सार्वजनिक सुनुवाइकाे नाममा तानसेन नगरपालिकाकाे फर्जी काम !

पाल्पा । जिल्लास्थित तानसेन नगरपालिकाले फर्जी सार्वजनिक सुनुवाइ गरेको तथ्य फेला परेको छ । जवाफदेहिता, सुशासन र पारदर्शिताको गफ हाँक्ने गरेको नगरपालिकाले फरक शीर्षकको कार्यक्रममा सार्वजनिक सुनुवाइको व्यानर टाँसी हाजिरी उठाएर फर्जी काम गरेको हो ।

गैरसरकारी संस्था युनोप्सले होटल पौवा तानसेनमा बिहीबार र शुक्रबार दुई दिन आयोजना गरेको तालिममा नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको फर्जी कागजात तयार गरेको हो ।

नगरपालिकाले तालिम चलिरहेको हलमा सार्वजनिक सुनुवाइको ब्यानर टाँस्यो, पालना गर्नुपर्ने आचारसंहिताको व्यानरसमेत राखेर चालू आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न भएको हाजिरी उठाए पनि सार्वजनिक सुनुवाइको प्रक्रिया नै अगाडि नबढाई सम्पन्न गरेको छ ।

तेस्रो पक्षले जनस्तरमा पुगेर नागरिक सन्तुष्टि फारम र नागरिक सर्वेक्षण प्रतिवेदन तयार गरी नगरपालिकाको कार्य सम्पादनका विषयमा सबै क्षेत्र, वर्ग र तहका नागरिकको उपस्थितिमा सार्वजनिक सुनुवाइ गर्नुपर्नेमा व्यानर र हाजिरीमा सीमित गरेर किर्ते काम गरेको छ ।

विकासमा खासै चासो नदिने नगरपालिका आमनागरिकको प्रश्नदेखि डराउने गरेको छ । नगरपालिकाले वार्षिक रुपमा तीन पटक अनिवार्य गर्नुपर्ने सार्वजनिक सुनुवाइ पनि गर्दैन, गर्न परेको खण्डमा पनि बिरालो बाँधेर श्राद्ध गर्ने शैलीमा गर्ने गरेको छ । जसले गर्दा नगरवासीले जवाफदेहीताको महसुस गर्न सकेका छैनन् ।

यस विषयमा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेसँग बुझ्दा लिजाको अंकका लागि कार्यक्रमको औपचारिकता मात्र पूरा गरिएको बताए ।

उनले कार्यालयमा सार्वजनिक सुनुवाइका बारेमा छलफल नै नगरिएको बताउँदै आगामी दिनमा सुधार गरिने सुनाए ।

तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले सानो कार्यक्रम गर्ने भनेर तयारी गरिए पनि पछि नगरिएको र अब असार मसान्तमा एकै चोटी सार्वजनिक सुनुवाइ गरिने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *