५० औं दिनमा रवीन्द्र मिश्र हिरासतमुक्त: छुटेपछि भने- मुद्दा बाँकी नै छ, धेरै खुशी हुन्न (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ठीक ५० दिनमा हिरासतमुक्त भएका छन् । उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ गरिएको थियो ।

प्रहरीले मिश्रमाथि संगठित अपराध, राज्यद्रोह र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान गर्न आठ पटक म्याद थप गरिसकेको थियो । हिरासतबास अझै लम्ब्याउने सरकार र प्रहरीको योजना रहेको महसुस गरेर मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । आज न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजसाले उनलाई कानून व्यवसायीको रोहबरमा हाजिरी जमानीमा छोड्न आदेश दिएको हो ।

थुनुवा पोशाकमा सर्वोच्च अदालत लगिएका मिश्र निस्किँदाखेरि निलो टी-सर्टमा थिए । अनुहारमा सेता दाह्री झ्याप्प पलाएको थियो । उनले पत्रकारसँग थोरै आफ्नो भनाइ राखे । आफू हाजिरी जमानीमा छुटे पनि मुद्दा अझै जारी रहेकाले धेरै खुशी नहुने मिश्रको प्रतिक्रिया छ ।

उनले पत्रकारसँग दिएको अभिव्यक्ति यस्तो छ

म अहिले तपाईंहरुकै लागि आइदिएको हुँ बाहिर । यसमा मेरो दुईतीन वटा कुरा भन्नु छ । चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छु । त्यो आरोप लगाए जस्तो म जस्तो मान्छेले योजना गरेको कुरा होइन । मैले सधैं भन्ने गरेको थिएँ, ठूलो आन्दोलन भएपछि त्यो आयोजकको वा सरकारको नियन्त्रणमा भीड हुँदैन ।

दोस्रो कुरा, अहिले म खालl हाजिरी जमानीमा छुटेको हो । धेरै खुशी हुने, यो गर्ने, त्यो गर्ने पक्षमा छैन । अझै (संघर्ष) बाँकी छ । राज्य मविरुद्ध लागेको भन्ने स्पष्ट छ । कानून व्यवसायीहरुले राजनीतिक हुकुमप्रमांगी हो भन्नुभयो । अझै मुद्दा बाँकी छ । म न्यायका लागि लागी नै रहन्छु ।
मलाई साथ दिने र ममाथि विश्वास गर्ने विभिन्न पार्टीका, मिडियाका, चिनेका नचिनेका देश विदेशमा रहेका साथीहरुप्रति हार्दिक आभार प्रकट गर्छु । मैले राजसंस्था पुनःस्थापनाका लागि काम गरेकै हो, तर संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको काम मबाट केही पनि भएको छैन ।

भन्नैपर्ने अर्को कुरा, बन्दी प्रत्यक्षीकरणलाई यदि मैले सहज रुपमा लिएको भए हिरासतमा आउनासाथ जान सक्थेँ । मैले सघाउँछु भनेर निरन्तर सघाएको हो, तर जब बुझेँ, राज्यले नागरिकको अधिकार खोसिरहेको भन्ने महसुस भयो । त्यसपछि ४८औं दिनमा निवेदन दर्ता भएको हो । मेरो लागि सबै अधिवक्ताहरु भोलेन्टरी (नि:शुल्क) बहस गरिदिनुभएको छ । सबैप्रति आभारी छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *