काठमाडौं । पछिल्लो समय सहकारी क्षेत्रमा आउने गुनासोको शैली फेरिएको छ । अहिले सहकारी संस्थाहरूले बचत ‘खाइदियो’ भन्दै गुनासो गर्नेहरूभन्दा ऋण उठाउनका लागि ‘गुहार’ माग्नेहरू बढ्दै गएका छन् ।
काठमाडौं महानगरपालिकाको सहकारी विभाग प्रमुखको जिम्मेवारीमा रहेका नमराज ढकालको एकताका सहकारी संस्थाहरूले बचतको पैसा खाइदियो भन्दै आउनेहरूको गुनासो सुन्दैमा दिन बित्यो । तर, आजकल यस्ता गुनासो बोकेर आउनेहरू विस्तारै घट्दै गएका छन् । अहिले ढकाल भएको ठाउँमा ऋण उठाउने उपाय खोज्दै आउनेहरू बढेका छन् ।
‘कुनै समय अफिस आएदेखि बेलुकासम्म सहकारीले मेरो बचत खाइदियो भन्नेहरू मात्रै आउनु हुन्थ्यो । त्यही कुरा सुनेर घर फर्किन्थे । तर आज त्यस्ता गुनासो कम भएका छन्’, ढकालले भने, ‘अहिले ऋण उठाउने उपाय खोज्नेहरू धेरै आउनु हुन्छ ।’
उनका अनुसार काठमाडौं महानगरको सहकारी विभागमा दैनिक दर्जन हाराहारीमा व्यक्ति तथा समूह आउने गर्छन् । त्यसमध्ये अधिकांश सहकारीको ऋण लगानी फसेको र उठाउने उपाय के हुन्छ भन्दै राय माग्नेहरू छन् ।
यसरी ऋण उठाउनका लागि गुहार माग्नेहरूको तथ्याङ्क विभागले राख्ने गरेको छैन । उनीहरूले निवेदन नदिने तर राय लिएर जाने भएकोले यस्तो तथ्याङ्क नभएको ढकालले जानकारी दिए ।
कतिपय सहकारी संस्थाहरूले गरेको लगानी नउठ्दा बचत फिर्तामा समेत समस्या भएको पाइएको छ । ‘घरजग्गामा गरेको लगानी नउठ्ने, कमसल धितोमा दिएको ऋण उठाउन समस्या हुने, बिना धितो दिएको ऋण पनि नउठ्ने गरेको पाइएको छ । यसरी दिएको ऋण र गरिएको लगानी समस्यामा पर्दा कतिपयले बचत फिर्ता गर्न सकेका छैनन्’, उनले भने ।
ऋण उठ्ने सम्भावना देखिएका सहकारीका सञ्चालकहरू र बचतकर्ताहरूलाई विभागले छलफलमा बोलाएर बचत फिर्ताको समय तोकिदिने गरेको छ । तोकिएको समयमा फिर्ता गर्न नसके कारबाही प्रक्रिया अगाडी बढाउने गरेको छ ।
‘हामीले बचतकर्ताको कुरा पनि सुन्छौँ । उहाँहरूको बचत फिर्ता गरिदिन पहिलो प्राथमिकता दिने गरेका छौँ । उता सञ्चालकहरूको समस्या पनि सुन्छौँ र सहजिकरणका लागि उपाय दिने गरेका छौँ’, ढकालले भने ।

काठमाडौं महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरुको अनुगमनलाई पनि तीव्र पारेको छ । केही सातादेखि विभागले महानगर मातहतका ४० सहकारीमा अनुगमन गरिरहेको छ ।
प्रमुख ढकालका अनुसार विभागले ४० वटा सहकारीमा अनुगमन गर्ने योजना बनाएर स्थलगत अनुगमन गरिरहेको छ । हालसम्म २० वटा सहकारीको अनुगमन सकिएको छ । बाँकी २० वटा सहकारीको यही जेठभित्रमा अनुगमन गर्ने तयारी रहेको उनले जानकारी दिए ।
गत वर्ष पनि विभागले ४० वटा सहकारीको अनुगमन गरेको थियो । त्यसमध्ये ९ सहकारीका सञ्चालकलाई कारबाही गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाएको थियो ।
सहकारी विभागका प्रमुख ढकालको संयोजकत्वमा अनुगमनका लागि टोली गठन भएको छ । उक्त टोलीमा ढकालसहित वडा अध्यक्ष, काठमाडौं जिल्ला सहकारी संघका प्रतिनिधि, चार्टर्ड अकाउन्टेन रहेका छन् ।
महानगरको कार्यक्षेत्रभित्र रहेका सहकारीहरूलाई वर्गीकरण गरेर अनुगमन गर्ने गरिएको छ । विभागमा गुनासो आएका सहकारी, असल अभ्यास गरिरहेका सहकारी र धेरै लगानी भएका सहकारीहरूलाई अनुगमनको प्राथमिकतामा राखिएको छ । उनीहरूले वित्तीय विश्लेषक, परामर्शदाता र विज्ञको सहयोगमा अनुगमन गर्ने र प्रतिवेदन तयार पार्ने गरेका छन् ।
‘अनुगमनका क्रममा भेटिएका राम्रा सहकारीलाई पुरस्कृत गर्छौ । बदमासी गरेकालाई कारबाही गर्छौ र सुध्रिन सक्ने गल्ती गरेका छन् भने सुधारका लागि निर्देशन दिने गरेका छौँ’, ढकालले भने ।
दुई समस्याग्रस्त, ११८ सहकारीलाई कारबाही
दुई वटा सहकारी संस्था समस्याग्रस्त रहेको पाइएको छ । जसमा हिरो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र युनाइटेड सिटिजन्स बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् ।
काठमाडौं महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९१५ वटा सहकारी संस्था छन् । जसमध्ये ११८ वटा सहकारी संस्था अनुसन्धान र कारबाहीका लागि प्रहरीमा सिफारिस गरिएको छ ।
कारबाहीका लागि सिफारिस गरिएका सहकारीहरूमा बचत तथा ऋण अन्तर्गतका ९८ र बहुउद्देश्यीय अन्तर्गतका २० वटा रहेका छन् ।
यी सहकारीहरूका ६ हजार २६६ जना बचतकर्ताले ४ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ बचत फिर्ताको दाबी माग गर्दै विभागमा निवेदन दिएका छन् ।
उक्त रकम सबैभन्दा बढी बचत तथा ऋण तर्फको रहेको छ । बचतकर्ताहरूले फिर्ताको दाबी पेश गरेको तथ्याङ्क हेर्दा बचत तथा ऋणतर्फको ४ अर्ब २५ करोड २४ लाख रुपैयाँ रहेको छ भने बहुउद्देश्यीय तर्फ २४ करोड २१ लाख रुपैयाँ रहेको छ ।
काठमाडौं महानगरपालिका कार्यक्षेत्र भएका सहकारीमध्ये साधारण सभाको विवरण अद्यावधिक गराउनेको सङ्ख्या न्यून रहेको छ । यसरी अद्यावधिक गराउनेको सङ्ख्या ८३९ मात्रै रहेको छ ।

Leave a Reply