममा ढिलासुस्ती गर्नु, मूल्यहीन र अनुत्पादक गतिविधिमा संलग्न हुनु, अरूको समयको कदर नगर्नु र समयको योजनाबद्ध सदुपयोग र व्यवस्थापन नगर्नु आदि यसअन्तर्गत पर्छन् ।
मेलम्ची खानेपानी आयोजना २०६४ सालमा सम्पन्न गर्नेगरी यसको प्रारम्भिक लागत २०५८ सालमा रु. १७.४३ अर्ब थियो । पछि २०७० सालमा रु. २७ अर्ब पुग्यो र अन्त्यमा २०७७ सालमा रु. ३५ अर्ब लगानीमा सुन्दरीजलसम्म पानी झर्यो । ३० अर्ब बढी लगाएर बनाएको वितरण प्रणालीमा सहज वितरण हुनसकेको छैन । काठमाडौंका उपभोक्ता आजपर्यन्त असुविधामा बाँचिरहेका छन् । योजना समयमै सम्पन्न भएको भए विगत १८ वर्षदेखि दैनिक १७ करोड लिटर पानीबाट कति महसुल उठिसक्थ्यो होला ।
यतिका वर्षदेखि जनताले भोगेको असुविधा र पानीमा गरेको खर्चको नोक्सानी मूल्यमा कति पुग्छ ? त्यसैले यहाँ जति पनि लगानी बढेको छ, असुविधा र नोक्सानी भएको छ, सबैजसो समय खाएको कारण भएको हो । अझै पनि नियमित पानी आपूर्तिको लागि ११०० मिटर माथि ५ अर्ब बजेट र ४ वर्ष समय लगाएर अर्को हेडबक्स बनाउनुपर्ने भएको छ । यसरी मेलम्ची खानेपानी आयोजना समय भ्रष्टाचारको नाङ्गो शिकार भएको आयोजना हो ।
हामी विकसित र समृद्ध नेपालको आकांक्षा राख्छौं, तर समय भ्रष्टाचारले यसलाई कसरी पर धकेलिरहेको छ ? हाम्रो आमआकांक्षा विकसित, समृद्ध, वैभवशाली, सभ्य, सुसंस्कृत र प्रफुल्ल समाज भएको स्वाधीन नेपाल हो । हामी पनि आधुनिक लयमा विकास र समृद्धिको पथमा लाग्न सक्छौं, गर्न सक्छौं र सम्भव छ । हामीसँग सपना, दृढ इच्छशक्ति, प्रतिबद्धता र बलियो मानव संशाधन छ भन्ने निष्कर्षमा पुग्दै चुनौती र बाधाहरू पहिचान गरी अवसरमा बदल्ने कार्ययोजना बनाउनु आवश्यक छ ।
हामी पनि आधुनिक लयमा विकास र समृद्धिको पथमा लाग्न सक्छौं, गर्न सक्छौं र सम्भव छ । हामीसँग सपना, दृढ इच्छशक्ति, प्रतिबद्धता र बलियो मानव संशाधन छ भन्ने निष्कर्षमा पुग्दै चुनौती र बाधाहरू पहिचान गरी अवसरमा बदल्ने कार्ययोजना बनाउनु आवश्यक छ ।
हाम्रो पहिलो बाधा विकास निर्माणका काम योजनाबद्ध र समयबद्ध नहुनु हो । हाम्रो खेर गइरहेको समयशक्ति व्यवस्थापन गर्न नसक्नु हो । अर्थात् हामीले तत्काल अनेक बहानामा, बेहिसाब खेर गइरहेको समयको पलपलको सदुपयोग र अतिरिक्त उपयोग गर्न सक्नुपर्ने देखिन्छ । नेपालमा यो अमूल्य समयको राजनीति र विकास निर्माण सबै क्षेत्रमा आमनागरिकबाट नै व्यापक दुरूपयोग भइरहेको देखिन्छ । जसले विकासको अर्काे चरणको समय र धनसमेत यथास्थितिमा खपत गराएर भविष्यका लागि बाधा सिर्जना गरिरहेको छ ।
‘समय भ्रष्टाचार’ को संज्ञालाई अनुभूतिहरूबाट प्रस्ट हुने प्रयास गरौं । यसको शाब्दिक अर्थ ढिलासुस्ती, विलम्ब, समय दुरूपयोग, खेर समय, समय कटाउनु, अलमलिनु र बिर्सनुको अर्थमा पनि लिन सकिन्छ, तर यसको व्यापकता, असर, प्रभाव र प्रकारका हिसाबले सबैभन्दा घातक र नोक्सानदायक हुन्छ । यसको अनुभूतिको पक्ष पनि प्रबल हुन्छ । अतिरिक्त समय खपतबाट राज्यको आर्थिक व्ययभार बढ्छ र हानि नोक्सानी हुन्छ । सँगसँगै सार्वजनिक असुविधा, असुरक्षा र अहित पनि जोडिन्छ।
