देउवा फकाउँदै माओवादी- प्रचण्डले डडेलधुराबाट फोन गरे, जनार्दनले घरमै गएर भेटे

काठमाडौं । कांग्रेस-एमाले गठबन्धन टुटाउने ‘कसरत’ स्वरूप माओवादी केन्द्र कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन केन्द्रित छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति कांग्रेसका केही नेता असन्तुष्ट सुनिरहँदा माओवादी देउवालाई फकाउन लागेको हो । देउवा भने तत्काल गठबन्धन फेर्ने मूडमा देखिँदैनन् ।

माओवादीका अध्यक्ष प्रचण्डले यसअघि नै देउवा प्रधानमन्त्री बने सरकार बाहिरै बसेर भएपनि समर्थन गर्न तयार रहेको सन्देश बूढानीलकण्ठ पुर्‍याएका छन् । पार्टीभित्र र भूराजनीतिक रूपमा चर्को दबाब भएपनि देउवा अझै पर्ख र हेरको रणनीतिमा छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको थालनीको क्रममा देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले आज बिहान देउवालाई फोन गरेका थिए ।

देउवासँग फोनवार्ताबारे प्रचण्डले पत्रकारहरूसँग भनेका थिए, ‘म यहाँ बस्दै गर्दा देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत छ भन्नुभयो ।’

उनले फोन वार्तामा थप के कुराकानी भयो भने खुलाएनन् । प्रचण्डको फोनलगत्तै माओवादीका उपमहासचिव जनार्दन शर्मा देउवाको निवासमै पुगेका छन् । देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उनको भनाइ छ ।

यसअघि पनि देउवा थाइल्याण्डबाट फर्केलगत्तै सरकार फेरिने चर्चा चलेपनि केही साम्य भएको छ । कांग्रेस-एमालेकै नेताहरूले तत्काल गठबन्धन नभत्किने र सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताउँदै बएका छन् ।

विगतमा पाँच दलीय गठबन्धन हुँदा पनि कांग्रेस नेताहरूसँग शर्माको राम्रो सम्बन्ध थियो । पाँच दलीय गठबन्धन भत्काएर एमालेसँग सहकार्य अघि बढाउन अर्का उपमहासचिव वर्षमान पुनले भूमिका खेलेका थिए । तर, अहिले कांग्रेसभित्र असन्तुष्टि चर्कोरहेको बेलामा शर्मा फेरि बूढानीलकण्ठ पुग्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

Comments

One response to “देउवा फकाउँदै माओवादी- प्रचण्डले डडेलधुराबाट फोन गरे, जनार्दनले घरमै गएर भेटे”

  1. ksp pyl Avatar
    ksp pyl

    आजभोलि प्रचण्ड पद नपाएर फिटफिटी परेको देख्दा १७००० मारेको के कारण के होला भनेर घोत्लिएँ । त्यो त नेपाललाई नियन्त्रित अस्थिरतामा राख्ने, नेपालका राष्ट्रवादीलाई तह लगाउने र नेपाललाई गुलाम बनाउने भारतको दीर्घकालीन लक्ष्य पूरागरिदिन गरिएको नरसंहार मात्र थियो भन्ने निष्कर्शमा पुँगे । देउवाले सरकार बनाउन छलफल गरौं भन्यो भने प्रचण्ड अभियान सभियान छोडेर तुरून्त काठमाडौंमा हाजिर हुन्छ ।अहिले चाहिँ जनतालाई माफी माग्यौं भनेर नौटंकी कुरा गर्दै हिडेको छ । सर्कसमा लाने हो भने चटकेमा एक नम्बरमा आउँछ ल प्रचण्ड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *