कैलाली । धनगढीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जेठ २९ गतेदेखि आयोजनामा हुने प्रतियोगिताको तयारी सुरु गरिएको आयोजक नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको जानकारी दिएको छ ।
आयोजकले शनिवार पत्रकार सम्मेलन गर्दै तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता धनगढी रङ्गशालाको हलमा सञ्चालन हुने जनाएको छ । महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष प्रकाश चन्दले प्रतियोगिताका विजेता टिमलाई एक लाख एक हजार १११, द्वितीय हुने टिमलाई ५१ हजार र तृतीय हुने टिमलाई ३१ हजार नगदसहित ट्रफी प्रदान गरिने जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिवरोलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने चन्दले जानकारी दिए । अध्यक्ष चन्दका अनुसार प्रतियोगितामा जिल्लागत रूपमा टिम सहभागी गराइने र खेलाडी सम्बन्धित जिल्लाको हुनुपर्ने नियम बनाइएको छ ।
प्रतियोगिताको आयोजनाले सुदूरपश्चिमलाई भलिबलको माध्यमबाट राष्ट्रव्यापी रूपमा चिनाउन र सुदूरपश्चिमलाई भलिबल खेलको हवको रूपमा विकास गर्ने अभियानमा टेवा पुगाउने सहयोग पुग्ने चन्दको विश्वास छ । प्रतियोगितामा १०८ जना खेलाडी तथा प्रशिक्षक र १२ जना मान्यता प्राप्त रेफ्रीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

Leave a Reply