स्थान विशेषमा अनेक दुष्प्रभावहरू पनि जन्मन्छन्। एउटै विकासको प्रतिफल प्राप्ति र उपभोगमा अतिरिक्त समय र अतिरिक्त लगानी गर्नुपर्ने स्थिति बन्छ । यसरी अर्को-अर्को चरणको विकासको समय र लगानी पनि पूर्वयोजनाले खपत गर्ने र भावी योजनालाई बाधा, विलम्ब र नोक्सानी पुर्याउँछ भने त्यो नै ‘समय भ्रष्टाचार’ हो । अर्थात् समाजको पछौटेपन र अधोगतिको कारण बनेका समय दुरूपयोगबाट सृजित सबै हानि, नोक्सानी, असुविधा र बदनामी ‘समय भ्रष्टाचार’ हो । संक्षेपमा आर्थिक भ्रष्टाचारले राज्यको धन लुट्छ, तर समय भ्रष्टाचारले विकासको गति रोकेर देशको भविष्य नै लुट्छ ।
आश्चर्य यो छ कि सबै अल्पविकसित र विकासशील देशको विकास बाधक ‘समय भ्रष्टाचार’ हो, तर पनि आजसम्म यसको परिभाषा गरी र दुरूपयोग नियन्त्रण गर्न कानून बनाएर नियमन गरिएको छैन । यसको असर र प्रभाव नेपालको भ्रष्टाचार निवारण ऐनले परिभाषित गरेका भ्रष्टाचारभन्दा अधिकतम र व्यापक छ । त्यसैले यसलाई ‘विकास बाधक महाभ्रष्टाचार’ को रूपमा कानूनी व्यवस्था र परिभाषा गरी अविलम्ब अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा ल्याउनुपर्छ ।
‘समय भ्रष्टाचार’ को संज्ञालाई अनुभूतिहरूबाट प्रस्ट हुने प्रयास गरौं । यसको शाब्दिक अर्थ ढिलासुस्ती, विलम्ब, समय दुरूपयोग, खेर समय, समय कटाउनु, अलमलिनु र बिर्सनुको अर्थमा पनि लिन सकिन्छ, तर यसको व्यापकता, असर, प्रभाव र प्रकारका हिसाबले सबैभन्दा घातक र नोक्सानदायक हुन्छ ।
राज्य र राष्ट्रसेवक, सार्वजनिक र सामुदायिक जिम्मेवारी बाहक, नागरिक समुदाय साथै उद्योगी र व्यवसायीहरूलाई आआफ्ना जिम्मेवारी र दायित्वप्रति दृढ बनाउनुपर्छ । राज्य र निकायहरू अनिर्णयको बन्दी हुँदा सृजित सबैखाले हानि, नोक्सानी र ढिलासुस्तीलाई ‘समय भ्रष्टाचार’ मानी अख्तियारले अनुसन्धानको मुख्य विषय बनाई कारबाही गर्नुपर्छ । जवाफदेही बनाउनु र क्षति भराउनुपर्छ । हानि-नोक्सानी असुलउपर गर्नुपर्छ । जसरी भ्रष्टाचारको अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण जोडेर अनिवार्य हेरिन्छ, त्यसरी नै समय भ्रष्टाचार पनि जोडेर अनुसन्धान गरौँ गराऔँ । स्वयम् अख्तियारले पनि परिभाषित समयलाई शत प्रतिशत अनुपालन गरेर उदाहरण बन्नुपर्ने अवस्थाप्रति सचेत रहनु जरुरी छ ।
देशमा सेवा प्रवाहमा जिम्मेवार एकद्वार प्रणाली छैन । कुशासनको चक्रव्यूह छ । एउटा फाइल निर्णय महिनौं लाग्ने प्रणाली कायमै छ । निर्णय नगर्ने, निर्णय पन्छाउने, अन्तरकार्यालय समन्वय नगर्ने र नगरिदिने कर्मचारीतन्त्र छ । त्यसमा पनि जवाफदेहिताबाट पन्छिन तहगत सर्त र छिद्रहरू थप्दै सुरुबाटै जटिल र अनिर्णयको अवस्था सृजना गरिन्छ । यस्ता समयमा निर्णय वा अख्तियारी नभएर, नियुक्ति वा जिम्मेवारी नदिएर हुने विलम्ब पनि भनिसाध्य छैन ।
