वाटरल्याण्ड पार्कमा नुहाउन पुगेका विद्यार्थी तोडफोडमा उत्रेपछि प्रहरीसँग झडप, १० जना पक्राउ

जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित वाटरल्याण्ड पार्कमा विशेष छुटमा नुहाउन पुगेका विद्यार्थीहरुले तोडफोडमा उत्रेपछि झडप भएको छ ।

वाटरल्याण्डमा विद्यार्थीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले रोकेको थियो । सो क्रममा विद्यार्थी र प्रहरीबिच झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेका छन् ।

धनुषा प्रहरीका सूचना अधिकारी सञ्जीव यादवका अनुसार प्रहरीमाथि विद्यार्थीहरुले ढुंगामुढा गरेका छन् । चार जना प्रहरी पनि घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्याँस हानेको छ ।

‘वाटरल्याण्ड पार्कमा कक्षा १२ का विद्यार्थीलाई राखेर एउटा कार्यक्रम आयोजना गरिएको थियो,’ उनले भने, ‘त्यहाँ नुहाउन ९ सय शुल्क लाग्छ । तर आजका लागि कार्यक्रम आयोजकले १ सय मात्र शुल्क लिने अफर दियो । त्यहाँ एक हजार विद्यार्थीलाई बोलाइएकोमा ३/४ हजार विद्यार्थी पुग्यो । नुहाउन मारामार भएपछि विद्यार्थीहरु तोडफोडमा उत्रे ।’

प्रहरी निरीक्षक यादवले तोडफोडमा संलग्न १० जना विद्यार्थीलाई नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार तोडफोडबाट पार्कमा भएको क्षतिको विवरण आउन सकेको छैन । अनुसन्धान भइरहेको भन्दै तोडफोडमा संलग्न सबैलाई नियन्त्रणमा लिएर कारबाही गर्ने उनको भनाई छ ।

Comments

One response to “वाटरल्याण्ड पार्कमा नुहाउन पुगेका विद्यार्थी तोडफोडमा उत्रेपछि प्रहरीसँग झडप, १० जना पक्राउ”

  1. ksp pyl Avatar
    ksp pyl

    मधेशका नेताले सिकाएकै यस्तै हो । नयाँ पुस्ता अराजक हुँदै गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *