रुपन्देही । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काको पत्र विपरीत लुम्बिनी क्रिकेट सङ्घमा विशेष साधारण सभा गर्दै अध्यक्षलाई बर्खास्त गरिएको छ । खड्काले शुक्रवार साँझ पत्र लेख्दै प्रदेश अध्यक्षले विवाद समाधान नभएसम्म विशेष साधारण सभा रोक्न निर्देशन दिएका थिए ।
यसअघि प्रदेश अध्यक्ष सञ्जय गुरुङको निवेदनमा राष्ट्रिय खेलकुद परिषद्ले पनि विशेष साधारण सभा रोक्न क्यानलाई पत्र पठाएको थियो । यता क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने साधारण गर्न अर्को पत्र काटेका थिए । यसले क्यान अध्यक्ष र सचिवबीच नै असमझदारीको अवस्था देखिएको छ । प्रदेशको अधिकार प्रयोग गर्दै विशेष साधारण सभा गरिएको लुम्बिनी प्रदेश क्रिकेट सङ्घका उपाध्यक्ष विनय राजभण्डारीले बताए ।

क्यान सचिवले प्रदेशलाई साधारण सभा नगर भन्न नमिल्ने उनको दाबी छ । ‘लोकतान्त्रिक पद्धतिअनुसार हामीले साधारण गर्यौँ । यो हाम्रो अधिकारको कुरा हो । केन्द्रीय सचिवले नगर भन्न पाइँदैन,’ उनले भने, ‘प्रदेशमा के भइराखेको छ । केन्द्रमा थाहा हुने कुरा होइन ।’ उक्त साधारण सभाबाट अध्यक्ष गुरुङमाथिको अविश्वासको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरियो । अध्यक्ष गुरुङले मनपरी सङ्घ चलाएको, आर्थिक अनियमितता र विधानलाई बेवास्ता गरी अघि बढेका कारण अविश्वासको प्रस्ताव ल्याइएको उपाध्यक्ष भण्डारीले बताए ।
सभामा उपस्थित ३८ जनाले नै अविश्वासको प्रस्तावका पक्षमा मत हालेको उनको भनाइ छ । साधारण सभामा अध्यक्ष गुरुङ उपस्थित भएनन् भने सदस्य सुभाष तिमिल्सिना अस्ट्रेलियामा भएकाले उपस्थित भएनन् ।सङ्घका ४१ प्रतिनिधिमध्ये कोषाध्यक्ष राजेश शाक्यको निधन भएपछि उक्त पद खाली छ । प्रस्ताव पारित भएसँगै अध्यक्ष गुरुङ पदमुक्त भएका छन् । उक्त साधारण सभाले जेठ ३१ गते पाल्पामा विशेष साधारण सभा गर्ने निर्णय गरेको उपाध्यक्ष भण्डारीले जानकारी दिए । उक्त सभाले अध्यक्ष र कोषाध्यक्ष चयन गर्ने उनले बताए । त्यतिन्जेलका लागि उपाध्यक्ष भण्डारीलाई कार्यवाहक तोकिएको छ । गुरुङले भने यो प्रक्रिया सुरुदेखि नै गलत भएको प्रतिक्रिया दिए ।
‘सुरुदेखि पक्रिया नै गलत छ । प्रदेशमा दर्ता भएर जानुपर्नेमा दर्ता भएको छैन । सिधै केन्द्रमा लैजानुभो । केन्द्रमा पनि समितिमा कुनै छलफल नगरी अध्यक्षज्यूले एकलौटी पत्र काट्नुभयो,’ उनले भने । केन्द्रीय अध्यक्षले आफूलाई हटाउन षडयन्त्र खेलेको उनको आरोप छ । ‘मलाई हटाउने षडयन्त्र नै हो । पत्राचारले पनि यसलाई स्पष्ट पार्छ । जति पनि पत्र आएको छ, त्यो सबै कार्यसमितिमा छलफल बिनै आएको छ,’ उनले भने, ‘जुन विनियमावलीलाई लिएर यो प्रक्रिया थालिएको छ, त्यही विनियमावलीको वैधानिकतामाथि नै प्रश्न चिन्ह छ । थप परामर्श गरी अगाडि बढ्छु ।’
अध्यक्ष सञ्जय गुरुङमाथि विश्वास नरहेको भन्दै ३१ जनाको हस्ताक्षर गत चैत २० गते उपाध्यक्ष विजयराज भण्डारीसमक्ष पेस गरिएको थियो । उक्त अविश्वासको प्रस्ताव उपाध्यक्षले चैत २२ गते केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दलाई पेस गरेका थिए । चन्दले चैत २७ गते गुरुङको धारणा माग गरे । गुरुङले वैशाख २ गतेभित्र धारणा दर्ता गराए । वैशाख ३ गते चन्दले गुरुङलाई निलम्बन गर्दै उपाध्यक्षलाई प्रक्रिया अगाडि बढाउन पत्र पठाए ।
प्रादेशिक क्रिकेट सङ्घले जेठ ३ गतेका लागि विशेष साधारण सभा डाकेको थियो । गुरुङको निवेदनअनुसार राष्ट्रिय खेलकुद परिषद्ले तत्कालका लागि साधारण सभा रोक्न पत्र काट्यो । सोही पत्रबमोजिम क्यानका सचिव पारस खड्काले शुक्रवार साँझ साधारण सभा रोक्न पत्राचार गरे । त्यसको २ घण्टा नबित्दै अध्यक्ष चतुरबहादुर चन्दले साधारण सभा गर्न पत्र काटे । क्यानका सचिव पारस खड्का र राखेपको पत्रविपरित सङ्घले आज विशेष साधारण सभा गरेको हो ।


Leave a Reply