निजामती विधेयकको प्रतिवेदनमा माग सम्बोधन गर्न कांग्रेस निकट कर्मचारी युनियनले दियो अन्तिम चेतावनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियनले आफ्ना माग संसदीय समितिको प्रतिवेदनमा समेट्न अन्तिम चेतावनी दिएको छ । युनियनले आफूहरुका माग सम्बोधन नभएमा काम रोक्नेसम्मका सशक्त आन्दोलन गर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना हुने शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै चेतावनी दिएको हो ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमा आफ्ना विषय समावेश नभएमा कर्मचारीको मनोवल कमजोर हुनुका साथै कार्यसम्पादन क्षमतामा ह्रास आउने भएकाले आफूहरुले उठाएका मागलाई अनिवार्य रुपमा सम्बोधन गर्न माग गरेको छ ।

युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवाल र महासचिव जनकबहादुर रावलले संयुक्त विज्ञप्ति जारी गर्दै यदि माग पूरा नभएको अवस्थामा तीनै तहमा कार्यरत युनियनकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई आन्दोलनको लागि तयार रहन आग्रह गरेका छन् ।

समितिबाट संघीय निजामती सेवासम्बन्धी विधेयक पारित हुनु सकारात्मक भए पनि संघीय निजामती सेवा ऐनमा समेट्नुपर्ने विषयका सन्दर्भमा युनियनले सरकार र सरोकारवाला निकायलाई पटक-पटक ध्यानाकर्षण गराउँदै आएको जनाएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा भएका छलफलमा आफूहरुले उठाउँदै आएका माग र मुद्दाको सम्बोधन हुने आश्वासन प्राप्त भए पनि वृत्ति विकासलगायतका महत्वपूर्ण विषय प्राथमिकतामा नपरेको र समितिले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

Comments

One response to “निजामती विधेयकको प्रतिवेदनमा माग सम्बोधन गर्न कांग्रेस निकट कर्मचारी युनियनले दियो अन्तिम चेतावनी”

  1. ksp pyl Avatar
    ksp pyl

    यी घुस्याहरू हुन् । कब्जा गर्न चाहान्छन् । बाउको बिर्ता सम्झेका छन् । कामचोर हुन युनियनका नेता ।सरूवा बढुवामा पैसा खान्छन यिनले । यी दलालहरूको धन्दा बन्द गरिदिनुपर्छ । सेवा बन्द गरे भने सरकारले जनतालाई भनोस् यिनलाई जागिर खानै नसक्ने अवस्था सृजना हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *