काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको नाम एक भए पनि परिचय अनेक छ । पर्दामा हेर्दा उनी कलाकारमात्रै हुन्, तर खगेन्द्रको परिचय यतिमा मात्र सीमित छैन । उनी सक्षम कलाकारसँगै, अब्बल लेखक अनि निर्देशक पनि हुन ।
उनले लेखेका र निर्देशन गरेका ‘पशुपतिप्रसाद’, ‘टलकजंग भर्सेस टुल्के’, ‘हजुरबाको कथा’, ‘धनपती’, ‘जय भोले’ आदि थुप्रै चलचित्र हिट छन् । सम्रगमा भन्नुपर्दा सिने क्षेत्रका लागि उनी एक कम्प्लिट प्याकेज हुन् ।
खगेन्द्र अहिले आफ्नो अर्को प्रोजेक्ट ‘विमान’ मा व्यस्त छन् । सँगै उनी हिजोबाट रिलिज भएको आफ्नो चलचित्र ‘के घर के डेरा–घर नं २’ को लागि पनि कुदिरहेका छन् । ठूलो संख्यामा स्टारकास्ट रहेको यस चलचित्रमा उनी कलाकारमात्र भएर खेलेका छन् । यस चलचित्रमा दीपेन्द्र के खनालको निर्देशन रहेको छ ।
खगेन्द्र यस चलचित्रमा अचानक जोडिएका थिए । ‘चलचित्र ‘विमान’को काममा व्यस्त रहेको बेला निर्देशक खनालले सम्पर्क गरी यस क्यारेक्टरमा आफूबाहेक अरु कोही राख्न नमिल्ने बताएपछि ‘विमान’को काम छोडेर यता आवद्ध भएको थिएँ’, खगेन्द्र सुनाउँछन, ‘अरु निर्देशकले बोलाएको भए सायद म एउटा काम छोडेर अर्को काममा हाम फाल्दिन थिएँ । दीपेन्द्रसँग छुट्टै खालको सम्बन्ध भएकाले उनलाई नाईं भन्न मलाई आँट आएन ।’
उनी दिउँसो ‘के घर के डेरा’को काम सकेर राति विमानको काम गर्थे । क्यारेक्टरका लागि काम गर्ने समय धेरै नरहेकाले उनले आफ्नो चरित्र निर्माणको सबै काम निर्देशक खनाललाई छोडिदिएका थिए ।
उनी भन्छन, ‘म विमानको कामको प्रेसरमा थिएँ । त्यसैले क्यारेक्टरमा लामो समय लिएर काम गर्न सम्भव थिएन । मैले यो कुरा दीपेन्द्रलाई भनेको थिएँ । मैले यस चलचित्रमा उहाँले जसरी काम लगाउनुभयो, त्यसैगरी नै काम गरेको छु ।’
यस चलचित्रमा धेरै पात्रको कथा भए पनि त्यसको उठान सरल र कुशल हिसाबले भएको खगेन्द्र बताउँछन् । निर्देशक खनालले चलचित्रमा सबै पात्रलाई सहज ल्यान्डिङ गराएको देखेर आफैं छक्क परेको उनको भनाइ छ ।
‘म आफैँ पनि लेखक हो, तर हरेक पटक चलचित्रमा धेरै पात्र हुँदा कसरी हरेक चरित्रलाई सहज ल्यान्डिङ गराउने भन्नेमा म अलमल पर्छु, तर यो चलचित्रमा लेखक र निर्देशकले निकै मेहनत गर्नुभएको छ । जसका कारण हरेक क्यारेक्टरको सहज ल्यान्डिङ छ’, उनले भने ।
‘के घर के डेरा–घर नं २’ घरभेटी, डेरावाल र घर अनि डेरा दुवै नभएको व्यक्तिहरुको कथा हो । यस चलचित्रले सबैको मन छुनेमा खगेन्द्र ढुक्क छन् ।
साहित्यकार बुद्धिसागरले लेखेको यस चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासनासिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सञ्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारको अभिनय छ । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जनको लगानी छ ।

Leave a Reply