राज्य, सार्वजनिक क्षेत्र र उपभोक्तामा पुगेको हानिनोक्सानी साथ पर्ने बाधाहरू पनि गनिसाध्य छैन । त्यसैले योजना वा परियोजनाको गहिरो गरी आवश्यक अध्ययन नहुँदा डिजाइन इष्टिमेट र बोलपत्र सर्तमा हुने त्रुटिका कारण विकास निर्माणका हजारौं योजना वर्षौंदेखि असफल, लथालिङ्ग, अलपत्र र असरल्ल छन् । यी सब राज्य संयन्त्रको अकर्मण्यताका सृर्जनाहरू हुन् ।
देशमा सेवा प्रवाहमा जिम्मेवार एकद्वार प्रणाली छैन । कुशासनको चक्रव्यूह छ । एउटा फाइल निर्णय महिनौं लाग्ने प्रणाली कायमै छ । निर्णय नगर्ने, निर्णय पन्छाउने, अन्तरकार्यालय समन्वय नगर्ने र नगरिदिने कर्मचारीतन्त्र छ ।
सबै योजना र परियोजनाहरू पाइलैपिच्छे विलम्ब भएरै मात्र बन्छन् । प्रारम्भिक अध्ययनपछि डीपीआर बनाउने, टेन्डर डकुमेन्ट बनाउने, ठेक्का लगाउने, स्वीकृत र सम्झौतासम्म वर्षौं लगाएर बल्लबल्ल पुग्छ । त्यसपछि तोकिएको समय र सम्पन्न नभएसम्मका लागि फेरबदल नहुने गरी योजना कार्यालय र निर्देशक तोक्ने काम हुँदैन । नीतिगत रूपमा स्पष्ट व्यवस्था गरी पूर्ण निर्णय अधिकार दिएर परिणाम उसको भविष्यसँग पनि जोडिँदैन भने कसरी समयभित्र परिणामको अपेक्षा गर्ने ? केही उदाहरणः मेलम्ची खानेपानी आयोजना, काठमाडौं-तराई द्रुतमार्ग, हुलाकी राजमार्ग, सिक्टा सिंचाइ आयोजना, बनी नसक्दै भत्किएका/लडेका कैयौँ पुलहरू, बुटवल-नारायणघाट सडक खण्ड, ग्वार्को फ्लाइओभर समय भ्रष्टाचारका सिकार भएका प्रतिनिधि योजनाहरू हुन् ।
एकातिर अस्थिर र तरल राजनीति, अर्कातिर नीतिगत अस्थिरता पनि छ । अझ संसदले समयमै आवश्यक ऐनकानून, विधिविधान र नीतिनियम बनाएर सुशासन कायम राख्न खबरदारी गर्दैन । समयमा आवश्यक विधेयक पेस नगर्ने, सरकार पास नगर्ने, कानून निर्माण र संशोधन नगर्ने संसद समयमा न्यायाधीश नियुक्ति नभएर जनतालाई न्याय दिन नसक्ने अदालत छन्, कहाँ छैन ‘समय भ्रष्टाचार’ आजको नेपालभित्र अभ्यासमा रहेका नीतिगत र आर्थिक भ्रष्टाचारको जालो च्यातेर शून्य सहनशीलतामा हासिल गरेर समयमै काम र योजना सम्पन्न गरेर मात्र विश्वस्तरको विकसित राष्ट्रमा स्तरोन्नति गर्न सकिँदैन ।
नेपाल निर्माणको विशेष नीति बनाएर १२ महिना, २४ सैँ घण्टा र ३ सिफ्टमा काम गरेर आउने ५० वर्षमा १०० वर्ष बराबरको प्रगति हासिल गर्दा मात्र हाम्रा नाति पुस्ता विकास र समृद्धिको उपभोक्ता हुनसक्छन् । त्यसैले समयको महत्वलाई बुझेर काम गर्नु आजको अपरिहार्य आवश्यकता हो । हामी कसरी पछाडि पर्यौं भन्ने समीक्षा गरेर कसरी अगाडि बढ्नेबारे सोचौं । आज होइन अहिल्यैबाट लाग्दै समयको अधिकाधिक र द्रुत सदुपयोग गर्दै अबको सबै अवधिमा अतिरिक्त पुँजी, अतिरिक्त प्रविधि र अतिरिक्त क्षमता तथा परिश्रम लगाएर सबै परिणाम समय अगावै लिन सक्नुपर्छ । यो नै समय क्षतिपूर्ति वा भर्पाइ गर्ने एक मात्र उपाय हो ।

Leave a Reply