काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई बिगार्न नदिन र विना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकारका चाहिने बताए ।
उनले भने, ‘देशलाई सुशासन र विकासको बाटोमा तीव्र गतिमा अगाडि बढाउने हो भने एमालेको एकल बहुमतको सरकार चाहिने रहेछ । जसबाट विनाव्यवधान आफ्नो नीतिका साथ एमाले अगाडि बढ्नसक्छ । मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौँ। अब त्यो भ्रममा रहनुहुँदैन। ससाना स्वार्थ लिएकाहरूले हामीविरुद्ध भ्रम फिँजाएका छन्। त्यस्तो भ्रममा पर्नुहुँदैन। एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरूले साथ दिनुपर्छ।’
उनले देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन बहुमतको एमाले सरकार चाहिने भएकाले मिसन ०८४ भनेको बताए ।
प्रधानमन्त्री ओलीले सत्ता गठबन्धनबाट अपेक्षित काम गर्न सम्भव नहुने सङ्केत गर्दै थपे, ‘एमाले संलग्न सरकार छ भने बिग्रिनबाट रोक्नमात्रै सक्छ । अगाडि बढ्न गाह्रै हुन्छ । एमाले नेतृत्वको सरकार छ भने बिग्रिने क्रमलाई रोकेर धिमा गतिमा अगाडि बढाउनसक्छ । एमालेको बहुमत भएको सरकारले देशलाई सुशासन र विकास दिनसक्छ ।’
युवाहरूलाई एमालेमा आउन अपिल गर्दै उनले भने, ‘म युवाहरूलाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उल्काउन चाहन्नँ । आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ । मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन् । रहर लागेर तुरुन्तै डाक्टर, इन्जिनियर हुँदैनन्। मेहनत र समय आवश्यक हुन्छ । यो वास्तविकता तपाईँहरूले बुझ्नुपर्छ ।’

Leave a Reply