रुपन्देही । लुम्बिनी प्रदेश सभाको बैठकमा पेश भएको प्रदेश सामयिक कर, राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।
प्रदेश सभाको छैटौँ अधिवेशनको शुक्रवार बसेको तेस्रो बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर, राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
छलफलमा भाग लिँदै लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, राजुप्रसाद श्रेष्ठले प्रदेश सरकारले आफ्नो अर्थतन्त्रको आधारको खोजी गर्नुपर्ने, सम्भावनाहरूको प्राथमिकरण गर्दै राजश्व सङ्कलनको दरभन्दा दायरालाई फराकिलो बनाउनुपर्ने, कर सङ्कलनमा देखिएका जटिलताहरूलाई सरल बनाउनु पर्ने, असल करदाताहरूको खोजी गरी पुरस्कृत गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
यसअघि प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले चालु आर्थिक वर्षको पुँजीगत खर्चको अवस्थालाई जोड दिनुपर्ने, आउँदो नीति तथा कार्यक्रममा युवाहरूको विदेश पलाएन रोक्न विद्यालय स्तरमा पढ्दै कमाउँदै नीति समावेश गर्नुपर्ने, बर्दिया जिल्लामा हुने वन्यजन्तु र मानवबीचको द्वन्द्व समाधानका लागि उपयुक्त विकल्पको खोजी गरिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेश सभाको आगामी चौथो बैठक जेठ ४ गते आइतबार दिउँसो १ बजे बस्ने छ ।

Leave a Reply