काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारमा बस्नेहरूले नै देश लुटेको आरोप लगाएका छन् ।
जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जागरण अभियानको आज बैतडीको पाटनबाट उद्घाटन समारोहलाई सम्बोधन गर्दै भ्रष्टाचारको अन्त्य नगरेसम्म देशमा विकास र समृद्धिले फड्को मार्न नसक्ने बताए ।
उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गरेको बताए ।
उनले भने, ‘हामीले ठूल्ठूला दलाल पुँजीवादका विरुद्ध कारवाही गर्यौँ । ००७ सालयता कुनै सरकारले गर्न नसकेका सुशासनका र भ्रष्टाचारविरोधी अभियानहरू चाल्यौँ । त्यसै कारणले जनतामा आशा पैदा हुन थाल्यो । अर्कोतिर भ्रष्टाचारी र तीनका रक्षकहरूलाई हाम्रो सरकार सह्यै नभएर ढालियो र अहिलेको सरकार गठन गरियो ।’
उनले ओली नेतृत्वको सरकारलाई भ्रष्ट, अलोकतान्त्रिक र निरङ्कुश सरकार भएको आरोप लगाए । उनले अंकगणितको बलमा आफूहरूलाई सरकारबाट हटाएपनि सुशासनको अभियान नछाड्ने बताए ।
माओवादीको नेतृत्वमा संवैधानिकरूपमा बहुमतको सरकार बनाउन सके देशको कायापलट गर्नसक्ने श्रेष्ठले जिकिर गरे । हिजोको गल्ती कमजोरीलाई सच्याएर अहिले जनताको साथमा आएको भन्दै ०८४ मा एकल बहुमत दिन आग्रह गरे । आवश्यक परे ठूलो संघर्षको नेतृत्व गर्न पनि माओवादी तयार रहेको बताए ।

Leave a Reply