अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छः देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले अहिलको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको बताए ।

सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सबैको प्रतिनिधित्व संसदमा रहेको जिकिर गरे ।

उनले २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका कामहरु भएको उल्लेख गर्दै अहिले पनि मुलुक विकासको बाटोमा अघि बढिरहेको बताए ।

सभापति देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरुलाई सुविधाका लागि सबैको सहमतिले गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको जिकिर गरे ।

‘त्यसबेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किने’, उनले भने, ‘प्रजातन्त्रमा बोल्न पाउने अधिकार भएकाले सोही विषयमा अहिले पनि टीकाटिप्पणी हुनु ठूलो कुरा हो ।’

तत्कालीन समयमा देउवा र राप्रपाको संयुक्त सरकार बनेपछि सरकार टिकाउन देउवाले सांसदलाई गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको चर्चा अहिले पनि हुने गरेको छ । सो समयमा भन्सार छुटमा पाइएको गाडीको व्यापारसमेत सांसदहरुले गरेको आरोप लाग्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *