काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले एमाले जनताको बहुदलीय जनवादकै जगमा देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको दाबी गरेका छन् ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा आज पार्टीको पूर्वमुख्यालय स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा विकास भएको जबजकै जगमा पार्टीले २०५१ सालमा संसदको सबैभन्दा ठूलो दल बनेको बताए ।
महासचिव पोखरेलले भने, ‘एमाले त्यसयता निरन्तर राष्ट्रिय राजनीतिको एक निर्णयकारी शक्तिका रुपमा रहनुमा जबजको मुख्य योगदान छ । निरंकुश राजतन्त्र समाप्त गर्न, जातीय भड्काउ तथा हिंसात्मक नीतिहरुलाई परास्त गर्न पनि जबजले मद्दत गरेको छ ।’
पार्टीमाथिको प्रतिबन्धलगायत विभिन्न समयमा चुनौतीको सामना गर्दै पार्टी अघि बढिरहेको उनले बताए।
उनले थपे, ‘विसं २०५४ सालको पार्टी विभाजन, संविधानसभाको चुनावमा निराशाजनक परिणाम र दोस्रो पटक समेत पार्टी विभाजनबाट उठाएर पार्टीलाई अघि बढाउन जबजले मार्गदर्शन गरेको छ ।’

Leave a Reply