चितवन । चितवनमा सडक व्यवस्थापन भए पनि यहाँ चल्ने सार्वजनिक सवारीले मनपरी भाडा असुल्ने गरेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय चितवनले भाडा निर्धारण गरेको छ ।
विशेष गरी जिल्लाका विभिन्न गन्तव्यमा चल्ने तीन पाँङ्ग्रे सार्वजनिक सवारी अटो र स्थानीय रुटमा चल्ने ट्याक्सीहरूले मनपरी भाडा असुल्ने गरेको गुनासो जिल्ला प्रशासन कार्यालय चितवनमा पटक पटक आउने गरेपछि भाडा निर्धारण भएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले २०७३ सालदेखि चितवनमा भाडा परिमार्जन नभएको अवस्थामा यहाँका स्थानीय रुटमा चल्ने अटो र ट्याक्सीको भाडा निर्धारण गरिएको जानकारी दिए ।
गत वैशाख २५ गते बसेको स्थानीय भाडा निर्धारण समितिको बैठकको निर्णय अनुसार जिल्लाको विभिन्न स्थानमा किलोमिटरको हिसाब गरेर भाडा निर्धारण गरिएको छ । जसअनुसार अटोको लागि ३ किलोमिटर दुरीदेखि ७ किलोमिटर दुरीसम्मको भाडा निर्धारण गरिएको छ ।
स्थानीय रुटको शुरु बिन्दु केन्द्रीय बसपार्क, चौबीसकोठी, मालपोत चोक, वीरेन्द्र क्याम्पस गेट, पुल्चोक, आँपटारी र शहिदचोकलाई बनाइएको छ । ति स्थानबाट तीन किलोमिटर दुरीमा ३० रुपियाँदेखि सबैभन्दा धेरै ७ किलोमिटर दुरीसम्म ७० रुपियाँका दरले भाडा निर्धारण गरिएको छ ।
त्यसैगरी स्थानीय रुटमा चल्ने ट्याक्सीहरूका लागि पनि भाडा निर्धारण गरिएको छ । जसमा एयरपोर्टलाई शुरु विन्दु मानेर कम्तीमा ३ किलोमिटर दुरीका लागि २ सय रुपियाँदेखि ४५ किलोमिटरसम्म १ हजार ८ सय रुपियाँ निर्धारण गरिएको छ ।
जिल्ला जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रवार सार्वजनिक गरेको भाडदारसँगै सबै सार्वजनिक यातायातले यात्रुले देखिनेगरी भाडादर टाँस्ने, शिष्ट भाषा बोल्ने लगायतका व्यवहार गर्न पनि अनुरोध गरिएको छ ।




Leave a Reply